‘वाग्मतीको महाआरतीपूर्वक पाशुपत पदयात्रा आरम्भ’
२०८२ चैत्र १७ गते आदिलिङ्ग कुशेश्वर महादेवको दर्शन तथा पूजन पूर्वक ६४ सिद्ध- लिङ्गको पैदल परिक्रमाका लागि साधु-महात्माको समूह अघि बढिसकेको छ । चैत्र १६ गते पशुपति प्राङ्गण शङ्कराचार्य मठमा ‘बृहत् पाशुपत पदयात्रा’ का परिकल्पनाकार तथा सङ्कल्पकर्ता महेश संस्कृत गुरुकुलम् एवम् आश्रमका अध्यक्ष श्री-१००८ स्वामी रमणानन्द गिरिको सभापतित्व तथा स्वर्गद्वारी आश्रमका उत्तराधिकारी डा. रुद्रानन्द स्वामी, केदारेश्वर वैदिक गुरुकुल, पोखराका अध्यक्ष/पीठाधीश चिद्धनचैतन्य स्वामी, नेपाल सरकारका पूर्वसचिव श्रीभीमप्रसाद उपाध्याय, पशुपति क्षेत्रविकास कोषका सदस्य डा. विपी बडाल, वैदिक अनुसन्धान गुठी (वाग्) का संस्थापक डा. केशवानन्द स्वामी, नेपाल वेदविद्याश्रमका प्राचार्य केशवप्रसाद अधिकारी, हिमवत् आर्ष प्रज्ञाकी अध्यक्ष कल्पना घिमिरे, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापकहरू डा. रामप्रसाद पौडेल, फणीन्द्र पौडेल, डा. वैकुण्ठ घिमिरे, डा. उमेशप्रसाद घिमिरे, लगायतका सयौं विशिष्ट व्यक्तित्व एवम् साधक भक्तजनको सहभागितामा समुद्घाटन समारोह सम्पन्न भएको थियो । समुद्घाटन समारोहमा आयोजक संस्थाका तर्फबाट तर्फबाट महेश संस्कृत गुरुकुलका आचार्य फणीन्द्रप्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै पाशुपत पदयात्राको औचित्य तथा पदयात्राका गन्तव्यमाथि प्रकाश पारेका थिए । सन्तको सङ्कल्पमा आयोजित बृहत् पाशुपत पदयात्रामा कायेन, वाचा, मनसा सहभागी बन्दै पुण्य आर्जनका साथै आध्यात्मिक लाभ लिन का लागि चिद्धनचैतन्य स्वामीबाट आह्वान भएको थियो ।
स्वर्गद्वारी आश्रमका प्रतिनिधि डा. रुद्रानन्द स्वामीबाट पशुपतिनाथ प्रति क्षमायाचनापूर्वक चौसठ्ठी ज्योतिर्लिङ्गको दर्शन गर्ने पावन उद्देश्यका साथ सञ्चालन हुन लागेको पदयात्रामा सहभागी हुन पाउनु समस्त आध्यात्मिक साधकका लागि अत्यन्त गौरख तथा अहो भाग्य हो भन्दै केदारेश्वरको शिरोभाग पशुपतिनाथ र चतु:षष्ठी ज्योतिर्लिङ्ग नेपालको गौरव तथा पहिचानको विषय भएकाले यस क्षेत्रको प्रचार-प्रसारपूर्वक विश्वका सनातन संस्कृतिका अनुयायीलाई आकर्षण गर्नु तथा आध्यात्मिक पर्यटनको मूल थलोका रूपमा चिनाउनु हामी सबै नेपालीको कर्तव्य तथा मूल दायित्व हो भन्ने शुभाशंसा प्रकट भएको थियो । समारोहका अध्यक्ष तथा पदयात्राका सङ्कल्पकर्ता रमणानन्द स्वामीबाट आफ्नो शुभाशीर्वचनका क्रममा मानवीय प्रदूषणबाट प्रदूषित वाग्मती नदीलाई पूर्ववत् शुद्ध बनाएर