उमेश घिमिरे, काठमाडौँ, फागुन २८, । विश्वका हिन्दुमात्रका आराध्यदेव तथा नेपाल र नेपालीका राष्ट्रदेव भगवान् श्रीपशुपतिनाथ श्रीकेदारनाथको समेत शिरोभागका रूपमा प्रतिष्ठित हुनुहुन्छ । भारतका चार धामको दर्शन/तीर्थयात्रापश्चात् श्रीपशुपतिनाथको दर्शन गरेपछि नै चारधामको तीर्थयात्रा प्रयोजनपूर्ण/सार्थक/फलीभूत हुने मान्यता रहेको छ । भगवान् श्रीपशुपतिनाथ र पाशुपतक्षेत्रको माहात्म्य एवम् पवित्र वाग्वती नदीको वैशिष्ट्य उगागर गर्ने, त्यसतर्फ समस्त सनातनी तथा नेपालीलाई जागृत गराउने र भगवान् पशुपतिनाथ र वाग्वतीप्रति क्षमायाचना तथा प्रायश्चित्त गर्ने पावन उद्देश्यका साथ महेश सन्न्यास आश्रमका पीठाधीश एवम् ‘महेश संस्कृत गुरुकुलम्’ का अध्यक्ष स्वामी रमणानन्द गिरिज्यूद्वारा ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा-२०८२’ (चौसट्ठी सिद्धलिङ्ग दर्शन) को सत्सङ्कल्प गरिएको हो ।
सत्सङ्ग भवन, जावलाखेल ललितपुरमा आज मिति २०८२ चैत्र २८ गतेका दिन स्वामी रमणानन्द गिरिज्यूको अध्यक्षता तथा शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला, प्राध्यापक भवानीप्रसाद खतिवडा, यशस्वी आचार्य पं.कपिलदेव सुवेदी, डा.रामप्रसाद पौडेल, डा.वैकुण्ठ घिमिरे, अनुसन्धाता श्यामकृष्ण सुवेदी लगायतका विद्वान् तथा अध्यात्मसाधक भक्तजनको सहभागितामा पाशुपत पदयात्रा सम्बन्धी विद्वत्सङ्गोष्ठी सम्पन्न भयो ।
विद्वत्सङ्गोष्ठीमा समुपस्थित विद्वत्सभालाई स्वागत अभिनन्दनपूर्वक प्राध्यापक भवानीप्रसाद खतिवडाज्यूले ‘पाशुपत-पदयात्रा’ आयोजनाका सम्बन्धमा उपक्रम मन्तव्य राख्नु भएको थियो । उहाँले मन्तव्यका क्रममा भगवान् श्रीपशुपतिनाथ विश्वका क्षेत्रमध्ये आध्यात्मिक दृष्टिले ऊर्जाशील भूमि नेपाललाई रोजेर वाग्वती तटमा विराजमान हुनुहुन्छ, वाग्वती नदीको पवित्र जलले श्रीपशुपतिनाथको शिरमा जलधारा गरिँदै आएको र गरिने परम्परा रहेकोमा मानवीय आपराधिक क्रियाकलापले वाग्वती प्रदूषित भएकाले सो परम्परा विच्छेद हुन गएको छ भन्दै बाबा पशुपतिनाथ र वाग्मती गङ्गाप्रति क्षमायाचनासहित नेपाली समाजमा आध्यात्मिक जागरण ल्याउने सन्तको सत्सङ्कल्पलाई सफल बनाउन हामी सबैले कायेन, वाचा, मनसा, दानेन सहभागिता जनाउनु पर्ने अवधारणा व्यक्त गर्नु भएको थियो ।‘बृहत् पाशुपत पदयात्रा’ लाई भव्यताका साथ सम्पन्न गर्नका लागि उक्त विद्वत्सभाद्वारा ‘मूल आयोजक समिति’ र विभिन्न उपसमितिहरूको समेत गठन भएको थियो । मूल आयोजक समितिका संयोजक आचार्य श्रीकपिलदेव सुवेदीज्यूले विद्वत्सभालाई सम्बोधन गर्ने क्रममा हिमवत्खण्ड, मानसखण्ड आदि पुराण तथा वैदिक वाङ्मयमा वर्णन गरिएको पशुपतितत्त्वको महिमा प्रतिपादन गर्दै पाशुपतक्षेत्रमा विद्यमान आदिलिङ्ग कुशेश्वरदेखि चतुषष्ठी सिद्धलिङ्ग रहेको स्थानको महत्त्व र परिचयसहित नेपाल राष्ट्रलाई भगवान् पशुपतिनाथको देश भनिनुको औचित्य पुष्टि गर्नु भएको थियो ।
