डा. उमेशप्रसाद घिमिरे। नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठको न्याय विभागले गुरुपूर्णिमाका सन्दर्भमा गुरु अभिनन्दन समारोह आयोजना गर्यो । न्याय विभागाध्यक्ष प्राध्यापक जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ ज्यूको सभाध्यक्षता एवम् नेपाली भाषावाङ्मयका महामनीषि एवम् महासमालोचक प्रा.डा. वासुदेव त्रिपाठीज्यूको प्रमुखातिथ्य, ने.सं.वि. अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधन पौडेल र वाल्मीकि विद्यापीठका प्राचार्य प्रा. डा. भागवत ढकालको विशिष्टातिथ्य तथा ने. सं. वि. प्राध्यापक संघका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछाने, ने. सं. वि. प्राध्यापक संघका पूर्व सभापति प्रा. डा. शान्तिकृष्ण अधिकारी, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वप्राज्ञ प्रा. डा. देवी नेपाल, ने. सं. वि. का पूर्वशिक्षाध्यक्ष प्रा. डा. लालमणि पाण्डेय, न्यायविभाग वाल्मीकिका पूर्वविभागाध्यक्ष प्राध्यापक पद्मप्रसाद भट्टराईज्यू लगायतको विशेष आतिथ्यमा गुरु अभिनन्दन समारोह सम्पन्न भयो।
समारोहमा सर्वप्रथम प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठीद्वारा दीपप्रज्वलन तथा सरस्वती माताको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो भने वैदिक, पौराणिक मङ्गलाचारण पूर्वक राष्ट्रिय गान गाइएको थियो । समारोहमा समुपास्थित समस्त अतिथिगणपति स्वागत-अभिवादन न्यायविभागका सदस्य एवं वाल्मीकि विद्यापीठ एकाइका सभापति प्राध्यापक घनश्याम भण्डारीज्यूले गर्नु भएको थियो ।
अभिनन्दित गुरुहरूको परिचय दिने क्रममा अध्यापन, प्रवचन, लेखन, सम्पादन आदिका माध्यमले अतुलनीय योगदान पुर्याउनु भएका चेतोनाथ शर्माको परिचय विद्यापीठकी सहायकप्राचार्य डा. रमा भट्टराईज्यूले दिनुभएको थियो । उहाँका दर्जनौं कृतिमध्ये ‘आत्मानुसन्धान” शीर्षक ग्रन्थ अद्वितीय तथा दार्शनिक गहन कृति हो। प्राध्यापक शर्मा वि सं १९९१ वैशाख २ गतेका दिन चापागाउँ ललितपुर जिल्लामा जन्मिनुभएको थियो भने तीनधारा संस्कृत पाठशालामा बसी संस्कृत अध्ययन गर्नुभएका उहाँले न्यायदर्शनमा आचार्य र नेपाली विषयमा एमए उत्तीर्ण गर्नुभएको थियो । २०२६ देखि प्राध्यापन सेवामा संलग्न शर्माले वि.सं २०५० चैत्र २२ मा नेपाल संस्कृत विश्वविद्यालयबाट अवकाश प्राप्त गर्नुभएको थियो। त्यसैगरी अर्का अभिनन्दित व्यक्तित्व पौरस्त्यदर्शनका प्रतिमूर्ति पौरस्त्यवाङ्मयविद् प्रा. डा. दीर्घराज घिमिरेको परिचय उपप्रा. केशवशरण अर्यालज्यूले दिनु भएको थियो। वि. सं १९१० मा रामेछापको चिसापानीमा जन्मिनु भएका दीर्घराज घिमिरेज्यूले रानीपोखरी संस्कृत छात्रावासमा बसी संस्कृत अध्ययन गर्नुभएको थियो । नेपालका ख्यातिप्राप्त विद्वान् पद्मप्रसाद भट्टराई र काशीका लब्धप्रतिष्ठ विद्वान् हरेराम शुक्ल गुरूहरुसँग पढ्नु भएका प्रा.