गोपाल भट्टराई
अर्घाखाँची, २८ साउन । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सेङलेङमा रहेको चियाबगानमा गोडमेल गरि अन्तराष्ट्रिय युवा दिवस मनाएको छ । हरेक बर्ष अगस्ट १२ मा मनाइने यो दिवसको अवसरमा भूमिकास्थान नगरपालिका स्तरिय युवा सञ्जालको आयोजनामा मंगलबार सेङलेङमा रहेको अर्घाखाँचीकै एकमात्र चियाबगैंचामा गोडमेल गरिएको हो ।
देउराली–लालिगुराँस सामुदायिक वनको करिब २० रोपनी क्षेत्रफलमा लगाइएका २१ हजार थान चियाको बोट रहेको बगैचामा रहेको झारपात गोडमेल र बिरुवामा उकेरा लगाउने कार्य गरिएको युवा सञ्जालका अध्यक्ष टेकराज भुसालले जानकारी दिए ।
चिया बगानमा गोडमेलमा सहभागी भएका भूमिकास्थान नगरप्रमुख झविलाल थापाले भूमिकास्थानलाई कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न सकिने बताए । प्राकृतिक र धार्मिक पर्यटकसंगै कृषि पर्यटनको प्रचुर सम्भावना रहेको बताउँदै व्यवसायिक कृषि, पर्यटन, उत्पादन र व्यापार नै भूमिकास्थानको समृद्धिका आधार भएकोले कृषि पर्यटनको सुनौलो अवसर रहेको नगरप्रमुख थापाको भनाई छ ।

प्रसिद्ध सुपादउराली आएका पर्यटकलाई सेङलेङ ल्याएर होमस्टेमा बास बसाल्ने, मसिनाको लेक, पाथिभरा मन्दिर, सेङलेङ दह र चिया बगान अवलोकन
गराउने, अर्कोदिन मृगस्थली झरना, शिद्धगुफा अवलोकन गराउँदै भूमेकाथान मन्दिर सम्म पुर्याएर स्वर्गद्धारी पठाउने आफुहरुको योजना सुनाउँदै नगरप्रमुख थापाले यसलाई कार्यान्वयन गर्ने दिशामा सबैको सहयोगको अपेक्षा राखे ।

वडा नम्बर १ का अध्यक्ष गोपाल खनाल, ३ का वडाध्यक्ष कृष्ण प्रसाद बन्जाडे, ४ का वडाध्यक्ष बाबुराम पन्थी, ५ का वडाध्यक्ष जयगोपाल श्रेष्ठ, ६ का कार्यबाहक वडाध्यक्ष चिन्ता बहादुर बस्नेत, ९ का वडाध्यक्ष खेमराज चुँदाली, १० का वडाध्यक्ष खगिश्वर पन्थी, कार्यपालिका सदस्य गिर बहादुर नेपाली, वडा सदस्य जनकलाल गैरे, गंगा श्रेष्ठ, पत्रकार महासंघ जिल्ला उपाध्यक्ष रुद्रमणी भुसाल, युवा सञ्जालका युवाहरु, सेङलेङका स्थानिय उपभोक्ता सहित करिब एक सय जनाको सहभागितामा चियाबगानमा गोडमेल गरिएको देउराली–लालिगुराँस सामुदायिक वनका अध्यक्ष हिमनाथ खनालले जानकारी दिए ।