समारोहमा उपस्थित दर्शनशास्त्रका उप-प्राध्यापक डा.रामप्रसाद पौडेलले तीर्थयात्रा परिभ्रमणको हिन्दुमा भन्दा जैनधर्मावलम्बीमा विशेष महत्त्व रहेको, जैनीले झैँ पदयात्राका क्रममा हामीले पनि यम, नियम आदि व्रत गर्न सक्नुपर्ने, आचार र विचारपक्ष शुद्ध रहनु पर्ने, पाशुपत पदयात्रा र सिद्धलिङ्गदर्शनमा मात्र सीमित नभई एक ठोस उपलब्धिमूलक बनाउनका लागि अनुसन्धानात्मक खोजी गर्नुपर्ने, त्यसका लागि विश्वविद्यालय तथा नेपाल सरकारले समेत सहजीकरण एवम् सहयोग पुन्याउनु पर्ने विचार राख्नु भएको थियो ।
पाशुपतक्षेत्रको शास्त्रीय तथा स्थलगत अध्ययन अनुसन्धान गर्दै सोही विषयमा त्रिभूवन विश्वविद्यालयबाट विद्यावारिधिका शोधार्थी एवम् अनुसन्धाता मूल आयोजक समितिका सचिव अनुसन्धाता श्यामकृष्ण सुवेदीले पाशुपत पदयात्राका बारेमा विवरणात्मक प्रस्तुति दिनु भएको थियो । उहाँका अनुसार चैत्र-१५ गते पशुपति शङ्कराचार्यमठमा समुद्घाटन समारोह, पशुपतिपूजन तथा वाग्मती गङ्गाको विशेष आरती गर्ने र १६ गते पशुपति क्षेत्रबाट प्रारम्भ हुने पाशुपत पदयात्राको शुभारम्भ आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट हुने छ । कुशेश्वरबाट दोलखा भिमसेनको दर्शन गरेर फर्किएपछि सिन्धुली, नुवाकोट, धादिङ्ग, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रे, जनकपुर आदिक्षेत्रमा विद्यमान सिद्धलिङ्गको दर्शन पैदलबाट नै गरिने भएकाले कम्तीमा ३५-३६ दिनमा तीर्थयात्रा सम्पन्न हुने अनुमान गर्दै आआफ्नो क्षमता अनुसार पूर्ण वा कुनै पायक तीर्थस्थलमा सहभागी भई ज्योतिर्लिङ्ग दर्शन तथा पदयात्री साधु-महात्मा भक्तजनको स्वागत गर्न सुवेदीले जनसमुदायलाई विशेष आह्वान गर्नु भएको थियो ।
विद्वत्सङ्गोष्ठीमा समुपस्थित विशिष्ट व्यक्तित्व तथा शिक्षाविद् विद्यानाथ कोइरालाज्यूले नेपालदेश राष्ट्रदेव पशुपतिनाथबाट संरक्षित तथा पाशुपत सभ्यता विकसित क्षेत्र हो । पशुपतितत्त्व र पाशुपत क्षेत्रका सम्बन्धमा संस्कृतका विद्वान् पण्डितहरूले अध्ययन, अनुसन्धानपूर्वक युवावर्ग तथा सामान्य जनमानसले बुझ्ने गरी प्रवचन, लेखन गर्नुपर्ने आवश्यकतालाई औँल्याउनु भएको थियो । जनमानसमा देवता, ईश्वर, भगवानमै भ्रम भएकाले सत्यतथ्य वास्तविक रूपमा के हो भनेर बुझाउने अभिभारा संस्कृत पढेकै विद्वान्हरूको हो त्यसैले सबैले आफ्नो जिम्मेवारी बहन र कर्तव्य पालना गर्न विद्वत्समुदायलाई सचेत गराउनु भएको थियो । आफू पनि समयको अनुकूलता रहँदा पूर्ण पाशुपतपदयात्रा गर्ने र प्रतिकूलतामा पनि आदिलिङ्ग कुशेश्वरको दर्शनमा अवश्य सहभागी हुने प्रतिबद्धता व्यक्त गर्दै यस ऐतिहासिक एवं धार्मिक पाशुपत यात्रामा शारीरिक, वाचिक, मानसिक रूपमा सहभागिताका लागि सम्पूर्ण श्रद्धालु महानुभावलाई आग्रह गर्नु भएको थियो । साथै यस्तो धार्मिक पदयात्राले पर्यटनक्षेत्रलाई प्रचार र प्रवर्धन गर्न उल्लेख्य भूमिका खेल्ने हुँदा पर्यटन-मन्त्रालय तथा नेपालसरकारले समेत अभिभावकत्व बहन गर्नु पर्ने अडान प्रा.डा.कोइरालाले राख्नु भएको थियो ।
