केशब खड्का
अध्यक्ष, नेपाल वन प्राबिधिक संघ लुम्बिनी
अर्घाखाँची जिल्ला नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने, पहाडी भूगोलले भरिएको हरितमय जिल्ला हो। यस जिल्लाको वन क्षेत्रमा सल्ला प्रजातीका रुखहरूको उल्लेख्य बिस्तार भएको देखिन्छ। भौगोलिक दृष्टिले समुन्द्री सतहदेखि करिब ३०० मिटरदेखि २५१५ मिटर उचाइसम्म फैलिएको अर्घाखाँचीमा जलवायु अनुकूलताका कारण सल्लाको प्रजातीले सहज बासस्थान पाएको छ। विशेष गरी जिल्लाको सन्धिखर्क,पाणिनि,भुमिकास्थान,मालारानी लगायत जिल्लाको धेरै भागमा सल्लाका बाक्ला वनहरू देखिन्छन्, जुन स्थानीय वातावरण र वन जैविक विविधताका लागि महत्वपूर्ण छन्। तर, विडम्बना यो छ कि यस सल्ला प्रजातीप्रति अहिले आम मानिस, विशेषगरी ‘बुझ्ने बर्ग’ भित्र समेत एकप्रकारको वितृष्णा, आरोप र रिसको मनोबृति विकसित हुँदै गएको छ।
सल्ला प्रजातिको बिस्तार र इतिहास
सल्ला नेपालमा स्वदेशी प्रजाती हो। अर्घाखाँची जिल्लामा सल्ला वन प्राचीन कालदेखि नै अस्तित्वमा थिए। दशकौं अघि सम्मको परम्परागत उपयोग — गोठालो, इन्धन, पशु चौपायाको चारा (सल्लाको पात सुकाएर), तथा निर्माण सामग्रीको रूपमा — सल्लालाई उपयोगी वनस्पति मानिन्थ्यो। सामुदायिक वन कार्यक्रम विस्तारसँगै सल्लाको बृक्षारोपण र संरक्षणलाई प्राथमिकता दिइएको थियो। वन ऐन, २०४९ वन नियमावली, को कार्यान्वयनसँगै सल्ला प्रजातिको वृक्षारोपण तथा प्राकृतिक पुनर्जनन व्यापक रूपमा गरिएको थियो।
सल्ला सुख्खा र माटोको कमजोर गुणस्तरमा पनि हुर्कन सक्ने र आगलागि समेत सहने क्षमताका कारणले यसको बिस्तार धेरै भएको छ। समुदायले सुलभ रूपमा व्यवस्थापन गर्न सक्ने र त्यस बखत मूल्य पनि पाइने देखेर यसको खेती प्रोत्साहित गरियो। यसरी, तत्कालिन समयमा स्थानीय आवश्यकतासँग मेल खाने प्रजातिका रूपमा सल्ला फैलियो र सघन बनमा रूपान्तरित हुँदै गयो।
“सल्ला हटाऊ” प्रवृत्तिको जन्म
अहिले अर्घाखाँची लगायत अन्य पहाडी जिल्लाहरूमा ‘सल्ला हटाऊ’ भन्ने खालको जनमत विस्तार हुँदैछ। सामुदायिक वनका गोष्ठी, पालिकास्तरीय योजना बैठक, तथा सार्वजनिक बहसमा ‘सल्ला हटाऊँ’, ‘सल्लाले केही दिँदैन’, ‘सल्लाले बादर ल्यायो’, ‘आगलागी सल्लाले बढायो’ भन्ने जस्ता अभिव्यक्तिहरू सामान्य भइरहेका छन्। यो मनोबृति न केवल आम जनता, तर शिक्षित वर्ग, राजनीतिक नेतृत्व, स्थानीय प्रशासन र यहाँसम्म कि वन सम्बन्धित उपभोक्ता र केहि प्राविधिक कर्मचारीहरूमा पनि देखिन थालेको छ।
यो मनोबृति किन अचम्मको छ भने, एकातर्फ हामी वातावरणीय संरक्षण, वन विस्तार र कार्बन न्यूनीकरणको कुरा गर्छौं, अर्कातर्फ चाहिँ जैविक दृष्टिले उस्तै महत्त्व राख्ने सल्लालाई हटाउनुपर्ने आवाज उठाउँछौं। यही विरोधाभासले “रुखसँग रिस” भन्ने अचम्मको मनोबृति जन्माएको हो।
सल्लाप्रतिको वितृष्णाको कारणहरू
सल्ला प्रजातिले रुखो र उजाड स्थानमा घना वन बनाउँछ, तर यसको मुनि अन्य जातको वृक्ष विकास हुन गाह्रो हुन्छ। यो वनभित्र जैबिक बिबिधतामा ह्रास आउँछ। सल्लाको पात झरेर थुप्रिन्छ, आगलागीको जोखिम बढ्छ। यसैकारण धेरैले सल्लालाई ‘आगो फैलाउने रुख’ को रूपमा आरोपित गरेका छन्। साथै, बादरजस्ता बन्यजन्तु सल्ला वनमा बसोबास गरेर कृषि क्षेत्रमा क्षति गरिरहेको देखिएको छ।
त्यही भएर, धेरै स्थानीय र नेतृत्व तहका व्यक्तिहरूले ‘सल्लाले वन क्षेत्र मात्र बढायो, सेवा केही दिएन’ भन्ने दृष्टिकोण पालेका छन्। तर यो दृष्टिकोण आंशिक मात्र सत्य हो। सल्लाले केही नदिएको हो भने, कार्बन शोषण, माटो संरक्षण, जल स्रोतको पुनर्भरण, र वातावरणीय सन्तुलनजस्ता सेवा हरु कहाँबाट आएका हुन ?
