काठमाडौं, ३२ असार । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१’ बाट पूर्वमन्त्री प्राध्यापक मानबहादुर विश्वकर्मालाई पुरस्कृत गरेको छ । बुधबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्राध्यापक विश्वकर्मालाई पुरस्कार प्रदान गर्नुभयो ।
दलित समुदायमा शैक्षिक एवम् राजनीतिक जागरण ल्याउनुका साथै अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेवापत प्राध्यापक विश्वकर्मालाई सरकारले एक लाख नगद र ताम्रापत्रसहित उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
राणाशासनमा नै दलित जागरणको आन्दोलनमा होमिएका दलित मुक्ति आन्दोलनका संस्थापक नेता भगत सर्वजित विश्वकर्माको सम्मानमा सरकारले २०७२ सालमा उक्त पुरस्कार स्थापना गरी राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्र, दलित मुक्ति आन्दोलनको क्षेत्र, समाज सुधार अभियानको क्षेत्र, मानव अधिकारको क्षेत्र र सीप, कला, शिक्षा–साहित्य, संस्कृति, लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । सन् १९४८ मा अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएर विद्यालयस्तरसम्मको अध्ययन गाउँबाटै शुरु गरी भारतको राँची विश्वविद्यालयबाट एमएस्सी गर्नुभएका प्राध्यापक मानबहादुर विश्वकर्माले वि.सं.२०३४ सालदेखि प्राध्यापन शुरू गर्नुभएको थियो ।
राष्ट्रिय शिक्षा पुरस्कार,२०४३ बाट समेत पुरस्कृत विश्वकर्मा वि.सं. २०३४–२०४७ सालसम्म अमृत साइन्स क्याम्पस प्राध्यापन गर्नुभएका विश्वकर्माले काठमाडौ भ्याली क्याम्पस (काठमाडौं विश्वविद्यालयको) संस्थापक भई वि.सं २०४२–२०४९ सम्म प्राध्यापन गर्नुभएको थियो । तत्पश्चात् सक्रिय राजनीतिमा प्रवेश गरी शिक्षा, राजनीति र सामाजिक रुपान्तरणमा उहाँ क्रियाशील रहँदै आउनुभएको छ ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघको संस्थापक सभापति भई तीन कार्यकाल केन्द्रीय अध्यक्ष हुनुभयो । उहाँ २०६२ सालदेखि लगातार चार कार्यकाल निर्वाचित केन्द्रीय सदस्य हुनुहुन्छ । वि.सं. २०६३ सालमा क्याबिनेट स्तरको वातावरण, विज्ञान र प्रविधि राज्यमन्त्री, संविधान सभा सदस्य, प्रतिनिधि सभा सदस्य हुनुभयो । नेपाल परिवार नियोजन संघको केन्द्रीय महासचिवसमेत भइसक्नुभएका विश्वकर्माले लामो समयसम्म पार्टीको केन्द्रीय प्रशिक्षक भई करिब ७० जिल्लामा पुगेर प्रशिक्षितसमेत गर्नुभएको छ ।