विद्वद्गोष्ठीका सभाध्यक्ष एवम् ‘बृहत्-पाशुपत-परिक्रमा’ का सङ्कल्पकर्ता तथा परिकल्पनाकार स्वामी रमणानन्द गिरिज्यूले पशुपतितत्त्वका बारेमा प्रकाश पार्दै पशुपतिको लघु-परिक्रमा, मध्यमपरिक्रमा र बृहत्परिक्रमाका बारेमा उल्लेख गर्नु भएको थियो । पशुपतिनाथ नेपालीसँग रिसाउनु भएको अनुभव गर्दै हामीले ज्ञात अज्ञातरूपमा गरेका सम्पूर्ण अपराधको क्षमापन गर्दै समाजमा आध्यात्मिक जागरण ल्याउने र तीर्थ महिमा उजागर गर्ने सङ्कल्पलाई सार्थक बनाउने जिम्मा समस्त सनातनी नेपालीमा सुम्पिएको सद्विचार स्वामीजीबाट प्रकट भएको थियो । बृहत् पाशुपत पदयात्राले सुषुप्त अवस्थामा रहेका समस्त नेपालीलाई स्वधर्म, स्वसंस्कृति, स्वास्तिव र स्वपहिचानप्रति गौरव गर्नका लागि जागरण ल्याउने, यस्ता परिक्रमाले धर्मराष्ट्रका रूपमा नेपाललाई पुनःस्थापना गराउने, अधोगतितर्फ उन्मुख देशलाई ऊर्ध्वगतितर्फ लैजाने विश्वास स्वामीज्यूले गर्नु भएको थियो । साधुसन्तको आयोजनामा सम्पन्न हुन लागेको ‘बृहत- पाशुपत-पदयात्रा’ लाई राष्ट्रिय महोत्सवका रूपमा ग्रहण गर्दै नेपाल तथा भारतका साधु-सन्त-महात्मा-विद्वान्-पण्डित,पत्रकार, श्रद्धालु भक्तजन, स्थानीय सरकार तथा स्थानीय सज्जन सबै महानुभावको उत्साहपूर्ण सहभागिता रहनु पर्ने धारणा राख्दै नेपाल सरकार र नेपाली जनतालाई आआफ्नो स्थानबाट यथाशक्य सहयोग तथा सहभागी बन्नका लागि विशेष आह्वान स्वामीजीले गर्नु भएको छ । पशुपतिनाथ भगवान् राष्ट्रदेव भएकाले जुनसुकै धर्मसम्प्रदाय र पन्थको प्रतिनिधित्व यस पदयात्रामा हुन सक्ने र हुनुपर्ने भन्दै स्थानीयलाई स्वागत सत्कारका लागि आवश्यक तयारी गर्न समेत ‘बृहत-पाशुपत पदयात्रा (२०८२) मूल आयोजक समितिले अनुरोध गरेको छ ।
विशिष्ट विद्वान् तथा श्रद्धालु भक्तजनको विशेष सहभागितामा सम्पन्न ‘पशुपतितत्त्व विमर्श तथा बृहत् पाशुपत परिक्रमा विषयक उद्बोधनमूलक उक्त विद्वत्सङ्गोष्ठीको सहजीकरण तथा उद्घोषण नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका उपप्राध्यापक तथा महेश छात्र-परिषद्का संस्थापक अध्यक्ष डा.उमेशप्रसाद घिमिरेज्यूले गर्नुभएको थियो । उद्घोषणका क्रममा डा. घिमिरेले सन्तद्वारा सङ्कल्प भएको ‘बृहत् पाशुपत परिक्रमा २०८२’ लाई भव्यताका साथ सम्पन्न गरी पशुपति संरक्षित नेपाल राष्ट्रलाई धर्मराष्टका रूपमा पुनःस्थापना गर्न सक्ने ऊर्जा ग्रहण गर्न समस्त धर्मप्राण सनातनी नेपालीले सामूहिक तथा राष्ट्रिय धर्मजागरण अभियानका रूपमा यस परिक्रमालाई लिन सादर आग्रहसमेत गर्नुभएको थियो ।













