१ असोज २०८१, मङ्लबार
१ असोज २०८१, मङ्लबार
spot_img

नेपाल र भारतको अन्ताराष्ट्रिय संस्कृत सम्मेलन -२०८०

डा. उमेशप्रसाद घिमिरे, वि.सं. २०८० चैत्र १४ , १५ र १६ गते नेपाल भारतका संस्कृत विद्वानहरूको उल्लेख्य तथा सक्रिय समुपस्थितिमा नेपालको काष्ठमण्डपस्थित भिलेजपार्क, बुढानीलकण्ठमा त्रिदिवसीय अन्ताराष्ट्रिय संस्कृत सम्मेलन सम्पन्न भयो । उक्त संस्कृत सम्मेलन नीति अनुसन्धान प्रतिष्ठान , इण्डिया फाउण्डेसन र केन्द्रीय संस्कृत विश्वविद्यालयको संयुक्त आयोजनामा गरिएको थियो । तीन दिनमा क्रमश: उद्घानसत्र , परिचर्चासत्र र समापनसत्र गरी मूलरूपमा सम्मेलन विभक्त थियो । अत्यन्त भव्य , सभ्य र गरिमामय उक्त त्रिदिवसीय संस्कृत सम्मेलनका सम्बन्धमा यस संक्षिप्त यस आलेख/प्रतिवेदनमा पृथक्पृथक् सर्वेक्षणात्मक तथा विवरणात्मक परिचय प्रस्तुत गरिएको छ ।
अन्ताराष्ट्रियनेपालभारतसंस्कृतसम्मेलनम् – उद्घाटनसत्र
काष्ठमण्डपः वि.सं २०८० चैत्र १४ गतेका दिन बुढानीलकण्ठ,काठ्माडौँमा आयोजित संस्कृत सम्मेलनको उद्घाटन समारोह सम्पन्न भएको थियो । उक्त समारोहको सभाध्यक्षता नीति अनुसन्धान प्रतिष्ठानका संयोजक केशवराज पन्थीज्यूले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल सरकारका ऊर्जामन्त्री माननीय श्री शक्तिबहादुर बस्नेत उपस्थित हुनुभएको थियो । त्यसैगरी विशिष्ट अतिथि तथा वक्ताहरूमा कुलपति प्रो श्रीनिवास वरखेडी(केन्द्रीय संस्कृत विश्वविद्यालय) , उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने (नेपाल संस्कृत विश्वविद्यालय) प्रो.शशीप्रभाकर , बीजवक्ता प्रा.डा. काशीनाथ न्यौपाने आदि रहनुभएको थियो ।
डा. नारायण बरालको वैदिक मङ्गलाचरण तथा प्रमुख अतिथिको दीपप्रज्वलनबाट प्रारम्भ भएको उक्त समारोहमा आयोजक संस्थाशरूका तर्फबाट डा. दीपक कुमार अधिकारी (निर्देशक: नीति अनुसन्धान प्रतिष्ठान)ले स्वागत गर्नुभएको थियो । उहाँले नेपाल र भारत दुवै देश संस्कृतको जननी देश हुन् भने नेपाल आयुर्वेदको जननी राष्ट्र समेत हो । भारतबाट सहभागी संस्कृतसेवी मनीषिहरूलाई पाशुपत क्षेत्रमा स्वागत अभिनन्दन गर्दै बुढानीलकण्ठको सान्निध्यमा अनुष्ठान आरम्भ भएको र पशुपतिदर्शन पश्चात् पूर्णाहुति हुने जानकारी दिनुभएको थियो ।
प्रा.डा. काशीनाथ न्यौपानेज्यूले बीजमन्तव्य राख्ने क्रममा नेपालको तीर्थस्थल भारत र भारतको तीर्थस्थल नेपाल भौगोलिक तथा राजनीतिक दृष्टिले भिन्न भिन्न राष्ट्र हुन् तर संस्कृत तथा संस्कृतिका दृष्टिले अभिन्न राष्ट्र हुन् भन्दै नेपालमा अमूल्य निधिका रूपमा संस्कृत पाण्डुलिपि ग्रन्थहरु सम्पादन र प्रकाशन गर्न नेपाल र भातको सहकार्य अपरिहार्य रहेको विचार राख्नु भएको थियो ।
प्रो . शशीप्रभाले शुभकामना मन्तव्यका क्रममा भगवान् बुद्ध र माता जानकीको जन्मभूमि नेपाल भारतको पनि तीर्थस्थल रहेको बताउँदै नेपाल भारतको सांस्कृतिक सम्बन्धमा ५ हेतु (पञ्चहेतवः) प्रदर्शन गर्नु भएको थियो ।
वैदिक संस्कृति नगाधिराज हिमालयद्वारा संरक्षित छ र (अस्त्युतरस्यां दिशि देवतात्मा, हिमालयो नाम नगाधिराज:)
उतुङ्ग नामक सगरमाथा /एभ्रेष्ट हिमाल नेपालमै अवस्थित हुनु, २. अर्को महत्वपूर्ण सम्बन्धसूत्र भनेको बौद्धदर्शनको उद्गमस्थल नेपाल हो । विश्वकै ज्योति भगवान् गौतमबुद्धको जन्मभूमि भएकाले नेपाल भारतको तीर्थस्थल बनेको छ । विक्रम संवत् पनि नेपाल र भारतको सम्बन्ध सूत्र बनेको छ।
