सुजन न्यौपाने
बुटवल, रुपन्देही । लुम्बिनी फोटोग्राफर सघंको आयोजनामा ‘पावर अफ एआई’ शीर्षकसहितको दुई दिने एडभान्स फोटो एडिटिङ तालिम रुपन्देहीको बुटवलस्थित सिद्धार्थ कटेजमा भव्य रुपमा सम्पन्न भएको छ। करिब ७० जना फोटोग्राफरहरुको सक्रिय सहभागितामा सम्पन्न उक्त तालिमलाई नेपालकै फोटोग्राफी क्षेत्रमा एक महत्वपूर्ण उपलब्धि तथा ऐतिहासिक पहलका रूपमा लिइएको छ।
कार्यक्रमको उद्देश्य नेपालका फोटोग्राफरहरुलाई डिजिटल प्रविधिमा अझ दक्ष बनाउन, विश्वस्तरीय प्रतिस्पर्धामा सक्षम तुल्याउन तथा फोटोग्राफी व्यवसायलाई अझ व्यावसायिक र सम्मानित बनाउने रहेको आयोजकहरूले जनाएका छन्। पछिल्ला दशकमा नेपालमा फोटोग्राफीले मात्र रोजगारी होइन, प्रतिष्ठा पनि दिलाउने क्षेत्रको रुपमा स्थान बनाएको छ। विवाह, व्रतबन्ध, जन्मोत्सव, संस्कृतिका विविध क्रियाकलाप, राजनैतिक सभा समारोहदेखि सामाजिक गतिविधिसम्म फोटो खिच्ने र तिनलाई डिजिटल एडिटिङमार्फत स्मरणीय बनाउनुपर्ने चलन अत्यन्तै प्रबल बन्दै गएको छ।
डिजिटल क्यामेरा, ड्रोन फोटोग्राफी, तथा आधुनिक एडिटिङ सफ्टवेरको प्रयोगले फोटोग्राफीलाई केवल ‘तस्बिर खिच्ने काम’ मात्र नभई एउटा कला र जीवन्त स्मृतिको अभिलेख बनाउन सफल भएको छ। तालिमका प्रशिक्षकका रुपमा एडभान्स फोटो एडिटिङमा विशेष दक्षता हासिल गरेका एडव सर्टिफाइड प्रशिक्षक के गणेश उपस्थित हुनु भएको थियो। उहाँले दुई दिनसम्म निरन्तर प्रशिक्षण दिँदै सहभागीलाई एआई प्रयोगमार्फत फोटो एडिटिङमा हुने नवीनतम सम्भावनाहरू, कार्यविधिहरू र अन्तर्राष्ट्रिय प्रवृत्तिहरूबारे जानकारी दिनुभयो। सहभागीहरूले प्रस्तुत सामग्रीलाई अत्यन्तै उपयोगी र व्यावहारिक भएको बताएका छन्।
तालिमका संयोजक मोहन महतोले सहभागीहरुलाई प्राप्त ज्ञानलाई आफ्ना दैनिकीमा प्रयोग गर्न र आवश्यकता परेमा प्रशिक्षकहरूसँग निरन्तर सम्पर्कमा रहन सकिने व्यवस्था मिलाइने जानकारी दिनुभयो। उहाँका अनुसार, फोटोग्राफी मात्र एउटा सीप नभई नेपालमा उद्यमशीलता, रोजगारी सिर्जना र प्रविधिसँगै तालमेल मिलाउने माध्यम पनि हो।समापन समारोहको सभापति लुम्बिनी फोटोग्राफर सघंका अध्यक्ष दिनेश अर्यालले गर्नुभयो। उहाँले नेपालमा फोटोग्राफीको स्तरलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन यस्ता तालिम अत्यन्तै आवश्यक रहेको बताउनुभयो।
नेपाल फोटोग्राफर महासघंका अध्यक्ष महेन्द्रप्रसाद उपाध्यायले फोटोग्राफरहरुलाई अबको युगमा एआई जस्ता प्रविधिबाट टाढा रहन नसकिने भन्दै, यस्ता तालिमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। उहाँले फोटोग्राफरहरुले प्रविधिसँगै सिर्जनात्मकतालाई पनि उस्तै महत्व दिनुपर्ने बताउँदै नेपालको सांस्कृतिक सम्पदा, धार्मिक स्थल र सामाजिक विविधतालाई फोटोमार्फत विश्वभर पुर्याउन सकिने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, कार्यक्रममा नेपाल फोटोग्राफर महासघंका केन्द्रीय सदस्यहरू, नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेश समितिका पदाधिकारीहरू तथा विभिन्न जिल्लाका अध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य लुम्बिनी फोटोग्राफर सघंका उपाध्यक्ष रामप्रसाद भण्डारीले प्रस्तुत गर्नुभयो। उहाँले सहभागीहरुलाई शुभकामना दिँदै नेपालमा फोटोग्राफी व्यवसाय अझै व्यावसायिक बन्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, लुम्बिनी फोटोग्राफर संघका प्रथम उपाध्यक्ष तथा कार्यक्रम संयोजक माधव पन्थले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।
सम्पूर्ण कार्यक्रमको सञ्चालन लुम्बिनी फोटोग्राफर सघंका महासचिव त्रिभुवन पाण्डेले गर्नुभएको थियो। उहाँले आफ्नो सहज र प्रभावकारी शैलीले कार्यक्रमलाई निरन्तरता दिनुभएको थियो।
तालिममा सहभागी भएका फोटोग्राफरहरूले एआई प्रविधिको प्रयोग, रंग मिलाउने तरिका, छायाचित्रलाई प्राकृतिक रूपमै सुदृढ बनाउने तरिका, विवाह तथा सामाजिक कार्यक्रमका तस्बिरलाई अझ आकर्षक बनाउन सकिने विधिहरू सिकेको बताए। उनीहरूले यस्तो अवसर पाउनु आफूसँग भविष्यमा नयाँ ढोका खोल्ने खालको भएको प्रतिक्रिया दिएका छन्।
लुम्बिनी फोटोग्राफर सघंले आयोजना गरेको यो दुई दिने एडभान्स तालिम केवल एउटा तालिम मात्र नभई फोटोग्राफी क्षेत्रमा नवीन युगको सुरुवातका रुपमा मानिएको छ। प्रविधिसँगै प्रतिस्पर्धा गर्न सक्ने, फोटोग्राफीलाई सम्मानित व्यवसाय बनाउने र नेपाललाई फोटो कला र डिजिटल सिर्जनामा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने दिशामा यस तालिमले ठूलो योगदान पुर्याउने अपेक्षा गरिएको छ।