त्यसै नदीको जलले भगवान् पशुपतिनाथमा जलाभिषेक गर्न नसक्दा सम्म समस्त नेपाली शिवापराधबाट मुक्त हुन नसक्ने भन्दै त्यही शिवापराधबाट छुट्कारा तथा क्षमा पाउनका लागि नेपाल सरकार, अध्यात्म साधक तथा समस्त नेपालीले वाग्मतीनदीको शुद्धीकरणका लागि यथाशक्य योगदान दिनुपर्ने तर्फ खबरदारी व्यक्त भएको थियो । भगवान् पशुपतिनाथको जलाभिषेकको लागि प्रकट भएको वाग्मतीको पदूषण गरेर त्यही प्रदूषित जलबाट विगतमा रुद्राभिषेक गरिएकाले गर्दा नेपाल राष्ट्रमा अनेक प्रकारका दैवी प्रकोप, हत्या-हिंसा-आतङ्क, वैमनस्यका शृङ्खला दिनानुदिन बढ्दै जानुको मुख्य कारण भगवान् शिव रिसाएर रुद्रस्वरूप धारण गरेको हुन सक्ने भएकाले त्यो उग्रस्वरूप त्यागेर सौम्य कल्याणकारण शिवस्वरूप धारण गर्दै आशीर्वाद तथा क्षमा प्रदान गर्न पशुपतिनाथप्रति प्रार्थनामूलक यस आध्यात्मिक अभियानमा सबै नेपालीले साथ सहयोग तथा समर्थन दिनु पर्ने धारणासमेत रमणानन्द स्वामीबाट अभिव्यक्त भएको थियो । ३५ देखि ४० दिनसम्म पशुपति नाथका उपलिङ्ग तथा चतु:षष्ठी ज्योतिर्लिङ्गको दर्शनपूजनसहित लगभग १००० कि.मि. को पैदलयात्राको तपस्या तथा शिवाराधनाबाट भगवान् पशुपतिनाथ प्रसन्न भएर क्षमा प्रदान गर्ने विश्वाससमेत स्वामी रमणानन्दबाट प्रकट भएको थियो । समारोहका सहजकर्ता तथा उद्घोषक डा. उमेशप्रसाद घिमिरेले राष्ट्रदेव भगवान् श्रीपशुपतिनाथ र जगज्जननी गुह्यकाली युगलरिमा विराजित पवित्र पाशुपतक्षेत्र सम्पूर्ण ज्योतिर्लिङ्गहरूको शिरोभाग तथा समस्त वैदिक सनातन धर्मावलम्बीका पवित्र तीर्थक्षेत्र रहेको अनि शिवकै जिह्वाबाट अमृतद्रवका रूपमा प्रकट भएको वाग्वती (वाग्मती) को महिमा भागीरथी गङ्गाभन्दा पनि सयगुणा बढी रहेको पौराणिक तथ्यलाई मनन गर्दै पाशुपत क्षेत्रलाई विगतकै भव्यतम स्वरूपमा संरक्षित गर्न राज्य र जनस्तरमा विविध अभियान सञ्चालन गर्ने सङ्कल्पका साथ ‘बृहत् पाशुपत पदयात्रा’ को महाअभियान आयोजना गरिएको जानकारी दिएका थिए । १. राष्ट्रदेव पशुपतिनाथप्रति शिवापराधको क्षमा याचना गर्ने, २. पाशुपतक्षेत्रलाई मानवीय प्रदूषण र राजनीतिक प्रदूषणबाट मुक्त राख्न राज्यलाई खबरदारी गर्ने, ३. हिन्दु, बौद्ध र किराँतको समेत आस्थाको केन्द्रका रूपमा प्रतिष्ठित पाशुपत क्षेत्रको विकासद्वारा आध्यात्मिक समन्वयको सन्देश दिने गुरुराष्ट्रका रूपमा नेपाल चिनाउने, ४. पाशुपत क्षेत्रमा विद्यमान मठ, मन्दिर, देवमूर्तिको नित्य पूजा र साधुसन्तको साधनात्मक निवासको समुचित व्यवस्थापनका लागि सम्बन्धित निकायसँग अन्त:संवाद तथा अनुगमन