
- कांग्रेस नेता सुशील भट्टले असन्तुष्ट नेता तथा कार्यकर्तासँग संवाद गरी पार्टीमा फर्काउनुपर्नेमा जोड दिएका छन्।
- आगामी निर्वाचनका लागि युवालाई आरक्षणभन्दा पनि अवसर सिर्जना गरी दक्ष बनाउनुपर्ने उनको भनाइ छ।
- बाढीपीडितको राहत, सुकुम्बासी व्यवस्थापन र महंगी नियन्त्रण गर्न सरकारलाई थप घचघच्याउनुपर्ने उनले बताएका छन्।
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशील भट्टले पार्टीसँग चित्त दुखाएका नेता कार्यकर्ताहरुसँग संवाद थाल्नुपर्नेमा जोड दिएका छन् । मंगलबार बसेको पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै कांग्रेसका युवा नेता समेत रहेका भट्टले सो धारणा राखेका हुन् । अब स्थानीय र प्रदेशको चुनाव लक्षित तयारीमा पार्टी लाग्नुपर्ने बताउँदै उनले विभिन्न कालखण्डमा पार्टीसँग असन्तुष्ट भएका नेता कार्यकर्ताहरुसँग सम्वाद गरेर पुनः पार्टीमा फिर्ता ल्याउनुपर्ने उनको भनाइ रहेको छ । ‘अब विस्तारै स्थानीय र प्रदेश चुनाव आउँदैछ त्यसको तयारीमा हामी जुट्नुपर्छ, चुनावको तयारीमा जुट्नु मात्र महत्वपूर्ण होइन । किनकी हिजो विभिन्न कालखण्डमा हामीसँग रिसाएर पार्टी बाहिर बसेका साथीहरुलाई पुनः घर फर्काउने गरी संवाद थाल्नुपर्छ, त्यसबारे म नेतृत्वको ध्यानाकषर््ण गराउँदछु,’ नेता भट्टले भने ।
यसैगरी नेता भट्टले आगामी स्थानीय र प्रदेशको निर्वाचनमा युवाहरुलाई आरक्षण भन्दा पनि अवसर सिर्जना गर्नुपर्ने बताए । १५औँ महाधिवेशनबाट पार्टी केन्द्रीय समितिमा आएका नयाँ पुस्ताका नेताहरुलाई केन्द्रित गरेर प्रशिक्षणको कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ रहेको छ । ‘निर्वाचनमा युवाहरुलाई आरक्षण वा कोटा छुट्टाउने होइन । युवालाई दक्ष बनाउने र आफैँ अवसरको खोजी गर्न सक्ने जनशक्ति पार्टीले निर्माण गर्नुपर्नेछ,’ उनले भने, ‘अहिले केन्द्रीय समितिमा हामी धेरै नयाँ साथीहरु आएका छौँ । खासगरी नयाँ पुस्तालाई प्रतिनिधित्व गर्दै पार्टी केन्द्रीय समितिमा जोडिएका साथीहरुलाई प्रशिक्षित गरेर थप सशक्त बनाउन जरुरी छ ।’ उनले विभिन्न विषयमा पार्टीको केन्द्रीय समिति मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।
भोटेकोशी बाढीदेखि बूढीगण्डकी बाढी प्रभावितहरुका लागि सरकारले उचित ढंगले काम गर्न नसकेकोमा पार्टीको तर्फबाट सरकारलाई थप घच्घच्याउनका लागि आग्रह गरे । ‘पार्टी सभापतिज्यू भोटेकोशी बाढी प्रभावित स्थलको अवलोकन गरेर फर्किनुभएको छ । त्यसबारे उहाँका केही धारणा पनि हामीले सुन्यौँ कि जनताले सास्ती भोगिरहेका छन् भन्ने । त्यसो त असोज २५ को बूढीगण्डकी बाढी प्रभावितलाई सरकारले राहत उपलब्ध गराउन सकेको छैन । पुनर्स्थापनाका काम अघि बढेनन् । सरकारी कोषमा पैसा छ तर पीडितको हातमा राहत रकम पुगेको छैन,’ उनले भने, ‘सभापतिज्यू, पदाधिकारी तथा सदस्य साथीहरु र सांसदमा प्रतिनिधित्व गर्ने साथीहरु हाम्रो ध्यान अब सरकारलाई घचघच्याउने र बाढी प्रभावित नागरिकहरुको समस्या समाधानका लागि पहल गर्नेमा केन्द्रित हुनुपर्ने देखिन्छ ।’
यसैगरी काठमाडौंमा नदी किनारबाट हटाइएका सुकुमबासीहरुको उचित व्यवस्थापन हुन नसकेको विषयमा समेत उनले पार्टी मार्फत सरकारको ध्यानाकर्षण गराए । ‘सरकारले हतारो गरी काठमाडौंका सुकुमबासीहरुलाई हटायो तर व्यवस्थापन गर्न भने सरकार पूर्ण रुपमा चुकेको छ । त्यसका लागि केन्द्रीय समितिदेखि संसद र परिआए सडकमा पुगेर भए पनि सुकुमबासीको समस्या समाधानका लागि सरकारलाई घच्घच्याउनुपर्छ,’ उनले भने । सुशासनको नारा दिएर आएको सरकार महंगी नियन्त्रण गर्नबाट पूर्ण रुपमा चुकेको उनको भनाइ रहेको छ ।
साथै महंगीका कारण नागरिकहरुको जनजीवन दैनन्दिन बन्दै गइरहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ रहेको छ । उनले प्रधानमन्त्रीको हालैको भारत भ्रमणबाट हवाइ रुट लगायतका केही विषय महत्वपूर्ण रहे पनि सीमा विवादका विषयमा सरकारको त्रुटी देखिएको टिप्पणी गरे ।















