काठमाडौं, जेठ ३१ । संस्कृत भाषा केवल अतीतको गौरवगाथा नभई भविष्यको ज्ञान, विज्ञान र नवप्रवर्तनको आधार पनि बन्न सक्छ भन्ने सन्देशसहित ‘जयतु संस्कृतम्’ संस्थाद्वारा आयोजित उपत्यकाव्यापी अन्तरविद्यालयस्तरीय संस्कृत वक्तृत्वकला प्रतियोगिता शनिबार वाल्मीकि विद्यापीठ, काठमाडौंमा भव्यतापूर्वक सम्पन्न भएको छ।
वि.सं. २००४ सालमा संस्कृत शिक्षाको संरक्षण, संस्कृत शिक्षक तथा विद्यार्थीका अधिकारको सुनिश्चितता र संस्कृत शिक्षामा देखिएका विभेद अन्त्य गर्ने उद्देश्यले तत्कालीन राणा शासनविरुद्ध सञ्चालित ऐतिहासिक आन्दोलनको गौरवपूर्ण स्मृतिस्वरूप स्थापित ‘जयतु संस्कृतम्’ संस्थाले आफ्नो ८०औँ वार्षिकोत्सव मनाइरहेको सन्दर्भमा उक्त कार्यक्रम आयोजना गरेको हो। वार्षिकोत्सवका अवसरमा संस्थाले सञ्चालन गरिरहेका विविध प्राज्ञिक तथा बौद्धिक कार्यक्रममध्ये यो प्रतियोगिता विशेष आकर्षणको केन्द्र बनेको थियो ।
प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेपलाञ्चोकका गुरुकुल, संस्कृत माध्यमिक विद्यालय, सामुदायिक तथा निजी विद्यालयका २१ जना छात्रछात्राले सहभागिता जनाएका थिए। सहभागीहरूले संस्कृत भाषामै गहन चिन्तन, तार्किक विश्लेषण र प्रभावकारी अभिव्यक्तिसहित आफ्नो वक्तृत्वकला प्रस्तुत गरेका थिए ।
प्रतियोगिताका लागि आयोजकले समसामयिक तथा विचारोत्तेजक तीन विषय निर्धारण गरेको थियो—
‘सुसाङ्ख्ये कृत्रिममेधायाञ्च संस्कृतभाषा’
‘नेपालराष्ट्रनिर्माणे वर्धमान उत्साह’
‘संस्कृतभाषा दक्षिणैशियाक्षेत्रस्य द्वितीयसम्पर्कभाषा’
विद्यार्थीहरूले संस्कृत भाषा, कृत्रिम मेधा, राष्ट्रनिर्माण तथा क्षेत्रीय भाषिक सहकार्यजस्ता समकालीन विषयमा प्रस्तुत गरेका विचारले संस्कृत भाषा आधुनिक युगका विमर्शहरू अभिव्यक्त गर्न सक्षम र सान्दर्भिक माध्यम रहेको सन्देश प्रवाह गरेको थियो।
समारोहको अध्यक्षता संस्थाका अध्यक्ष डा. बद्रीप्रसाद पोखरेलले गर्नुभएको थियो । संस्थाका महासचिव प्रा.डा. नवराज कट्टेलले स्वागत मन्तव्य व्यक्त गर्दै ‘जयतु संस्कृतम्’ आन्दोलनको ऐतिहासिक पृष्ठभूमि र संस्थाका वर्तमान गतिविधिबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय प्राध्यापक सङ्घका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछाने, सहप्राध्यापक डा. केशवशरण अर्याल, उपप्राध्यापक डा. उमेशप्रसाद घिमिरे तथा उपप्राध्यापक शिवराज लामिछानेलगायतको विशेष आतिथ्य रहेको थियो ।
वाल्मीकि विद्यापीठ न्याय विभागका उपप्राध्यापक डा. वैकुण्ठ घिमिरे र उपप्राध्यापक सुदर्शन नेपाल निर्णायक रहनुभएको प्रतियोगितामा वाग्गुरुकुलकी आँचल बस्याल प्रथम, विपिन दाहाल द्वितीय तथा आर्षराज अर्याल तृतीय हुन सफल हुनुभयो। त्यसैगरी विपिन रिजाल (कान्ति भैरव गुरुकुल) र संस्कृत लामिछाने (मोक्षदा स्कुल) ले प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभयो ।
कार्यक्रममा वक्ताहरूले संस्कृत भाषाको संरक्षण, संवर्द्धन र समुन्नयनमा ‘जयतु संस्कृतम्’ले पुर्याएको ऐतिहासिक योगदानको प्रशंसा गर्दै नयाँ पुस्तामा संस्कृतप्रतिको बढ्दो आकर्षण उत्साहजनक रहेको धारणा व्यक्त गर्नुभयो। सहभागी विद्यार्थीहरूको भाषिक दक्षता, विषयगत गहिराइ र आत्मविश्वासपूर्ण प्रस्तुतिले संस्कृत शिक्षा केवल परम्पराको संवाहक मात्र नभई नवचिन्तन, अनुसन्धान र ज्ञान–सिर्जनाको उर्वर भूमि बन्न सक्ने विश्वास थप सुदृढ बनाएको वक्ताहरूको भनाइ थियो ।
प्रतियोगिता सम्पन्न भएपछि सभापति डा. पोखरेलले विजयी तथा सहभागी सम्पूर्ण विद्यार्थी, विद्यालय परिवार, अभिभावक, अतिथि र सहयोगीहरूप्रति हार्दिक बधाई, शुभकामना तथा आभार व्यक्त गर्नुभयो । उहाँले संस्कृतप्रतिको आकर्षण विस्तार गर्न र नयाँ पुस्तालाई संस्कृत अध्ययनतर्फ प्रेरित गर्न यस्ता कार्यक्रमहरू प्रभावकारी माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो ।
रामरञ्जन पौडेलको सहजीकरण तथा शिक्षक विजय पण्डितको सशक्त उद्घोषणमा सम्पन्न उक्त कार्यक्रमले संस्कृतको गौरवशाली परम्परा र समकालीन उपयोगिताबीचको सेतु निर्माण गरेको अनुभूति गराएको छ। विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिता, विचारको परिपक्वता र अभिव्यक्तिको ओजले संस्कृतको भविष्य केवल उज्यालो मात्र नभई असीम सम्भावनाले भरिपूर्ण रहेको सन्देश पुनः एकपटक स्थापित गरेको छ । जयतु संस्कृतम् ।
जयतु संस्कृतसंस्कृतिः।














