
- आज वा भोलिसम्ममा मनसुन देशका बाँकी सबै स्थानमा विस्तार हुने सम्भावना छ।
- देशका अधिकांश भू-भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ।
- कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ । आजै वा भोलिसम्म देशका बाँकी स्थानमा पनि मनसुन पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आज सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार मनसुन पुग्न बाँकी रहेका गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण स्थानमा पनि मनसुनी वायु सोमबार वा मंगलबारसम्म विस्तार हुने सम्भावना देखिएको हो।
आज यस्तो छ वर्षाको सम्भावना
२०८३ असार १५ गते (सोमबार)
दिउँसोः देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थानमा,कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको तथा देशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
रातिः देशभर साधारणतया बादल लाग्नेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा कर्णाली, सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थान, मधेस प्रदेश तथा बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ।कोसी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेस प्रदेशका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।