डा. दीर्घराज घिमिरेज्यूका “श्रीमद्भगवद्गीता” , “ब्रह्मसूत्र” , “दर्शनावली” जस्ता थुप्रै अद्वैतवेदान्तपरक व्याख्याग्रन्थहरू प्रकाशित छन् भने वि.सं. २०५४ सालदेखि निरन्तररूपमा उपनिषद् , ब्रह्मसूत्र , गीताजस्ता वेदान्तका प्रस्थानत्रयी ग्रन्थमा आधारित शाङ्कराद्वैतदर्शनपरक प्रवचन शङ्कराचार्यमठ, पशुपतिमा गर्दै आउनुभएको छ । सम्मान, प्रतिष्ठा, पद, स्तुतिभन्दा माथि उठिसक्नुभएका एषणामुक्त योगी तथा त्यागी जीवन यापन गर्दै आउनुभएका प्रा. डा. घिमिरे न्याय , वेदान्त , मीमांसा, धर्मशास्त्र आदि विषयका निर्णायक एवम् आधिकारिक विद्वान् हुनुहुन्छ । उहाँ पनि न्याय विषयको उपप्राध्यापक पदमा प्रवेश गरी वेदान्त विषयमा प्राध्यापक भई वाल्मीकि विद्यापीठबाट निवृत्त हुनुभएको थियो।
त्यस्तै रानीपोखरी छात्रावासमा बसी संस्कृत अध्ययन प्रारम्भ गर्नु भएका र पछि नेपाल संस्कृत विश्वविद्यालयको नव्यन्याय विषयमा प्राध्यापक बन्नुभएका प्रा.शिवहरि मरहट्ठाज्यूको संक्षिप्त परिचय उपप्रा. ख्यामराज घिमिरेज्यूले दिनुभएको थियो । पण्डित परिवारमा गोरखाको मनकामनामा जन्मनु भएका प्रा.डा.मरहट्ठाज्यूले नेपाल संस्कृत विश्वविद्यालयको दुई कार्यकालसम्म उपकुलपतिको जिम्मेवारी बहन गर्नुभएको थियो। प्राचीन न्याय विषयका आचार्य मरहट्ठा कुशल प्रशासकका रूपमा समेत चिनिनुहुन्छ । वाल्मीकि विद्यापीठ न्याय विभागको अध्यक्षसमेत बन्नुभएका शिवहरि मरहट्ठाज्यू वि.सं २०५४ सालमा प्राध्यापक हुनुभयो र २०५४ मा नै नेपाल संस्कृत विश्वविद्यालयबाट अवकाश प्राप्त गर्नुभएको हो । साहित्यसाधनामा तल्लीन मरहठ्ठाज्यूको “मतिविनोद” काव्य प्रसिद्ध छ , यो काव्य कविशिरोमणि लेखनाथ पौड्यालको “बुद्धिविनोद” काव्यको उत्तरस्वरूप छ ।
वि. सं. १९९७ चैत्र २२ गते काठमाडौंकै नरदेवी, भट्टवंशमा जन्मिनुभएका र रानीपोखरी छात्रावासमा बसी संस्कृत अध्ययन प्रारम्भ गर्नुभएका प्राध्यापक विद्यानाथ उपाध्यायको संक्षिप्त परिचय प्राध्यापक अच्युतप्रसाद लामिछानेज्यूले दिनुभएको थियो।
तत्कालीन न्यायविद्याधुरन्धर पं. पद्मप्रसाद भट्टराईज्यूसँग अध्ययन गर्नुभएका उपाध्यायज्यूले नव्यन्यायमा आचार्य गरी पद्मप्रसाद गुरुज्यू अस्वस्थ भएपछि उहाँकै अनुमति तथा आदेशमा वि. सं २०२१ देखि वाल्मीकि विद्यापीठ (राजकीय संस्कृत महाविद्यालय) को न्याय विभागमा प्राध्यापन गर्दै आउनुभएको र वि.सं २०६० चैत्र २२ गते नेपाल संस्कृत विश्वविद्यालयबाट अवकाश लिनुभएको थियो । विविध प्रशासनिक तथा प्राज्ञिक जिम्मेवारी वहन गर्नुभएका विद्यानाथ उपाध्यायज्यू ने.सं.वि.