काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले नेपालको शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउन महत्वपूर्ण भूमिका हुने बताएका छन् । आइतबार सिंहदरबारस्थित कार्यकक्षमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटपछि उनले सञ्चारकर्मीमाझ सो प्रतिक्रिया दिएका हुन् ।
नेपालको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राष्ट्र संघका महासचिव गुटेरेसको नेपाल भ्रमणबाट त्यसलाई टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय समूदायको पनि महत्वपूर्ण सहयोग हुने विश्वास व्यक्त गरे । उनले त्यस अवसरमा जलवायु परिवर्तनले नेपालमा पारेको असर न्यूनीकरणका लागि महासचिव गुटेरेसले खेलेको भूमिकाको उच्च प्रशंशा गर्दै आगामी दिनमा अझ धेरै सहयोगको पनि अपेक्षा गरिएको बताए ।
प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको नेपाल भ्रमणबाट मुलुकको समृद्धि र विकासका लागि थप अन्तर्राष्ट्रिय सहयोग प्राप्त हुने विश्वास समेत व्यक्त गरे । महासचिव गुटेरेसले आफूसँग विश्व शान्तिका लागि नेपाली सेना र नेपाल प्रहरीले खेलेको भुमिकाको प्रशंशा गरेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले आगामी दिनमा उनीहरुको योगदानको उचित सम्मान हुने विश्वास व्यक्त गरे ।