विश्वमा नेपाल र भारतमा मात्र वि.सं प्रचलित छ। कालगणना , ज्योतिषशास्त्रादि दुबै देशमा समान रहेको छ । ४. विभिन्न पर्व, उत्सव, परम्परा पनि नेपाल र भारतको सम्बन्ध सूत्र हो । दुबै देशका सांस्कृतिक चाडपर्वमा समानता रहेको छ । दुवै देशमा रीतिरिवाज , भेषभूषा, रहनसहनमा एकरूपता वा समानता रहेको छ । दुबै देशमा गुरुपूर्णिमा , रक्षाबन्धन, होलीपर्व, दीपावलीपर्व, नवदुर्गापर्व सरस्वती पञ्चमी नववर्ष,शिवरात्रि,छठ पर्व, रामनवमी आदि समानरूपले मनाइने गरिन्छ ।
त्यसै गरी दुवै देशका ध्येय वाक्यमा समेत समानता देखिन्छ । नेपालको ध्येय तथा आदर्शवाक्य ´जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसि` रहेको छ भने भारतको ध्येय वाक्य ´सत्यमेव जयते नानृतम्` रहेको छ । ´वसुधैव कुटुम्बकम्` लाई आत्मसाथ गर्दै नेपाल र भारत दुवै राष्ट्र अघि बढेकाले हामीबीच सांस्कृतिक एकता रहेको छ । यसप्रका पाँच सम्बन्धसूत्रलाई प्रतिपादन गर्दै प्रो. शशीप्रभाज्यूले नेपाल र भारत सांस्कृत दृष्टिले सर्वदैव अविभाज्य रहने विचार राख्नु भएको थियो ।
त्यसैगरी समारोहका विशिष्टअतिथि तथा नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव प्रकाश लामिछानेज्यूले शुभकामना मन्तव्य राख्ने क्रममा संस्कृतको महत्त्व र जीवनोपयोगित्व दर्शाउँदै संस्कृत नेपाल र भारतको समान सम्पत्ति भएकाले दुवै देश मिलेर संस्कृतको प्रचार प्रसार तथा सम्बर्द्धनका लागि अध्ययन अनुसन्धानमा जोड दिनुपर्ने बताउनु भएको थियो ।
त्यसैगरी समारोहका मुख्य वक्ता प्रो. श्रीनिवास वरखेडी (कुलपति: केन्द्रीय संस्कृत विश्वविद्यालय)ज्यूले शुभकामना मन्तव्यका क्रममा नेपाल र भारत भनेको दुई शरीर तर एउटै आत्मा भएका देश हुन् , विकसित भारत बन्दै गर्दा नेपाललाई पनि सहयात्रामा जुटाई विकसित बनाउनु पर्ने जरुरी रहेको छ , विकासको मूल भनेको शिक्षा हो , संस्कृतको उत्थान गर्न सक्यौँ र पौरस्त्य शिक्षापद्धति अङ्गीकार गरी अघि बढ्न सक्यौँ भने हामी दुवै राष्ट्र समृद्ध हुने , भारवर्षभित्र नेपाल र भारत दुवै देश अटाउने , वैदिक धर्म र बौद्ध धर्मको उद्गमस्थल नेपाल भएकाले सनातन राष्ट्रका रुपमा सर्वदा अविजेय स्वतन्त्र राष्ट्र नेपाल भएको, सीताको जन्मभूमि नेपाल मर्यादा र अनुशासन पालना गर्ने देश रहेको, संस्कृत प्राचीन भाषामात्र नभई नेपाल र भारतको भविष्य संस्कृत नै भएको विचार राख्दै कुलपति बरखेडीले संस्कृतको संरक्षणार्थ १. नयाँ पाठ्यक्रम निर्माण गर्नुपर्ने , २.संस्कृतमा छोटाछोटा भिडियो बनाउनुपर्ने , ३. सामाजिक अभियान चलाउनुपर्ने जस्ता महत्त्वपूर्ण सुझाव दिनुभएको थियो ।
समारोहका विशिष्टातिथि तथा अखिलभारत सङ्गठनकम मन्त्री दिनेशराम कामतज्यूले मन्तव्य राख्ने क्रममा भगवान् विष्णुलाई निर्माण गर्ने नेपाल अर्थात् विष्णुको अमूल्यप्रतिमा शालग्राम शिला नेपाल (कृष्णगण्डकी)मै प्राप्त हुने, भगवान् शिवको आभूषण रुद्राक्ष नेपालमै पाइने भन्दै नेपाललाई आस्थेय देवभूमिका रूपमा चर्चा गर्नु भयो ।
