रुकुम पश्चिम र जाजरकोट । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ चाइना बगरमा भत्किएका घरछेउमा लहरै राखिएका त्रिपाल छेउछाउ कोही पारिलो घाममा यत्तिकै बसिरहेका छन् त कोही कामकाज गर्दै छन् । एउटा त्रिपाल नजिकै रेडियोमा बजिरहेको छ, ‘भैलिनी आइन् आँगन, गुनियो चोली मागन….हे औंसी बार गाईतिहार भैलो…. ।’
भूकम्पपीडितको आँगनमा चेली न भैली
तिहार सुरु भएसँगै रेडियोमा बजेको यो गीतअनुसारको कुनै माहोल छैन यस ठाउँमा । स्थानीय आइती पुन भन्छिन्, ‘रेडियोमा तिहारका गीत बज्छन् । मन धुरुधुरु रुन्छ । हामीलाई त यो बेला के तिहार, के चाडबाड ?’ तिहार सुरु भइसके पनि रुकुम पश्चिमका भूकम्पपीडितहरूमा चाडको कुनै रौनक
छैन । आफन्त र घरबास गुमाएकाहरू कसरी दिन कटाउने र प्राण जोगाउने भन्ने पीरमा छन् । आठबिसकोट नगरपालिका–१४ की मनकला महतराले सुनाइन्, ‘दसैंपछि तिहारको पर्खाइ त थियो तर त्योभन्दा अघि नै भूकम्पले केही बाँकी राखेन ।’
झन्डै ५ वर्षपछि असोज अन्तिम साता जाजरकोटको नलगाड नगरपालिका–१ च्युरीगाउँका भीमसेन विक दसैं मान्न घर फर्किए । भारतमा एक्स्काभेटर चलाउने उनी परिवारसहित उतै बस्थे । तिहार मानेर फर्किने योजनासहित पत्नी कमला र ४ वर्षीय छोरा सञ्जय लिएर गाउँ आएका भीमसेनको परिवार नै गत शुक्रबारको भूकम्पमा अस्तायो । ‘परिवारको सहारा नै उही थियो, तिहार मानेर फर्किन्छु भन्यो, दसैं मात्र मानेर फर्किएको भए परिवार बच्ने रहेछ,’ उनका ५० वर्षीय बाबु हस्तबहादुर विकले भने, ‘न परिवार रह्यो, न सम्पत्ति नै । पूरै गाउँले एकसरो त्रिपाल र कम्बलको भरमा रात बिताउन बाध्य छौं ।’
छोरा, बुहारी र नाति एकै झमटमा गुमाएका हस्तबहादुर अहिले पत्नी महिमीसँग छन् । भूकम्पमा परी च्युरीगाउँका मात्रै १३ जनाको ज्यान गयो । सबैको सामूहिक अन्त्येष्टि गरिएयता गाउँ पूरै शोकमा डुबेको छ । ‘यहाँ कोही पनि तिहार मनाउने अवस्थामा छैनौं,’ स्थानीय अगुवा सुरेश विकले भने, ‘१०र१५ परिवारका दरले सामूहिक रूपमा बारीमा बसिरहेका छौं, पुरिएका सामान काम नलाग्ने भएपछि राहतको त्रिपाल र कम्बलले चिसो रात थेग्नै मुस्किल भइरहेको छ ।’ झन्डै ८० घरधुरी रहेको च्युरीगाउँमा तिहारको सुरसार त छैन नै, खेतीपातीको काम पनि ठप्प छ । दसैंपछि अधिकांश स्थानीय खेत जोत्ने र गहुँ छर्ने तयारीमा थिए । यहीबेला भूकम्प आएपछि खेतबारीको काम त्यसै लथालिंग भएको अर्का युवा बलवीर विकले बताए । आजको कान्तिपुर दैनिकमा खबर प्रकाशित छ ।