का संस्थापक शिक्षाध्यक्षसमेत हुनुहुन्छ। संस्कृत विश्वविद्यालयका अभिन्न व्यक्तित्व प्राध्यापक विद्यानाथ उपाध्याय तन्त्रविद्याका विशिष्ट साधक र न्यायविद्याका आधिकारिक विद्वान हुनुहुन्छ । उहाँका “कामकलाविलास”, “तन्त्रविद्यालोक”,”अक्षमालातन्त्र”, “श्रीमत्पशुपतितन्त्र”, “श्रीमद्भगवद्गीता-भावचान्द्रिका”, “तन्त्रमा विद्या र ब्रह्मचिन्तन” जस्ता तन्त्रविद्यापरक एवं दार्शनिक थुप्रै ग्रन्थरत्नहरू प्रकाशित भइसकेका छन् ।
गुरुव्यक्तित्व प्रकाशपश्चात् सामूहिक गुरुपूजन, आरती, पुष्पमाला, दोसल्ला, गुरुदक्षिणा, अभिनन्दनपत्र समर्पण गरिएको थियो । संस्कृतमा लेखिएको अभिनन्दनपत्रहरूमध्ये चेतोनाथ शर्माज्यूलाई प्रदान गरिएको सम्मानपत्र न्यायविभागका उपप्राध्यापक श्याममणि नेपाल, विद्यानाथ उपाध्यायज्यूलाई समर्पित सम्मानपत्र डा. वैकुण्ठ घिमिरे, दीर्घराज घिमिरेज्यूलाई समर्पित सम्मानपत्र उपप्रा.केशवशरण अर्याल, शिवहरि मरहट्ठाज्यूलाई समर्पित सम्मानपत्र उपप्रा.माधव घिमिरे र वासुदेव त्रिपाठीज्यूलाई समर्पित सम्मानपत्र डा. रमा भट्टराईले वाचन गर्नुभएको थियो। उक्त सम्मान समारोहमा वाल्मीकि विद्यापीठका प्राध्यापक, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ स्थापित छन्दकवि डा. देवी नेपालज्यूले “गुरुवन्दना” शीर्षक कविता वाचन गर्नुभएको थियो । त्यसैगरी विशिष्ट अतिथि ने.सं.वि. अनुसन्धानकेन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधनकुमार पौडेलज्यूले सम्मानित गुरुहरूको गुरुत्वका बारेमा प्रकाश पार्दै गुरु अभिनन्दन कार्यक्रम आयोजना गर्ने न्याय विभाग तथा विभागाध्यक्ष प्राध्यापक जगत्प्रसाद उपाध्यायसहित सबै आयोजक परिवारलाई आगामी दिनमा समेत यस्तै ज्ञानवर्धक र संस्कार-उद्बोधक कार्यक्रम सञ्चालनका लागि शुभकामना सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
सम्मानित गुरु प्राध्यापक चेतोनाथ शर्माज्यूले संस्कृत विश्वविद्यालयका जगका रूपमा रहनुभएका सोमनाथ सिग्द्याल , पद्मप्रसाद भट्टराईजस्ता विद्वान गुरुहरूको विशेष सम्मान विश्वविद्यालयले गर्न नसकेको तथा गर्न नचाहेकोमा खेद प्रकट गर्दै आफ्नो प्राचार्य कार्यकालमा सोमनाथ गुरुको शतवार्षिकीका अवसरमा भव्य समारोह आयोजना गरी विद्यापीठ भवन अघि मूर्ति स्थापना गर्न सफल भएको स्मरणपूर्ववक यस्तै कार्यक्रम आयोजना गर्न विद्यापीठ तथा विश्वविद्यालयलाई ध्यानाकर्षण गराउनुभएको थियो। नेपाल सरकारले विद्यालयबाट साधारण संस्कृत हटाएर अनि चलेका संस्कृत मा.वि. बन्द गरेर ठूलो भुल गरेको भन्दै संस्कृतविद्या कुनै एक जातिविशेष वा ब्राह्मणको भाषा भन्ने अफवाह/भ्रम फिँजाएर संस्कृतको पठनपाठनलाई रोक्ने राजनीतिक दल र नेताको नेतृत्वमा शासनसत्ता पुगेकाले देश बर्बादीतर्फ धकेलिएकोप्रति प्रा.