नेपाल र भारत सांस्कृतिक दृष्टिले अन्योन्याश्रित अभिन्न देश हो, ´संस्कृते कि न विद्यते ?` हजारौँ वर्ष अघिदेखि सूर्योदय, मास, पक्ष आदि कालगणना गरिएको ज्योतिषशास्त्रसमेत रहेको संस्कृत नै दुवै राष्ट्रको सम्पत्ति भएकाले संस्कृत पढौँ र पढाऔँ भन्ने आग्रह गर्दै धेरै नेपाली र भारतीय जनताका नाम संस्कृत शब्दमा नै रहेको र नामकरण संस्कारबाटै जीवनको लक्ष्य निर्धारण भइसकेको उल्लेख गर्नु भएको थियो ।
समारोहका प्रमुख अतिथि तथा ऊर्जामन्त्री माननीय शक्तिबहादुर बस्नेतज्यूले नेपाल र भारतको सांस्कृतिक सम्बन्धलाई जोड्ने बलियो माध्यम संस्कृत भाषा र संस्कृति हो भन्ने उल्लेखसहित प्राचीन संस्कृति तथा संस्कृतमा निहित ज्ञान र विज्ञानलाई आधुनिक युग सापेक्ष जीवन पद्धतिसँग जोड्नु पर्ने विचार राख्दै सम्मेलनको पूर्णसफलताको शुभकामना प्रदान गर्नु भएको थियो ।
सभाध्यक्ष केशवराज पन्थी (नीति अनुसन्धान प्रतिष्ठान संयोजक)ज्यूले भारतीय १६ विश्वविद्यालयका कुलपति र नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपतिको समुपस्थिति र ३० भन्दा बढी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको यो संस्कृत सम्मेलन आफैँमा भव्य र गरिमामय बनेको उल्लेख गर्दै आमन्त्रित समस्त अतिथिगणप्रति सादर आभार प्रकट सहित समुद्घाटन समारोहको समापन गर्नु भएको थियो ।
अन्ताराष्ट्रिय संस्कृत सम्मेलन द्वितीय दिवस
मिति २०८० चेत्र १५ गतेे वृहस्पतिवार सम्पन्न संस्कृत सम्मेलनको द्वितीय दिवसको संज्ञा परिचर्चासत्र रहेको थियो ।
उक्त परिचर्चा सत्र विभिन्न उपसत्रहरूमा विभक्त थियो । त्यसमा विभिन्न विद्वानहरूका कार्यपत्र तथा अवधारणा पत्र प्रस्तुत भएका थिए । जसलाई पृथक् पृथक् रूपमा संक्षेपतया यहाँ उल्लेख गरिन्छ ।
प्रथमसत्रको समाध्यक्षमा नेपालका विद्वान् प्रा.डा. काशीनाथ न्यौपानेज्यू रहनु भएको थियो भने वक्ताहरूमा प्रो.डा दिनेश कामत, प्रो.डा विजय कुमार सिजी , प्रो.डा माधवप्रसाद लामिछाने, प्रो.डा लक्ष्मी नारायण पाण्डेय, प्रो.डा श्रीनिवास वरखेडी मञ्चासीन रहनु भएको थियो ।
डा काशीनाथ न्यौपाने स्वागत मन्तव्यबाट प्रारम्भ भएको यस सत्रमा वक्ता १. विजयकुमार सिजीले आफ्नो मन्तव्यका क्रममा संंस्कृतको प्रचार तथा संरक्षणका लागि निम्न ३ पक्ष आवश्यक रहेको बताउनु भएको थियो –
(क) भाषाशिक्षण (भाषाशिक्षणार्थ प्रयास आवश्यक), (ख) शास्त्रशिक्षण (गीता,भागवत आदि शास्त्र शिक्षणार्थ प्रयास आवश्यक ), (ग) जीवनशिक्षण (जीवनोपयोगी संस्कृतको ज्ञान शिक्षण आवश्यक) ।
.प्रा .डा दिनेश कामत (प्रमुख वक्ता)ज्यूले पनि संस्कृतको विकासका लागि संस्कृत किन भन्ने बुझ्न आवश्यक रहेको भन्दै निम्न लिखित ३ सूत्र प्रस्तुत गर्नु भएको थियो –
भाषिक दृष्टिले संस्कृत आवश्यक –
नेपाल भारत मा बोलिने भाषाहरुको जननी भाषा संस्कृत भएकाले नेपाली वा हिन्दी बोल्न जान्नेले संस्कृत सजिलै बोल्न सक्दछ । प्राविधिक युग भएकाले वर्तमानमा प्राविधिक विषयका शब्दहरू संस्कृतमा नै निर्माण गर्नु अत्यावश्यक रहेको छ । जसको अन्यत्र गति छैन ती मात्र संस्कृत पढ्न आउने चलनलाई हटाएर संस्कृत सबैले पढ्नु पर्ने वातावरण तयार गर्नु आवश्यक छ । लर्ड मेकालेको शिक्षा पद्धति स्वीकार गरेकाले हाम्रो जीवनपद्धति , लवाइखवाइ , रहनसहन, चालचलन आदिमा दुर्दशा देखिएको हो । अत: जीवनशैली सुधारका साथै भाषिक दृष्टिले संस्कृत पढ्न आवश्यक छ ।
