
- राष्ट्रिय वाणिज्य बैंकले पछिल्लो पाँच वर्षमा व्यावसायिक विस्तार र सेवामा उल्लेखनीय सुधार गरेको छ।
- बैंकको निक्षेप २४ प्रतिशतले बढेर ६ खर्ब २६ अर्ब पुगेको छ भने बजार हिस्सा ७.५९ प्रतिशत पुगेको छ।
- आर्थिक मन्दीका बाबजुद बैंकले कर्जा लगानीमा पनि आफ्नो बजार हिस्सा ५.७४ प्रतिशतसम्म पुर्याएको छ।
काठमाडौं– मुलुकमा सबैभन्दा बढी सरकारी कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पछिल्लो पाँच वर्षमा व्यावसायिक विस्तार, निक्षेप संकलन, बजार हिस्सा वृद्धि तथा ग्राहक सेवाको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । चुनौतीपूर्ण आर्थिक परिवेशका बीच बैंकले वित्तीय अनुशासन, जिम्मेवार बैंकिङ अभ्यास तथा जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै व्यावसायिक आधारलाई थप सुदृढ बनाउँदै लगेको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बताए ।
प्रमुख कार्यकारी अधिकृत खनाललका अनुसार, आव २०७८/७९ मा बैंकिङ क्षेत्रको कर्जामा ४.८१ प्रतिशत बजार हिस्सा ओगटेको बैंकले आव २०८२/८३ चैत मसान्तसम्म आइपुग्दा ५.७४ प्रतिशत बजार हिस्सा कायम गर्न सफल भएको छ । बैंकले पछिल्लो समय समग्र बैकिङ बजारमा आफ्नो हिस्सा बढाउँदै गएको छ । समग्र अर्थतन्त्रमा कर्जाको मागमा उत्साह नभएको हालको अवस्थामा पनि बैंकले समग्र बैंकिङ उद्योगको तुलनामा उच्च कर्जा वृद्धि गर्न सफल भएको छ ।















