अर्घाखाँची, ५ साउन । अर्घाखाँचीमा बादर र बँदेल हेरालुका लागि डिभिजन वन कार्यालयले २० जनालाई छनाेट गरेकाे छ । अर्घाखाँचीका ठाउँ-ठाउँमा बादर र बँदेल हेरालुकाे रूपमा वन कार्यालयले नियुक्ति दियाे ।
आईतबार नाम प्रकाशन गरि साेमबार उनीहरूलाई सम्झौता तथा अभिमुखीकरण गरायाे । वन्यजन्तुजन्य क्षति न्यूनीकरण, किसानको खेती सुरक्षित गर्ने तथा वन्यजन्तु सहअस्तित्व प्रवर्द्धन गर्ने उद्देश्यले यस्ता हेरालु छनोट गरिएको डिभिजन वन कार्यालयका सहायक डिभिजन वन अधिकृत केशव खड्काले बताए ।
डिभिजन वन कार्यालय र कार्यालय अन्तर्गतका वन व्यवस्थापन काममा सक्रिय समूह कोषमा मौज्दात आय राम्रो रहेका सामुदायिक वन समूहहरूको सहकार्यमा यी हेरालु राख्ने निर्णय गरिएको जनाइएको छ । अर्घाखाँचीमा अहिले बादर र बदेलबाट जिल्लाका कृषकहरू प्रभावित भएका छन् । अर्घाखाँचीमा बादर बँदेल नियन्त्रणका लागि तारजाली वितरण गर्ने देखि हेरालु राख्नमा स्थानीय सरकारले पनि पहल गरिरहेका छन् ।