भावैक्य निर्माणका लागि संस्कृत –
नेपाली वा भारतीयको भावनामा एकता रहेको छ । संस्कृतले नै हामीलाई सहिष्णु बनाएको हो । संस्कृतले नै सबैमा समादरको भाव विकास गर्दछ । संस्कृतले नै सर्वपन्थसमादर हुन्छ । हामीमा मुस्लिम , क्रिश्चियन आदि पन्थसम्प्रदायप्रति पनि समादर भाव विद्यमान छ । राष्ट्रिय भावनाको एकताका लागि संस्कृतको अपरिहार्यता रहेको छ । संस्कृत सबैको भाषा हो , हृद्भाषा हो ।
जातीय भेदभाव अन्त्यका लागि संस्कृत –
संस्कृत ब्राह्मणको मात्र भाषा भन्ने आरोप कपोकल्पित हो ।
अगस्त्य के ब्राह्मण हुन् ? कुम्भोद्भव (टेस्ट्युवेवी)हुन् अनि उनको कुन जात मान्ने ? व्यासकी माता सत्यवती, माझीको घरमा जन्मेकी हुर्केकी हुन् जसको नाम नै मत्स्यग्रन्धा हो । यी सबै पौराणिक सन्दर्भ केलाउँदा संस्कृत कुनै जातविशेषको भाषा नभई सर्वजातीय भाषा हो ।
कुलपति प्रा.डा लक्ष्मी नारायण पाण्डेयले संस्कृतको महत्त्व दर्शाउँदै संस्कृतमा पशुको समूह र मनुष्यको समाज भनिएको छ । वस्तुत: संस्कृत सर्वहितकर छ । पाश्चात्यले हामीलाई रोग दिएको छ भने पौरस्त्यले योग दिएको छ। पहिले संस्कृत भाषा समग्र भारतवर्षको जनभाषा थियो , संस्कृत नै देवभाषा पितृभाषा र राक्षसभाषा समेत हो । अत: अमृतभाषा संस्कृत कहिल्यै मृतभाषा बन्न नसक्ने भन्दै प्रत्येक घरघरमा संस्कृतलाई पुर्याउनुपर्ने , सर्वप्रथम घरका गृहिणी महिलालाई संस्कृत सिकाउनुपर्ने आवश्यकता रहेको बताउनु भयो । वस्तुत: संस्कृत भाषा हो, संस्कृत धर्म हो , संस्कृत संस्कार हो र संस्कृत नै जीवनपद्धति हो ।
 प्रो.डा माधव प्रसाद लामिछाने(कार्यपत्र प्रस्तोता)ज्यूले ´नैपालकशाक्तपरम्परायां भारतीयशाक्ताचार्याणामवदानम्` शीर्षक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाल र भारतको शाक्त परम्परा र आचार्यको योगदानका विषयमा प्रकाश पार्दै नेपालमा विद्यमान संस्कृतका हस्तलिखित ग्रन्थहरुको सम्पादन र प्रकाशनमा नेपाल र भारतले सहकार्य गर्नुपर्ने अवधारणा राख्नु भएको थियो ।
द्वितीय दिवसकै द्वितीय परिचर्चासत्रको विषय ´वेदवेदाङ्ग परम्परा` रहेको थियो । यस सत्रको सभाध्यक्षता प्रो.डा. गौरी माहुरीकरले गर्नु भएको थियो भने प्रो .डा. आनन्दप्रसाद घिमिरे (नेपाली विद्वान्) , प्रो.डा. प्रफुल्ल कुमार मिश्र (भारतीय विद्वान् ) , प्रो. डा.ललितकुमारी त्रिपाठी , प्रो. सत्यम् कुमारी, प्रो रानी सदाशिव , प्रो.उपेन्द्रकुमार त्रिपाठी आदिले वेदवेदाङ्गका विषयमा विमर्श गर्नु भएको थियो ।
 वक्ता प्रफुल्ल कुमार मिश्रज्यूले वेदको अध्यापनार्थ वेद पाठशालाको आवश्यकता दर्शाउँदै भारतका विभिन्न प्रदेश र छिमेकी राष्ट्रमा समेत वेदपाठशाला/गुरुकुल सञ्चालन गर्नुपर्ने बताउनु भयो । त्यसमा पनि तपोभूमि नेपालमा समेत गरुकुल/ वेदशाला खोली संस्कृतको विकास गर्नुपर्ने विचार राख्नु भएको थियो ।
प्रो. रानी सदाशिव मिश्रज्यूले वेदको क्रमान्त , घनान्त, मूलान्त पठनपाठनको आवश्यकता रहेको दर्शाउँदै
देशका संस्कृत विश्वविद्यालयमा पौरोहित्य ल्याव बनाउनुपर्ने विचार राख्नु भएको थियो ।
