
- मन्त्री सुनिल लम्सालले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणका लागि बजेट अभाव हुन नदिने बताएका छन्।
- बाँकी रहेको एक सय चालीस किलोमिटर सडक यसै वर्ष कालोपत्रेका लागि ठेक्का प्रक्रियामा लगिने भएको छ।
- काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कारबाही गर्दै सडक निर्माण कार्यलाई तीव्रता दिने प्रतिबद्धता जनाइएको छ।
अर्घाखाँची, २५ साउन । भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकलाई निर्माणको लागि बजेट पर्याप्त उपलब्ध गराउने बताएका छन् । उनले यसैवर्ष सालझण्डीदेखि ढोरपाटनसम्मको पूरै सडक कालोपत्र गर्न ठेक्का लाग्ने पनि बताए ।
रुपन्देहीको सालझण्डीबाट सडक अनुगमन गर्दै सदरमुकाम आएका मन्त्री लम्साल सन्धिखर्क हुदैँ गुल्मीको मदाने हुदैँ ढोरपाटन सम्म सड्कको अनुगमन गरेका हुन् । सड्कको सुरुवात सालझण्डीदेखी ढोरपाटनसम्म नै पुगेका मन्त्रीले सडकको अवस्था, निर्माण व्यवसायीले गरेको काम अनुगमन गरेका हुन् ।
कालोपत्र गर्न बाँकी रहेको १ सय ४० किलोमिटर सडक खण्डको यसैवर्ष ठेक्का प्रक्रिया अघि बढाइने उनले बताए । ‘सडकमा बजेट अभाव हुँदैन, पुरै सडकलाई कालोपत्रे गर्न यसैवर्ष ठेक्का हुन्छ,’ ‘काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गर्छौं । काम द्रुत गतिमा अगाडि बढ्छ ।’
सडक योजना प्रमुख गगालबहादुर भण्डारीले सडकको हालसम्म भएको भौतिक प्रगति, निर्माण व्यवसायीले काम नगरेर ठेक्का तोड्नुपर्दा काममा ढिलासुस्ती भएको, सडकको महत्त्व र पर्याप्त बजेट नहुँदा निर्माणको गति सुस्त भएको जस्ता समस्या मन्त्री लम्साललाई सुनाएका थिए ।
एकैदिन हिमाल, पहाड र तराई जोड्ने पर्यटकीय मार्ग हो । बाग्लुङको ढोरपाटनमा सिकार आरक्ष रहेको छ । त्यहाँ सिकार खेल्न तथा घुम्नलाई स्वदेशी तथा विदेशी पर्यटकलाई यात्राको लागि सहज र छोटो सडक मानिन्छ ।
सरकारले २०६५ सालमा नेपालको एक मात्र ढोरपाटन सिकार आरक्ष तथा पर्यटकीय क्षेत्रलाई तराई र अन्य सहरसँग जोड्ने उद्देश्यले सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणको बहुवर्षे योजना अघि सारेको हो ।















