
- बुटवलमा अर्घाखाँची पाली रुपन्देही सम्पर्क समाजले ५१ युनिट रगत संकलन गरेको छ।
- रक्त सञ्चार सेवा केन्द्रले समाजलाई प्रशंसनीय कार्यका लागि सम्मान प्रदान गरेको छ।
- समाजले नियमित रक्तदानमार्फत मानवीय सेवा र सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ।
बुटवल, १९ साउन । नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाअन्तर्गत रक्त सञ्चार सेवा केन्द्र, बुटवलद्वारा आयोजित रक्तदान जीवनदान कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै अर्घाखाँची पाली रुपन्देही सम्पर्क समाजले ५१ युनिट रगत संकलन गर्न सफल भएको छ।
मानव सेवाको पवित्र अभियानमा उल्लेखनीय योगदान पुर्याएको भन्दै रक्त सञ्चार सेवा केन्द्रले समाजलाई प्रशंसा–पत्र प्रदान गरी सम्मान गरेको हो। “रक्तदान जीवनदान” भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै समाजले नियमित रूपमा रक्तदान कार्यक्रम सञ्चालन गरी बिरामीको जीवन बचाउन महत्वपूर्ण सहयोग पुर्याउँदै आएको आयोजकले जनाएको छ।
प्रशंसा–पत्रमा समाजले ५१ युनिट रक्तदान संकलन गरी मानव सेवामा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरिएको उल्लेख गरिएको छ।
कार्यक्रम मकबुल मियाँको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष डा. अजित खनाल प्रमुख अतिथि भएकोकार्यक्रमको संयोजक जीवन बोहोराले गरेका थिए भने सञ्चालन यज्ञ पौडेलले गरेका थिए।
रक्तदान जस्तो पुण्य कार्यमा समुदायलाई एकजुट गराउँदै समाजले सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै सहभागीहरूले आगामी दिनमा पनि यस्ता मानवीय अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।