 प्रो.डा ललितकुमार त्रिपाठीज्यूले भारतलाई राजनीतिक भारत र सांस्कृतिक भारत दुई भागमा विभाजन गरेर हेर्न सकिन्छ , राजनीतिक वा भूगोलका दृष्टिले नेपाल र भारत पृथक् राष्ट्र हुन् तर सांस्कृतिक दृष्टिले नेपाल र भारत राष्ट्रमा एकता रहेको छ भन्ने विचार राख्नु भएको थियो । त्यसैगरी उहाँले नेपाल बौद्धिक केन्द्र हो, ज्ञानभूमि हो भन्ने सप्रमाण पुष्टि गर्नु भएको थियो । नेपालकै धौलागिरि क्षेत्रमा आर्य वाल्मिकी ऋषिले रामायण ग्रन्थको रचना गरेको प्रमाण पुराणमा प्राप्त छ । ´रामायणनाम काव्यं मुनेः परमशोभनम्` भन्दै त्यस्तो ऋषिभूमि ,तपोभूमि , शान्तभूमि नेपाल पनि पछिल्लो समय राजनीतिक कारणले प्रदूषित बन्दै गएको प्रति दुःख /चिन्ता /खेद प्रकट प्रकट गर्नु भएको थियो ।
प्रो. सत्यम् कुमारीज्यूले वेदवेदाङ्गको चर्चा गर्दै वेद नै हामी सबैको धर्मको प्राण हो , वेदार्थको निर्धारणका लागि वेदाङ्ग अध्ययनको आवश्यकता रहेको बताउनु भएको थियो ।
प्रो. उपेन्द्रकुमार त्रिपाठीज्यूले नेपाल र भारतको शरीर भिन्न छ तर आत्मा एउटै छ । न्याय नपाए गोर्खा जानु र विद्या हराए काशी जानू भनेझैँ आज पनि भारतको काशी विद्याको नगरीका रूपमा प्रतिष्ठित छ । आज पनि धर्मसङ्कटमा काशी विद्वानको मत निर्णायक बन्दै आएको छ । काशीनाथ र पशुपतिनाथको एकता झैँ नेपाल र भारत को एकता सिद्ध छ । त्यो एकता गर्ने माध्यम भनेको वैदिक धर्म तथा संस्कृत वा वैदिक वाङ्मय हो भन्ने विचार प्रो.त्रिपाठीले राख्नुभएको थियो ।
 प्रा . डा. आनन्दप्रसाद घिमिरेज्यूले पर्यावरण विज्ञानका विषयमा वेदमा निहित विचारलाई कार्यपत्रमार्फत् प्रस्तुत गर्नु भएको थियो । वेदमा पर्यावरण शुद्ध्यर्थ धेरै चिन्तन प्राप्त छन् भन्दै ´द्यौः शान्तिरन्तरिक्षं शान्ति:..`, ´मधुब्वाता…`, ´विश्वानिदेव…` इत्यादिे वेदमन्त्रहरूको पर्यावरणसम्बद्ध विवेचन गर्नु भएको थियो ।
प्रो.गौरी माहुरीकरले वेदवेदाङ्गको चर्चा गर्ने कममा
वेदाङ्गमध्ये निरुक्त महत्त्वपूर्ण अङ्ग रहेको बताउनु भएको थियो । उहाँले निरुक्तमा काम गर्न नेपाल संस्कृत विश्वविद्यालय र भारतीय विश्वविद्यालय सँगै मिलेर काम ( सहकार्य) गर्ने प्रस्ताव राख्नु भएको थियो । त्यस्तै उहाँले नेपाल नाकभूमि हो , कम् – सुखम् , न कम् -अकम् = दु:खम्, न -अकम् इति नाकम् । तादृशं राष्ट्रं नाकम् । नाकदेश: सुखभूमि: भन्ने व्युत्पत्ति प्रदर्शनपूर्वक नेपाललाई मोक्षभूमिका रूपमा चिनाउनु भएको थियो ।
८. वेदवेदाङ्ग परिचर्चासत्रका सभाध्यक्ष- प्रो. प्रफुल्लकुमार मिश्रज्यूले वेदवाङ्मयको संरक्षणार्थ, वेदको सुरक्षार्थ महत्त्वपूर्ण विचार प्रकट गर्ने विद्वज्जनप्रति आभार प्रकट गर्दै सभा विसर्जन गर्नु भएको थियो ।
इ. द्वितीयदिवसको तृतीय परिचर्चा सत्रको विषय ´राष्ट्रिय शिक्षानीतिको क्रियान्वयन र नेपालमा त्यसको प्रभाव` रहेको थियो । यस सत्रको सभाध्यक्षता श्रीलालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयका कुलपति प्रो.मुरली मनोहर पाठकज्यूले गर्नु भएको थियो भने वक्ताहरूमा १. प्रो. लक्ष्मीनिवास पाण्डेय (कुलपति-कामेश्वरसिंह दरभङ्गा संस्कृत विश्वविद्यालय), २. प्रो.शिशिरकुमार पाण्डेय ( कुलपति- जगद्गुरु रामभद्राचार्य दिव्याङ्ग विश्वविद्यालय), ३. प्रो. सर्वनारायण झा (निर्देशक-केन्द्रीय संस्कृत विश्वविद्यालय), ४. प्रा.डा. भागवत ढकाल(प्राचार्य- नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ)५. डा. प्रकाश तिवारी(आचार्य ने.सं.वि.)