गर्ने र ५. ज्योतिर्लिङ्गको दर्शन, वाग्मती परिक्रमा, पशुपतिसंवाद आदि विविध अभियान सञ्चालन गर्ने जस्ता पञ्चसूत्रीय सङ्कल्पका साथ पाशुपत पदयात्रा आयोजना गरिएको समेत डा. घिमिरेले सभामा जानकारी दिए । उक्त उद्घाटन समारोहमा पशुपति क्षेत्रविकास कोषका तर्फबाट पूर्ण पदयात्री सन्त-महात्मा, आध्यात्मिक साधक भक्तजनलाई पदयात्राको पूर्ण सफलताको शुभकामनासहित रूद्राक्षको माला र ‘ॐ नमः शिवाय’ को खादा पहिर्याइएको थियो । समुद्घाटन समारोहपश्चात् नेपाल वेदविद्याश्रमका १०८ जना वटुकद्वारा वैदिक स्वास्तिवाचनासहित वाग्मती गङ्गाको विशेष पूजनसहित महा-आरती गरिएको थियो । नेपालका सिद्ध-पीठ तथा आश्रम गुरुकुलका पीठाधीश, आचार्य, ब्राह्मणवटुक, साधक, भक्तजनको उत्साहजनक वाग्मतीको पूजन तथा आरती कार्यक्रम निकै दिव्य र भव्यरूपमा सम्पन्न भएको जानकारीसमेत आयोजक समितिका सदस्य डा. उमेश घिमिरेले जानकारी दिलाएका छन् । वाग्मती गङ्गाको महा-आरती, भगवान् पशुपतिनाथ र जगज्जननी गुह्येश्वरीको विशेष पूजा आराधना गर्दै अगाडि बढेको सयौँ तीर्थयात्रीको समूह आदिलिङ्ग कुशेश्वरधाम पुगिसकेको र साँझमा विशेष प्रदोषपूजन, अनुष्ठान,आरती र चैत्र १७ गते महादेवको विशेष पूजा-आराधनापश्चात् ‘पाशुपत पदयात्रा’ (६४ सिद्धलिङ्गक्षेत्र-पैदलयात्रा) औपचारिक रूपमा प्रारम्भ भइको जानकारी आयोजक समितिका संयोजक यशस्वी आचार्य श्रीकपिलदेव सुवेदीबाट प्राप्त भएको छ । संयोजक सुवेदीका अनुसार अहिले पदयात्रीको समूह दोलखा भिमसेनको दर्शनका लागि रामेछापको सुनापाती हुँदै दोरम्बाको बाटो पैदल यात्रा गरिरहेको छ भने यतिखेर सेराब्लिङ् अध्ययन महायान, शैलुङमा पुगेर विश्राम लिएको छ । पाशुपत क्षेत्रको महिमा गाउँदै अघि बढेका सम्पूर्ण पदयात्री तथा तीर्थयात्रीलाई हाम्रा तर्फबाट पनि सादर शुभकामना !!!
पदयात्राका क्रममा दर्शन-पूजन गरिने ६४ सिद्धज्योतिर्लिङ्गहरू :
१. कुशेश्वर महादेव, दुम्जा, सिन्धुली
२. भीमेश्वर महादेव, दोलखा
३. काफीश्वर महादेव, बाह्रबिसे, सिन्धुपाल्चोक
४. कश्यपेश्वर महादेव, मण्डन, काभ्रेपलाञ्चोक
५. स्फटिकेश्वर महादेव, फटकशिला, सिन्धुपाल्चोक
६. चण्डेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक
७. धनेश्वर महादेव, बनेपा, काभ्रेपलाञ्चोक
८. विकटेश्वर महादेव, साँगा, काभ्रेपलाञ्चोक
९. इन्द्रेश्वर महादेव, पनौती, काभ्रेपलाञ्चोक
१०. भालेश्वर महादेव, रोसी, काभ्रेपलाञ्चोक
११. गुप्तेश्वर महादेव, भारदेउ, ललितपुर
१२. तिलेश्वर महादेव, लेले, ललितपुर
१३. चम्पकेश्वर महादेव, लेले, ललितपुर
