
- नेपाल ज्योतिष परिषद् धादिङको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ।
- विष्णु न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ।
- अधिवेशनमा ज्योतिष शास्त्रको महत्व र यसको संगठनात्मक विस्तारका बारेमा चर्चा गरिएको छ।
धादिङ । नेपाल ज्योतिष परिषद् धादिङको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ। गल्छी गाउँपालिका–६ स्थित अम्लेश्वर महादेव मन्दिर परिसरमा शनिबार सम्पन्न अधिवेशनले विष्णु न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
न्यौपाने दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन हुनुभएको हो । अधिवेशनको प्रमुख अतिथि नेपाल ज्योतिष परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष माधवराज पाण्डेले वैदिक सनातन धर्ममा ज्योतिष शास्त्रलाई ‘नेत्र’का रूपमा लिइने बताउनुभयो । समय र कर्मबीच गहिरो अन्तरसम्बन्ध रहेको उल्लेख गर्दै उहाँले हरेक कर्मका लागि उचित समयको आवश्यकता पर्ने भएकाले सनातन परम्परामा ज्योतिष शास्त्रको महत्वपूर्ण स्थान रहेको धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि परिषद्का केन्द्रीय उपमहासचिव दीपक शर्मा दाहालले ज्योतिष शास्त्रको अध्ययन तथा अध्यापनलाई व्यापक बनाउँदै राष्ट्रियस्तरमा तालिम सञ्चालन गरी विषयगत एकरूपता कायम गर्न आफूहरू लागिपरेको बताउनुभयो। उहाँले परिषद्का नियमित काम–कारबाहीलाई प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
त्यस्तै, बागमती प्रदेश कार्यसमिति अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाले ज्योतिष विषयको अध्ययन–अध्यापनलाई संगठनात्मक रूपमा विस्तार गर्दै बागमती प्रदेशका सबै जिल्लामा घरमै बसेर अध्ययन गर्न सक्ने वातावरण निर्माण गर्न सकिने बताउनुभयो । नवनिर्वाचित अध्यक्ष विष्णु न्यौपानेले जन्म, मृत्युजस्ता महत्वपूर्ण घटनाको समय गणना तथा निर्धारण गर्नको लागि शास्त्रीय सम्मतिको आवश्यकता रहेको बताउँदै ज्योतिष शास्त्रको मर्यादा र शास्त्रीय मान्यतालाई आत्मसात् गर्दै परिषद्को गतिविधिलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निर्वाचित सचिव रामहरि सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बागमती प्रदेशका निवर्तमान वरिष्ठ उपाध्यक्ष वासुदेव वत्सले ज्योतिष विषयको महत्वबारे प्रकाश पार्दै नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो । अधिवेशनका क्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मानसमेत गरिएको थियो । कार्यक्रमको समापनमा अध्यक्ष न्यौपानेले अधिवेशन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा सबैको साथ, सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनुभयो ।
अधिवेशन सफल बनाउन परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष माधवराज पाण्डे, केन्द्रीय उपमहासचिव दीपक शर्मा दाहाल, केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष चोलेन्द्र रिजाल, बागमती प्रदेश अध्यक्ष विष्णुप्रसाद तिमल्सिनालगायतको महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएको छ । त्यसैगरी, थाक्रे–२ सिम्ले निवासी समाजसेवी शिवबहादुर थापा, धुनीवेशी निवासी दीपेन्द्र पाठक, नेपाल ज्योतिष परिषद् बागमती प्रदेश सदस्य हरिप्रसाद लुइँटेललगायत विभिन्न क्षेत्रबाट सहयोग गर्ने सबैप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ ।