 प्रो. वनमालीविस्वाल (अधिष्ठाता- केन्द्रीय संस्कृत विश्वविद्यालय)रहनु भएको थियो भने परिचर्चा समारोहको
संयोजन/सञ्चालन प्रो. श्रीगोविन्दपाण्डेय (निर्देशक- केन्द्रीय संस्कृत विश्वविद्यालय) ले गर्नुभएको थियो ।
 प्रो.डा.सर्वनारायण झाज्यूले एककालावच्छेदेन छात्रहरू केन्द्रीय संस्कृत विश्वविद्यालयमा विविध विषय पढ्न सक्ने व्यवस्था भएको बताउनु भएको थियो । पाश्चात्य शिक्षा पद्धतिलाई त्यागेर राष्ट्रिय शिक्षानीति (२०२०)अवलम्बनबाट शिक्षामा सुधार गर्ने र समृद्ध भारत बनाउन सकिने विचार राख्नु भएको थियो। एउटै विश्वविद्यालयमा विविध पाठ्यक्रम विकास गरी पठाउन सकिने बताउँदै समृद्ध नेपाल, सुखी नेपाली बनाउनका लागि नेपालले पनि भूमिसापेक्ष नयाँ शिक्षानीति बनाई अघि बढ्नुपर्ने अवधारणा प्रस्तुत गर्नु भएको थियो ।
 प्रा.डा भागवत ढकाल (वाल्मीकि विद्यापीठका प्राचार्य)ज्यूले ´यतो यत: समीहसे`´द्यौ शान्ति:`जस्ता वेदमन्त्रको अनुसरण गर्न सके विश्वमा शान्ति स्थापना गर्न सक्ने विचार राख्दै लर्डमेकाले(२०२८मा) ले लादेकोको शिक्षानीतिले नेपालमा विषम परिस्थिति सिर्जना गरेको प्रो.ढकालले बताउनुभएको थियो । संस्कृत शिक्षाको अभावमा आज घरघरमा समस्या देखा पर्दै गएको विचार राख्दै देश/ माटो/ भूमि वा समाजको आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले नयाँ शिक्षानीति बनाउनु पर्ने तर्क राख्नु भएको थियो । नेपालमा हरेक कार्यका लागि वैदेशिक अर्थराशिको सहयोग लिनुपर्ने बाध्यताले गर्दा आफ्नो स्वतन्त्र शिक्षानीति तथा पाठ्यक्रम निर्माण गर्न नसकिएको यथार्थलाई प्रस्तुत गर्दै
वेदको ´मातृदेवो भव , पितृदेवो भव, आचार्यदेवो भव, स्वाध्यायप्रवचनाभ्याम् न प्रमदितव्यम्` जस्ता दीक्षामन्त्रको अनुसरण गर्न सकेमात्र समाज अनुशासित बन्ने विश्वाससहित संस्कृतको उन्नयनबाट राष्ट्रसमृद्ध बन्ने विचार राखनु भएको थियो ।
डा.प्रकाश तिवारीज्यू ( कार्यपत्र प्रस्तोता )ले
´नेपालभारतयोरात्मीयसम्बन्धस्य मूलं संस्कृतम्` शीर्षक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । विचारप्रस्तुतिका क्रममा नेपाल र भारतको ज्ञानपरम्परा अभिन्न रहेको धारणा राख्दै
शास्त्र परम्पराको विकासका लागि प्रशस्त गुरुकुल, आश्रम, विद्यापीठहरूको स्थापना र सञ्चालन गर्नुपर्ने निष्कर्ष उपस्थापन गर्नुभएको थियो।
सत्रका सभाध्यक्ष प्रो. वी आर शर्माज्यूले तत्कालमा व्रिटिस पाश्चात्यको अधीनमा रहेकाले भारतमा पाश्चात्य शिक्षानीति लागु गर्नु परेको बाध्यतालाई बताउँदै जसका कारणले गर्दा प्राचीन गुरुकुलहरू भारतमा धराशायी भएको उल्लेख गर्नु भएको थियो । वर्तमानमा राष्ट्रिय शिक्षानीति भारतमा आएपछि छुट्टै उत्साह-वृद्धि भएको र भारतीय शिक्षानीति पौरस्त्य शिक्षापद्धति अनुकूल रहेको बताउँदै यसबाट नेपालले पनि आफ्नो भूमिसुहाउँदो पौरस्त्य शिक्षानीति विकास तथा लागु गर्नु पर्ने सुझावसहित तृतीय सत्रको चर्चा सत्रलाई समापन गर्नु भएको थियो ।