१४. रामेश्वर महादेव, टीकाभैरव, ललितपुर
१५. कालेश्वर महादेव, गोटीखेल, ललितपुर
१६. नटारम्भेश्वर महादेव, ठिङ्गन, मकवानपुर
१७. उद्दालकेश्वर महादेव, छैमले, काठमाडौँ
१८. गोपालेश्वर महादेव, फर्पिङ, काठमाडौँ
१९. चम्पेश्वर महादेव, विसखेल, मकवानपुर
२०. उन्मत्तेश्वर महादेव, टिष्टुङ, मकवानपुर
२१. नन्दिकेश्वर महादेव, टिस्टुङ, मकवानपुर
२२. गोखुरेश्वर महादेव, कुन्छाल, मकवानपुर
२३. पाण्डुकेश्वर महादेव, पालुङ, मकवानपुर
२४. कूटेश्वर महादेव, महादेवखर्क, मकवानपुर
२५. असितेश्वर महादेव, अम्लेश्वर, धादिङ
२६. भैरवेश्वर महादेव, देवीघाट, नुवाकोट
२७. ब्रह्मेश्वर महादेव, कविलास, नुवाकोट
२८. कार्तिकेश्वर महादेव, कविलास, नुवाकोट
२९. शतरुद्रेश्वर महादेव, शिवपुरी, काठमाडौँ
३०. काकेश्वर महादेव, गागलफेदी, काठमाडौँ
३१. मणिचूडेश्वर महादेव, मणिचूड पर्वत, काठमाडौँ
३२. योगेश्वर महादेव, बज्रयोगिनी, काठमाडौँ
३३. नारायणेश्वर महादेव, लप्सीफेदी, काठमाडौँ
३४. ज्योतिर्लिङ्गेश्वर, साँखु, काठमाडौँ
३५. रत्नचूडेश्वर महादेव, नगरकोट, भक्तपुर
३६. वागीश्वर महादेव, वागीश्वर, भक्तपुर
३७. कीलेश्वर महादेव, चाँगुनारायण, भक्तपुर
३८. वाल्मीकेश्वर महादेव, भक्तपुर
३९. मङ्गलेश्वर महादेव, उलाछें, भक्तपुर
४०. विमलेश्वर महादेव सिपाडोल, भक्तपुर
४१. अनन्तलिङ्गेश्वर महादेव, भक्तपुर
४२. विश्वरूपेश्वर महादेव, भक्तपुर
४३. सोमेश्वर महादेव, गुण्डुखोला, भक्तपुर
४४. गोभराटेश्वर महादेव, लुभु, ललितपुर
४५. भृङ्गेश्वर महादेव, सुनाकोठी ललितपुर
४६. त्रिलिङ्गेश्वर महादेव, पाटन, ललितपुर
४७. कुपितेश्वर महादेव, पाटन, ललितपुर
४८. सर्वेश्वर महादेव, पाटन, ललितपुर
४९. गोलोकेश्वर महादेव, नैकाप, काठमाडौँ
५०. चन्दनभराटेश्वर महादेव, थानकोट, काठमाडौँ
५१. यक्षेश्वर महादेव, सीतापाइला, काठमाडौँ
५२. चण्डिकेश्वर महादेव, टोखा, काठमाडौँ
५३. धर्मेश्वर महादेव, टोखा, काठमाडौँ
५४. गोकर्णेश्वर महादेव, गोकर्ण, काठमाडौँ
५५. कोटीश्वर महादेव, कोटेश्वर, काठमाडौँ
५६. वाणेश्वर महादेव, बानेश्वर, काठमाडौँ
५७. ज्ञानेश्वर महादेव, ज्ञानेश्वर, काठमाडौँ
५८. पर्वतेश्वर महादेव, पशुपति, काठमाडौँ
५९. जलेश्वर महादेव, पशुपति, काठमाडौँ
६०. गुह्येश्वर महादेव, गुल्येश्वरी, काठमाडौँ
६१. किरातेश्वर महादेव, मृगस्थली, काठमाडौँ
६२. भस्मेश्वर महादेव, पशुपति, काठमाडौँ
६३. भुवनेश्वर महादेव, पशुपति, काठमाडौँ
६४. रुद्रागारेश्वर महादेव, पशुपति, काठमाडौँ
बृहत् पाशुपत क्षेत्र पदयात्रा













