२८ माघ २०८२, बुधबार
२८ माघ २०८२, बुधबार
spot_img

पाणिनी व्याकरणको प्रभावबारे विशेष प्रवचन कार्यक्रम सम्पन्न

अर्घाखाँची । पाणिनि तपोभूमि व्यवस्थापन, संरक्षण तथा संवर्द्धन समिति अमेरिकाको आयोजनामा “नेपाली भाषा, साहित्य र संस्कृतिमा पाणिनीय व्याकरणको प्रभाव” विषयक विशेष प्रवचन कार्यक्रम जनवरी ३१, २०२६ (नेपाली समय अनुसार माघ १८ गते विहान) जुममार्फत भव्य रूपमा सम्पन्न भएको छ। अमेरिका र नेपालबाट करिब ५० जना भाषा–साहित्यका अध्येता, शिक्षक, विद्यार्थी तथा संस्कृतप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको उक्त कार्यक्रम बौद्धिक रूपमा अत्यन्तै समृद्ध र ज्ञानवर्द्धक बनेको थियो।

कार्यक्रमका प्रमुख वक्ता प्राध्यापक डा. नवराज कट्टेलले पाणिनीय व्याकरणको ऐतिहासिक पृष्ठभूमि, यसको वैज्ञानिक आधार र नेपाली भाषाको विकासक्रममा यसले खेलेको निर्णायक भूमिकाबारे गहन तथा तथ्यपरक प्रवचन प्रस्तुत गर्नु भयो। उहाँले शब्द–निर्माण, वाक्य–संरचना, धातु–प्रक्रिया, भाषिक शुद्धता तथा साहित्यिक अभिव्यक्तिमा पाणिनीय व्याकरणको प्रभाव उदाहरणसहित स्पष्ट पार्दै यसले नेपाली भाषालाई व्यवस्थित र समृद्ध बनाएको धारणा राख्नु भयो।

कार्यक्रममा प्रा. पिताम्बर दहाल र आचार्य मेघराज निरौलाले टिप्पणी प्रस्तुत गर्दै पाणिनीय व्याकरणको शैक्षिक, भाषिक र सांस्कृतिक महत्वमाथि थप प्रकाश पार्नु भएको थियो। उहाँहरूले संस्कृत व्याकरणको गहिरो अध्ययन बिना नेपाली भाषाको मौलिकता र सौन्दर्य पूर्ण रूपमा बुझ्न नसकिने उल्लेख गर्दै यसको संरक्षण र निरन्तर अध्ययन आवश्यक रहेको बताउनुभयो ।

संस्थाका संयोजक आचार्य पीपलमणि सिग्देलले कार्यक्रम समापन गर्दै पाणिनीय व्याकरण नेपाली भाषाको आधारस्तंभ रहेको बताउनुभयो । साथै कार्यक्रममा सहभागिता जनाउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा संस्थाका संरक्षक नेत्रबन्धु पोख्रेलले कार्यक्रमको खाका प्रस्तुत गर्दै कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो सहभागीहरूलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रमको संचालन संस्थाका सचिव डा. लेखनाथ अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा युएनएफपिएमा कार्यरत गणेश शाही, एनआरएन अमेरिकाका निबर्तमान सभापति डा अर्जुन बंजॉडे, एनआरएन आइसिसीका कृष्ण पोख्रेल, एनआरएन अमेरिकाका पूर्व प्रवक्ता पत्रकार तोया दहाल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानध्यापक पुश्कर राज पोखरेल, पाणिनि मन्दिर पाणिनि तपोभूमिका पूजारी नवहरि पोखरेल लगायत समाजसेवीहरू र संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता बौद्धिक तथा अनुसन्धानमुखी कार्यक्रमहरूले भाषा, साहित्य र संस्कृतिप्रति नयाँ पुस्तामा चेतना र रुचि बढाउने विश्वास व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img