बालिका वलीले दाङको लमही वडा नं.३,वनगाउँमा टाइगर हिल्सन गार्मेन्ट सुरु गरेको पनि एक दशक पुग्न आँट्यो ।
१० लाख रुपैयाँ पुँजीबाट सुरु गरेको उक्त गार्मेन्टको यतिबेला ढाई करोड लगानी पुगिसकेको छ । बजारमा ३० देखि ४० लाख बक्यौता उठ्न बाँकी नै छ ।
उनले आफ्नो गार्मेन्टमा ४० जना महिला तथा पुरुषलाई प्रत्यक्ष रोजगार दिएकी छिन् । आफू समेत स्वरोजगारी भएकी छिन् ।
४ वटा सिलाई मेसीनबाट सुरु भएको उक्त गार्मेन्टमा यतिबेला २८ वटा सिलाई मेसीन छन् । कटिङ मास्टरका रुपमा भारतीय कारिगर भएपनि सिलाईमा स्थानीय महिलाहरु संलग्न रहेका छन् । उनको गार्मेन्टमा कटिङ कारिगरले सुरुआती समयमा ८/९ हजार तलव सुविधा लिएपनि यतिबेला भारत रुपेडियाका मोहमद रिजवानले महिनामा ४०/५० हजार रुपैयाँ तलव थाप्ने गरेको बताए ।
बालिका भन्छिन्–नेपालमा,नेपाली कटिङ् मास्टरहरुको अभाव छ । नेपाली कारिगरहरु भेटिएपनि निरन्तर कर्मशील र लगनशीलताको अभावले टिक्ने अवस्था छैन । नेपाली युवाहरुलाई नेपालमै टिकाउनका लागि गार्मेन्टसम्बन्धि तालिम र बजार व्यवस्थापनमा संलग्न गराउन सकेमा उत्तम हुने थियो ।
सिलाई गर्ने महिला मजदुरहरुले प्रतिगोटाका दरले तलव प्राप्त गर्दा महिनामा न्यूनतम १० हजारदेखि १९ हजार रुपैयाँसम्म कमाउने बालिकाले सुनाइन् ।
उनको गार्मेन्टमा स्कुल ड्रेस,स्पोर्ट सर्ट, हाफ पाईन्ट,लेडीजका कुर्था, सलवार, आउटर, मेक्सी, गाउनलगायतका सामग्री उत्पादन हुने गर्छ ।
१८ वर्षे बैवाहिक जीवनयात्रा टुटेपछि उनले सो गार्मेन्ट उद्योग सञ्चालन गरेकी हुन् । जेठो छोरोले आइटी पढेर वैदेशिक रोजगारका लागि अष्ट्रेलिया पुगेका छन् । कान्छो छोरो कक्षा–११ को परीक्षा दिईसकेका छन् ।
कोरोना कालमा बालिकाले मास्क बनाएर स्थानीय लमही नगरपालिकालाई सहयोग पुराएको संस्थापक नगर प्रमुख कुलबहादुर केसीले बताए । बजारमा मास्कको हाहाकार हुँदा सामाजिक सेवाभाव देखाई बालिकाले कपडा मास्क तयार गरि बितरण गरेकी थिईन् ।
बालिकाले बैंकबाट कर्जा लिई गार्मेन्टमात्र सुरु गरेकी छैनन् बरु गार्मेन्ट का लागि ढाईतले घरसमेत निर्माण सम्पन्न गरेकी छिन् । सोही घरमा गार्मेन्ट सञ्चालन गर्दै आएकी छिन् ।
मिहिनेती तथा परिश्रमी बालिकाको गार्मेन्ट अवलोकनपछि लुम्बिनी प्रदेश मुख्यमन्त्रीका ग्रामीण विकास विज्ञ युवराज घिमिरेले भने– बालिकाको शाहस,हिम्मत र लगनशीलताले व्यवसायिक सफलता प्राप्त गरिरहेको छ । सरकारले सुलभ र सस्तो व्याज दरमा कर्जा उपलब्ध गराएमा उनीजस्ता व्यवसायीले थप उन्नति र प्रगति गर्ने देखिन्छ ।
बालिकाले किशोरी अवस्थामा नै विहे गरि फुर्सदमा पछुताउनु परेको बताईन् । त्यसैले उमेर पुगेपछि बिहे गर्नुपर्नेमा उनको जोड छ ।
व्यवसायमा सफलता हासिल गर्दै गरेकी बालिकाको गार्मेन्ट उत्पादनले दाङ, प्युठान,रोल्पा, रुकुम, बाँके, कपिलवस्तुका बजारमा हस्तक्षेपकारी बजारीकरण गरिरहेको छ । आएको आम्दानीले बैंक कर्जा,कारिगार, श्रमिकहरुलाई तलव,भत्ता र सरकारलाई राजस्व तिरेकी छिन् । यतिबेला वार्षिक डेढ करोड बढी कारोवार गरेता पनि गार्मेन्टका लागि चाहिने थ्रीफेस लाइन नहुँदा मेसीनहरु स्मूथ्ली चल्न सकेका छैनन्, व्यसायिक घाटा व्यहोर्न परेको सुनाईन् ।
गार्मेन्ट अवलोकनका क्रममा पुगेका लुम्बिनी प्रदेश सरकार,मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार लक्ष्मण ज्ञवालीले गार्मेन्टलाई आवश्यक रहेको थ्रीफेस विद्युत सेवा चाँडै नै उपलब्ध गराउने प्रतिवद्वता जनाए ।
नौ वर्षअघि सम्बन्ध विच्छेदको पीडा भोगेकी बालिकाले जीवनको उकाली, ओरालीमा हजार हण्डर खाएपनि व्यवसायिक जीवनबाट सगरमाथाको चुचुरो चुम्ने सपना साँचेकी छिन् ।
बालिकाले आफ्नो जीवनमा गार्मेन्ट व्यवसायबाट वहार ल्याउँदैछिन् ।