द्वितीयदिवसीय परिचर्चाको चतुर्थसत्रमा ´भारत र नेपालमा शास्त्राध्ययनको दशा र दिशा` विषयमा विचारविमर्श गरिएको थियो । वाल्मीकि विद्यापीठका प्रो. शान्तिकृष्ण अधिकारीले उक्त समारोह सञ्चालन गर्नु भएको थियो । समारोहको
सभाध्यक्षता भारतीय दार्शनिक अनुसन्धान परिषद्का सचिव प्रो. सच्चिदानन्द मिश्रज्यूले गर्नु भएको थियो भने वक्ताहरूमा
कविकुलगुरु कालिदास संस्कृत विश्वविद्यालयका कुलपति प्रो. हरेराम त्रिपाठी, सोमनाथ संस्कृत विश्वविद्यालयका कुलपति प्रो.सुकान्तकुमार सेनापति, जगद्गुरु रामानन्दाचार्य राजस्थान संस्कृत विश्वविद्यालयका कुलपति प्रो. रामसेवक दुबे, केन्द्रीय संस्कृत विश्वविद्यालयका निर्देशक प्रो रमाकान्त पाण्डेय, काशी हिन्दू विश्वविद्यालयका आचार्य प्रो.बृजभूषण ओझा र नेपाल संस्कृत विश्वविद्यालयका आचार्य डा. रघुनाथ अधिकारी रहनु भएको थियो । उक्त सभामा सबै विद्वान् वक्ताहरूबाट नेपाल र भारतमा शास्त्राध्ययनको दिशा र दशाका बारेमा गहन विचार भएको थियो ।
१.प्रो. सुकान्त कुमार सेनापतिज्यूले शास्त्राध्ययनको दशा र दिशाका बारेमा बोल्दै शास्त्र १) पदार्थतत्त्वज्ञानपरक र २) आत्मतत्त्वज्ञानपरक गरी द्विप्रकारक हुने मत राख्नु भएको थियो । शास्त्रको रक्षा कसरी ? भन्ने प्रश्नका सन्दर्भमा
स्वाध्याय, प्रवचन , प्रशिक्षण र अनुसन्धानबाटमात्र शास्त्र रक्षा हुन सक्ने विचारका साथै शास्त्रसुरक्षाका लागि श्रम, त्याग, धैर्य र अनुकूलचिन्तन आवश्यक पर्ने बताउनु भएको थियो ।
२. प्रो.हरेराम त्रिपाठीज्यूले नेपाल र भारतको शास्त्राध्ययनको दशा र दिशाका बारेमा बोल्ने क्रममा
शास्त्रको प्रवृत्ति त्रिधा (१.उद्देश,२. लक्षण,३.परीक्षा ) हुने बताउँदै राष्ट्रनिर्माणको षट्प्रकल्प प्रस्तुत गर्नु भएको थियो । जसअन्तर्गत १. मन्दिर २. अध्ययन ३. सेवा ४.उत्सव ५. समरसता ६. कौशलविकास पर्दछन् भन्ने विचार राख्नु भएको थियो । त्यसैगरी उहाँले नेपाल र भारतको ज्ञानपरम्परामा समानता रहेको बताउँदै विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्ने नेपाल र भारतको समन्वयमा एउटा बृहत् आधुनिक संस्कृत विश्वविद्यालय सञ्चालन गर्नुपर्ने अवधारणा तथा प्रस्ताव प्रस्तुत गर्नु भएको थियो।
उक्तविचारको अन्तमा प्रो. डा.शान्तिकृष्ण अधिकारीले नेपालमा संस्कृत अध्ययनको अवस्थाका बारेमा तथ्याङ्कमूलक कार्यपत्रसमेत प्रस्तुत गर्नु भएको थियो र सभाध्यक्ष प्रो . सच्चिदानन्द मिश्रज्यूले परिचर्चामा सहभागी सबै वक्ता र श्रोतालाई धन्यवाद ज्ञापनसहित सभाको समापन गर्नु भएको थियो ।
सम्मेलनको तृतीयदिवस
मिति २०८० चैत्र १६ गते शुक्रवार चतुर्थसत्रान्तर्गत ´बहुशास्त्रीय संस्कृताध्यययन` विषयमा विद्वद्गोष्ठी सम्पन्न भएको थियो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वकुलपति प्रा डा पूर्णचन्द्र ढुङ्गेलको सभाध्यतामा सम्पन्न उक्त समारोहमा श्रीश्रीविश्वविद्यालयका कुलपति प्रो. बी. आर.शर्मा, गुरुकुल काङ्गडीका कुलपति प्रो. सोमदेवशतांशु, चिन्मय इन्टरनेशनल फाउण्डेसनका आचार्य प्रो. गौरी माहुलीकर , जवाहरलाल नेहरु संस्कृत विश्वविद्यालय , संस्कृतभारतीयाध्ययन सङ्कायका अध्यक्ष प्रो. बृजेशकुमार पाण्डेय, नेपाल संस्कृत विश्वविद्यालयका प्रो. लालमणि पाण्डेयले संस्कृत अध्ययनका सम्बन्धमा महत्त्वपूर्ण विचार राख्नुभएको थियो । यस समारोहको सञ्चालन त्रिभुवन विश्वविद्यालय संस्कृत विभागाध्यक्ष प्रो.माधवप्रसाद उपाध्यायले गर्नुभएको थियो ।
