
- अर्घाखाँचीको डिर्भनामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सय जनाले सेवा लिएका छन्।
- विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य जाँचका साथै औषधि र भिडियो एक्स–रे लगायतका सेवा प्रदान गरियो।
- इलाईट हेल्थ क्लिनिकको आयोजनामा भएको शिविरले ग्रामीण भेगका बासिन्दालाई राहत मिलेको छ।
अर्घाखाँची, ८ भदौ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ डिर्भनामा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट करिब ५०० जना सेवाग्राही लाभान्वित भएका छन्। इलाईट हेल्थ क्लिनिक बुटवलको आयोजनामा सञ्चालन गरिएको शिविरमा स्थानीय बासिन्दाले विभिन्न स्वास्थ्य सेवा तथा चिकित्सकीय परामर्श निःशुल्क रूपमा प्राप्त गरेका हुन्।
शिविरमा जनरल फिजिसियन डा. तिकलराम भट्टराई, हार्डजोर्नी तथा नशारोग विशेषज्ञ डा. संजीव आचार्य, रेडियोजोलिस्ट डा. कविराज भुसाल, नाक कान घाटीरोग विशेषज्ञ डा. सन्ध्या बन्जाडे, डा. शिशिर गैरेले सेवाग्राहीको स्वास्थ्य जाँच गरेका थिए ।
इलाईट हेल्थ क्लिनिकका सञ्चालक जनक कुँवरको जन्मदिनको अवसर पारेर आयोजना गरिएको शिविरमा स्थानीय नागरिकको उल्लेख्य सहभागिता रहेको थियो। ग्रामीण क्षेत्रमा रहेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको शिविरले स्वास्थ्य परीक्षणका लागि टाढा जानुपर्ने बाध्यता हटेको हो ।
शिविरमा निःशुल्क भिडियो एक्स–रे, औषधि, ईसीजी, सुगर परीक्षण तथा स्वास्थ्य परीक्षण लगायतका सेवा उपलब्ध गराइएको थियो। विभिन्न स्वास्थ्य समस्या भएका सेवाग्राहीले स्वास्थ्यकर्मीबाट आवश्यक परामर्श तथा उपचारसम्बन्धी सुझावसमेत लिएका थिए।
स्वास्थ्य परीक्षणका क्रममा सामान्य स्वास्थ्य समस्या भएका बिरामीलाई आवश्यक औषधि तथा स्वास्थ्यसम्बन्धी सुझाव प्रदान गरिएको थियो भने थप उपचार तथा विशेषज्ञ सेवाको आवश्यकता देखिएका सेवाग्राहीलाई सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्न सुझाव दिइएको थियो।
स्थानीय स्तरमै विशेषज्ञसहितको स्वास्थ्य सेवा उपलब्ध भएपछि डिर्भना तथा आसपासका क्षेत्रका नागरिकले शिविरबाट प्रत्यक्ष लाभ लिएका थिए। विशेषगरी नियमित स्वास्थ्य परीक्षण गराउन नसकेका तथा सामान्य स्वास्थ्य समस्या लिएर बसेका नागरिकका लागि शिविर उपयोगी बनेको सहभागीहरूले बताएका छन्।
शिविर सम्पन्न गर्न सन्धिखर्क नगरपालिका परिवार, सन्धिखर्क नगरपालिका–११ र १२ नम्बर वडा कार्यालय परिवार, सन्धिखर्क नगरपालिकाको स्वास्थ्य शाखा, डिर्भना स्वास्थ्य चौकी तथा विभिन्न सहयोगी संस्थाहरूले सहयोग गरेका थिए। आयोजक इलाईट हेल्थ क्लिनिकले शिविर सफल बनाउन सहयोग गर्ने सबै संस्था तथा व्यक्तिप्रति इलाईट हेल्थ क्लिनकका प्रबन्ध निर्देशक जनक कुँवरले धन्यवाद व्यक्त गर्नुभयो ।
शिविरका लागि ग्लोबल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बुटवल, पश्चिम नेपाल विकास ट्रष्ट तथा लायन्स क्लब अफ अर्घाखाँची लगायतका संस्थाले सहयोग गरेका थिए। स्वास्थ्य सेवा नागरिकको आधारभूत आवश्यकता भएकाले स्थानीय तह तथा स्वास्थ्य संस्थाहरूबीचको सहकार्यमा यस्ता शिविर सञ्चालन गर्न सके ग्रामीण क्षेत्रका नागरिकले समयमै स्वास्थ्य सेवा पाउन सक्ने सहभागीहरूको भनाइ छ।
आयोजकका अनुसार शिविर केवल स्वास्थ्य परीक्षणमा सीमित नभई नागरिकमा नियमित स्वास्थ्य जाँचको आवश्यकता र स्वस्थ जीवनशैलीबारे सचेतना अभिवृद्धि गर्ने अवसरसमेत बनेको छ। इलाईट हेल्थ क्लिनिकले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्थानमा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि आवश्यकता र सम्भावनाका आधारमा ग्रामीण तथा पहुँचबाट टाढा रहेका समुदायलाई लक्षित गरी स्वास्थ्य सेवा तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता आयोजकले जनाएको छ।
यसरी डिर्भनामा आयोजित निःशुल्क स्वास्थ्य शिविरले एकै दिन करिब ५०० नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्थानीयस्तरमै सहज र पहुँचयोग्य स्वास्थ्य सेवाको आवश्यकता थप उजागर गरेको छ। सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गरेको कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष चेतनारायण आचार्य, १२ नं. वडाका अध्यक्ष नारायण खड्का, सन्धिखर्क नगरपालिका स्वास्थ्य निरिक्षक प्रकाश परियार लगाएतको सहभागीता रहेको थियो ।















