काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जापान जान चाहने नेपाली प्रशिक्षार्थी युवाहरूलाई सिओइ आइसकेपछि श्रम स्वीकृति दिनु अघि फेरि भाषा परीक्षा लिने नाममा अनावश्यक रूपमा रोकिएको समाचार प्रति चासो देखाउँनुभएकाे छ ।
शिवाकोटीका अनुसार जुन प्रक्रिया अपनाइएको छ त्यो प्रक्रिया स्वभावतः उल्टो छ,जब जापानी पक्षले नै उनीहरूलाई स्वीकार गरिसकेको छ, जब भिसा नै आइसकेको छ, त्यस्तो अवस्थामा फेरि भाषा परीक्षा लिने नाममा उनीहरूलाई होल्ड गर्नु, अलमल्याउनु र आर्थिक रूपमा शोषण गर्नु गैरकानुनी मात्र होइन, अमानवीय पनि हो।
यो कार्य विगत १५ वर्षदेखि चल्दै आएको एउटा सिन्डिकेट अन्तर्गत भइरहेको छ, जुन सिन्डिकेटले प्रशिक्षार्थी युवाको श्रम र सपना बेचेर कमाइ गर्ने धन्दा चलाइरहेको आराेप लगाउँदै हटाउँनुपर्नेमा जाेड शिवाकोटीकाे छ ।
विशेष रूपमा “जाइका एल्मुना एसोसिएसन नेपाल जान” सँग वैदेशिक रोजगार विभागले गरेको सहकार्य यसै सिन्डिकेटको नमूना हो। यो सहकार्य तत्काल तोडिनु पर्दछ, शिवाकोटी भन्नुहुन्छ, यो अवस्था भिजिट भिसा प्रकरणजस्तै भयावह रूपमा विकसित भएको छ, जहाँ केही सीमित व्यक्ति र संस्थाले सरकारी संयन्त्रको नाम लिइ निर्दोष युवाहरूको भविष्य र परिवारको लगानीमा खेलवाड गरिरहेका छन्।
सरकारले सुशासन र पारदर्शिता नारा मात्रै होइन, व्यवहारमा पनि देखाउनुपर्छ। वैदेशिक रोजगार विभागले यो प्रकरणमा आफ्नो जिम्मेवारी स्पष्ट रूपमा लिनु पर्दछ। अनधिकृत संस्था र एजेन्सीहरूलाई श्रम प्रक्रियाबाट बाहिर राखी यथाशीघ्र छानबिन र कारबाही अघि बढाइनुपर्छ।
हामीले आफ्ना युवाको श्रमको सम्मान गर्न नसक्ने हो भने देशभित्रको बेरोजगारीको समाधान खोज्ने नैतिक आधार पनि गुम्ने शिवाकोटीकाे भनाइ छ ।