समारोहमा अध्यक्ष पूर्णचन्द्र ढुङ्गेलले नेपाल भारत संस्कृत सम्मेलन अत्यन्त सफलतापूर्वक सम्पन्न भएको भन्दै आयोजकप्रति धन्यवाद तथा आभार प्रकट गर्नुभएको थियो र जो जो संस्कृत पढ्दैनन् उनीहरू जीवनबोधबाट वञ्चित हुनुपरेको र जसले संस्कृत अध्ययन गरे तिनको जीवन सार्थक भएको विचार अभिव्यक्त गर्दै परिचर्चासत्रको समापन गर्नुभएको थियो ।
परिचर्चासत्र समाप्तिपश्चात् मिति २०८०/१२/१६ गते शुक्रवार दिवाकालमा समापन समारोह सम्पन्न भएको थियो । केन्द्रीय संस्कृत विश्वविद्यालयका कुलपति प्रो.श्रीनिवास बरखेडीज्यूको सभाध्यक्षता रहेको उक्त समारोहमा तीनै दिन समुपस्थित भएर सभाको शोभा बढाइदिनु हुने ऋषिकल्प गुरु आचार्य पूर्णचन्द्र ढुङ्गेलज्यूलाई दोसल्ला ओडाई सादर सम्मान समर्पण गरिएको थियो । केन्द्रीय संस्कृत विश्वविद्यालयका कुलपति प्रो. बरखेडीज्यूले आयोजकका तर्फबाट आभार मन्तव्यसमेत राख्नुभएको थियो ।
त्यसैगरी सहभागी सबैलाई संस्कृत सम्मेलन स्मृतिचिह्न प्रदान गर्दै सामूहिक तस्वीर लिएर संस्कृत सम्मेलनको औपचारिक समापन गरिएको थियो ।
नेपाल र भारतका प्रतिष्ठित संस्कृत विद्वान् विदुषी तथा विभिन्न संस्कृत विश्वविद्यालयका कुलपति, उपकुलपति, प्राध्यापकहरूको सक्रिय सहभागिता तथा संस्कृत विषयक विचार विमर्श भएको अत्यन्त भव्य, सभ्य र उपलब्धिमूलक बनेको थियो । विश्वमा संस्कृत भाषा तथा संस्कृतमा निहित ज्ञानविज्ञानलाई प्रचारप्रसार तथा अध्ययन अनुसन्धान एवम् उत्खनन गर्ने कार्यमा उक्त संस्कृत सम्मेलनले निम्नानुसारको सङ्कल्पपत्र जारी गरेको थियो ।
अन्ताराष्ट्रिय संस्कृतसम्मेलन २०८०को सङ्कल्पपत्र-
१.नेपालमा नीति अनुसन्धान प्रतिष्ठानको स्थापना गरी त्यसमार्फत् नेपालमा रहेका संस्कृत पाण्डुलिपि ग्रन्थहरुको अध्ययन,सम्पादन र प्रकाशन गर्ने, नेपालको संस्कतशिक्षामा गुणात्मक परिष्कारका लागि प्रयास गर्ने ,
२.नेपालको ज्ञान प्रणाली मा आधारित अर्थव्यवस्था तथा शिक्षाव्यवस्थाका लागि सहयोग तथा आयुर्वेद प्राकृतिकचिकित्सा आदि अध्ययनमा सहयोग गर्ने,
३. नेपालका गुरुकुल तथा शैक्षिक संस्थानमा अध्ययनरत विद्यार्थीको भारतमा वृत्तिकौशल विकासका लागि तथा शैक्षिक गुणस्तरको सम्वर्धन का लागि प्रशिक्षण व्यवस्था एवम् नेपालका गुरुकुल आदि संस्कृत संस्थाका पुस्तकालयहरूलाई सहयोग प्रदान गर्ने ,
४. प्रत्येक वर्ष पालैपालो नेपाल र भारतमा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलनको अयोजना गर्ने,
५. नेपालका गुरुकुलहरुको विकासका लागि महर्षि सानी प्रति वेद विद्या प्रतिष्ठानद्वारा सहयोग प्रदान गर्ने ।
नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका उपप्राध्यापक डा उमेश घिमिरेको फेसबुकबाट साभार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img