बुझ्ने वर्गकै रिस
अचम्म त तब लाग्छ जब वनसम्बन्धी तालिम लिएका, जागिरे वर्ग, विद्यालयका शिक्षक, वा स्वयं सामुदायिक वनका अगुवाहरूले समेत सल्लालाई ‘निकम्मा रुख’को दर्जा दिन थाल्छन्। उनीहरू सल्लालाई विकासका बाधक रूपमा चित्रित गर्छन्, तर यसको विकल्प र व्यवस्थापनबारे सोच्दैनन्। अझ, सार्वजनिक फोरमहरूमा वन कार्यालयप्रति आक्रोश पोख्ने, वन ऐनलाई दोष दिने, कर्मचारीलाई ‘काम नगर्ने’, ‘सल्ला मात्र लगाउने’ भनेर आलोचना गर्ने प्रवृत्ति व्यापक छ।
वन ऐनले प्रतिबन्धित गरिएका क्रियाकलापहरू पालना नगरेकोमा स्वयं जनताले दोष दिनु, र अर्कोतर्फ वन कर्मचारीलाई ‘कठोर’ भन्दै आलोचना गर्नु आफैंमा विडम्बना हो। यो दोहोरो चरित्र र दोषारोपणको चक्र अचम्मको मनोबृति हो ।
सल्ला वन व्यवस्थापन: उपाय के त ?
सल्ला वनलाई हटाउने होइन, वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्छ। त्यसका केही मुख्य उपायहरु निम्न छन:
- थिनिङ(Thinning):
सल्ला वनमा अत्यधिक घनत्व हुँदा जैव विविधता घट्छ। थिनिङ (छनोट गरी रुख कटानी) कार्यले प्रकाश, स्थान र पोषण उपलब्ध गराउँछ। यसले वनको गुणस्तर सुधार गर्छ।त्यसैगरि थिनिङ कार्यले सल्लाको वनक्षेत्र पातालो बनाइ अन्य प्रजातीमा आउनमा सहयोग गर्छ । - कन्भर्सन (Conversion):
जहाँ सल्लाले मात्र वन ढाकेको छ, त्यहाँ बिस्तार वनलाइ चौडापातिय प्रजातिमा बिकास गर्न सकिन्छ। यस तर्फ स्थानिय तह र वन कार्यालयको सयुक्त भुमिका हुन सक्छ । - सिल्भिकल्चर सिष्टम (Silvicultural System):
दीर्घकालीन वन व्यवस्थापनको लागि सही प्राविधिक विधि अपनाउनु पर्छ — चयन प्रणाली (Selection system), क्लियरकट प्रणाली (Clear-cutting), तथा shelterwood प्रणालीजस्ता प्रणाली प्रयोग गर्न सकिन्छ। - आगलागी नियन्त्रण:
सल्ला वनमा आगोको जोखिम न्यून पार्न वर्षेनी पात हटाउने, फायरलाइन बनाउने, सामुदायिक वन प्रयोगकर्ताहरूलाई चेतनामूलक कार्यक्रम गरिनु पर्छ। - सल्लाबाट उत्पादन वृद्धिः
रेजिन, झिँगटी, गम, तेल लगायतका उत्पादनमा आधारित उद्योगको विकास गरिनु पर्छ। यसबाट सल्ला आर्थिक रूपमा उपयोगी देखिनेछ। - समाजमा चेतना विकास:
सल्लाको भूमिका र वैज्ञानिक व्यवस्थापनबारे आमजनमा सुसूचित संवाद आवश्यक छ।
निष्कर्ष:
सल्ला रुखसँग रिस देखाउनु, त्यसलाई दोष दिनु, र समाधान बिना हटाउन खोज्नु एउटा अचम्मको, अवैज्ञानिक, र अस्थायी सोच हो। सल्लाले आफैं केही बिगारेको होइन, हाम्रो व्यवस्थापनमा समुह र सरकार असक्षम भएको हो। सल्लाले वन क्षेत्र बढायो, कार्बन बाँध्यो, हावा शुद्ध पार्यो, छायाँ दियो,पहिरो र भूक्षय रोक्यो,यी कुरा चुपचाप छन।व्यवस्थापन प्रणाली, जनचेतना अभाव, लगानी अभाव र सस्तो राजनीतिक नाराका कारणले सल्लाको रुख आरोपित छ।निजि जग्गा भित्रको सल्ला मध्यपहाडमा आयआर्जनको प्रमुख श्रोत बनेको छ।
अर्घाखाँचीबाट मात्रै निजि जग्गाबाट करिब २ लाख क्यूफिट सल्लाको काठ भेनियर उद्योगमा निर्यात भएको छ।त्यसकारण सरकारी क्षेत्रको सल्लो रुखसँगको यो प्रकृतिको आवेग सहि छैन।बरु सल्लाको सरकारी वन व्यवस्थापनमा सल्लाह गरौं,श्रोत जुटाउन लागौं।
त्यसैले, सल्ला वन व्यवस्थापनमा वैज्ञानिक दृष्टिकोण अपनाई, “रुखसँग रिस” होइन, “रुखसँग सोच” आवश्यक छ। रुखसँग रिस गर्ने होइन, समाधान खोज्ने समय आएको छ। यदि हामी सचेत भयौं भने सल्लाले पनि समृद्ध बनाउँन सक्छ । यदि हामी फेरि पनि रिसकै भरमा निर्णय लियौं भने, प्रकृतिले हामीसँग रिसाउनेछ — अनि त्यो रिस सहि नसक्नु हुनेछ।














