गैँडाकोट । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा नवलपुर निर्वाचन क्षेत्र नं. १ मा नेपाली काँग्रेसभित्र उम्मेदवारी टिकटका लागि तीव्र रस्साकस्सी सुरु भएको छ। यस क्षेत्रबाट काँग्रेसको टिकट प्राप्त गर्न पाँच जना प्रभावशाली नेताहरू आ–आफ्नो दाबी प्रस्तुत गर्दै सक्रिय देखिएका छन्।
काँग्रेसभित्र टिकटका प्रमुख आकांक्षीहरूमा नवलपुर क्षेत्र नं. १(१) का प्रदेश सभापति गोपाल प्रसाद सापकोटा, महासमिति सदस्य गजेन्द्र बहादुर आले, जिल्ला उपसभापति बालकृष्ण घिमिरे तथा पार्टीका पुराना नेता ओम सापकोटा र नवलपुर क्षेत्र नम्बर १ का सभापति अमृत भट्टचन रहेका छन्। प्रदेश सभापति गोपाल प्रसाद सापकोटा पछिल्लो समय युवाहरू माझ लोकप्रिय र भरोसायोग्य नेताका रूपमा स्थापित हुँदै आएका छन्।
संगठन निर्माण, कार्यकर्ता परिचालन र जनउत्तरदायी नेतृत्वमा निरन्तर सक्रिय सापकोटाले स्थानीय तहदेखि पार्टी संरचनासम्म सुदृढ पकड बनाएका छन्। सरल स्वभाव, मृदुभाषी शैली र सामाजिक सेवामा अग्रसर व्यक्तित्वका रूपमा परिचित सापकोटा विभिन्न सामाजिक संस्थाहरूमा सक्रिय रहँदै आएका छन्। काँग्रेस वृत्तमा सापकोटालाई विपक्षी दलका मतदातासमेत आकर्षित गर्न सक्ने क्षमता भएको नेता मानिन्छ।
विकास, सुशासन र सामाजिक न्यायलाई प्राथमिकतामा राख्दै जिम्मेवार नेतृत्वको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै आएका कारण उनी आगामी निर्वाचनमा बलिया उम्मेदवारका रूपमा हेरिएका छन्। गैँडाकोट–१२ निवासी गजेन्द्र बहादुर आले नेपाली काँग्रेसका महासमिति सदस्य हुन्। यसअघि गैँडाकोट नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरिसकेका आले जनजाति समुदायमा राम्रो प्रभाव राख्ने नेताका रूपमा चिनिन्छन्।
समावेशी प्रतिनिधित्व निर्णायक बनेमा उनको सम्भावना बलियो देखिन्छ। काँग्रेसका निष्ठावान र इमानदार पुराना नेता ओम सापकोटा गैँडाकोट–८ का बासिन्दा हुन्। पूर्व गाविस अध्यक्षसमेत रहिसकेका सापकोटाको लामो राजनीतिक अनुभव र पार्टीप्रतिको निरन्तर समर्पण उनको मुख्य शक्ति मानिन्छ। जिल्ला उपसभापति बालकृष्ण घिमिरे बौद्धिक क्षमता र प्रभावशाली वाककला भएका नेताका रूपमा परिचित छन्।
कावासोती निवासी भए पनि जन्म बुलिङटारमा भएकाले त्यहाँको मत आकर्षित गर्न सक्ने आँकलन गरिएको छ। जिल्ला तहको नेतृत्वमा रहेकाले संगठनभित्र उनको पहुँच उल्लेखनीय छ। अमृत भट्टचन नवलपुर निर्वाचन क्षेत्र नं. १ का सभापति हुन् भने नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका सभापतिका रूपमा समेत जिम्मेवारी निर्वाह गर्दै आएका छन्। पार्टी संगठन र निजी क्षेत्रबीच समन्वय गर्दै अघि बढ्ने क्षमताका कारण उनी राजनीतिक तथा व्यावसायिक क्षेत्र दुवैमा परिचित व्यक्तित्व मानिन्छन्।
पछिल्लो समय अमृत भट्टचन युवाहरू माझ लोकप्रिय नेताका रूपमा देखिँदै आएका छन्। पाँच दाबेदारबीच संगठनात्मक शक्ति, अनुभव, युवापन, समावेशी प्रतिनिधित्व र निर्वाचन जित्ने सम्भावनाबीच सन्तुलन कसरी मिलाइन्छ भन्ने विषय टिकट वितरणमा निर्णायक बन्ने देखिन्छ। स्थानीय तहको सिफारिस, केन्द्रको निर्देशन र जित्ने क्षमताको मूल्याङ्कनका आधारमा अन्तिम निर्णय हुने काँग्रेस स्रोतको भनाइ छ। अब सबैको चासोको विषय बनेको छ— क्षेत्रीय पकड र युवाहरू माझ लोकप्रिय गोपाल प्रसाद सापकोटा, समावेशी प्रतिनिधित्वका दाबेदार गजेन्द्र बहादुर आले, संगठनमा प्रभावशाली बालकृष्ण घिमिरे, वा निष्ठाको राजनीति पर्याय ओम सापकोटा र अमृत भट्टचनमध्ये अन्ततः नवलपुर–१ बाट काँग्रेसको टिकट कसले हात पार्ने ? काँग्रेसभित्रको यो आन्तरिक प्रतिस्पर्धा आगामी दिनमा अझ रोचक बन्दै जाने संकेत देखिएको छ।