शर्माले चिन्ता प्रकट गर्नुभएको थियो। आयुर्वेद, योग, जीवनदर्शनसम्बद्ध समाजोपयोगी विषयका विभागहरू सञ्चालन गर्न र अध्ययन अध्यापनका अतिरिक्त खोज अनुसन्धान गरी समाजलाई लाभान्वित बनाउन संस्कृत विश्वविद्यालय तथा संस्कृतका गुरुहरू लाग्नुपर्नेतर्फ आफूले विश्वविद्यालयको स्थापना (२०४३) भएदेखि नै दिशानिर्देश गर्दै आएको भन्दै आफ्नो त्यो इच्छा पूरा गर्न वर्तमानका विद्वान् तथा आफ्ना उत्तराधिकारीलाई आग्रहपूर्वक यस किसिमको विशिष्ट समारोह आयोजना गरी सतीर्थ्य मित्रहरू भेट्ने अवसर जुटाइदिएकामा आयोजक न्यायविभाग वाल्मीकि विद्यापीठलाई धन्यवाद दिनुभएको थियो ।
सम्मानित प्रा.डा दीर्घराज घिमिरेज्यूले आफू अध्ययन गरेदेखि प्राध्यापनकालमा समेत यस किसिमको गुरु अभिनन्दनपरक सभा आयोजना भएको आफूलाई थाहा छैन भन्दै यो विशिष्ट सभा आयोजना गरेकामा आयोजक न्यायविभाग तथा विभागाध्यक्ष प्रा. जगत्-प्रसाद उपाध्यायप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो । पद्मप्रसाद गुरुसँग समारोहका प्रमुखातिथि प्रा.डा.वासुदेव त्रिपाठीज्यूले व्युत्पत्तिवाद अध्ययन गरेको स्मरण गर्दै नेपाली भाषा वाङ्मयका महासमालोचक वासुदेव त्रिपाठीज्यूको प्रमुख आतिथ्यले समेत यस सभालाई विशिष्ट बनाएको उल्लेखसहित गुरुतत्त्वका सम्बन्धमा विशेष प्रवचन गर्नुभएको थियो ।
अमेरिकामा रहनुभएका र समारोहमा प्राविधिक माध्यमले जोडिनु भएका सम्मानित प्राध्यापक विद्यानाथ उपाध्याय भट्टज्यूले गुरुपूर्णिमाको सन्दर्भमा यस किसिमको विशेष समारोह आयोजना गरी अभिनन्दन गरेकोमा आफू अत्यन्त गद्गद् भएको भन्दै आयोजक न्यायविभाग तथा वाल्मीकि विद्यापीठ परिवारप्रति साधुवाद प्रकट गर्नुभएको थियो । संस्कृत छात्रावास बसी संस्कृत अध्ययन गरेको, संस्कृत विश्वविद्यालयको स्थापनाकालदेखि नै संस्कृतको सेवा गर्ने अवसर प्राप्त गरेको र अहिले पनि संस्कृतविद्याकै सेवा तथा उपासनामा लागिरहेको उल्लेख गर्दै वर्तमानमा संस्कृतका विद्वान्लाई पाखा लगाएर राजनीतिक पहुँचका भरमा संस्कृतेतर व्यक्तिले विश्वविद्यालयको नेतृत्व पाएकाले संस्कृतको भनेजति उत्थान र विकास हुन नसकेकामा चिन्ता प्रकट गर्नुभएको थियो। त्यसैले संस्कृतको उत्थानमा सबै विद्वान् जागौँ र संस्कृत पढेका विद्वान्ले नै विश्वविद्यालयको नेतृत्व गरौँ, संस्कृत पढेका गुरुहरूले आफ्ना सन्तानलाई संस्कृत पढाउन थालौँ, संस्कृतरूपी कल्पवृक्षको सेवा गरी फल उपभोग गरौँ भन्ने आशीर्वचनसहित प्रमुख अतिथिलगायत समस्त विद्वज्जनप्रति आभार व्यक्त गर्नु भएको थियो ।
सम्मानित प्राध्यापक शिवहरि मरहट्ठाज्यूले आफ्नो मन्तव्यका क्रममा छात्रावासमा सँगै बसेका हामी पाँचजनालाई एकै ठाउँमा समागम गराई अभिनन्दन गरेकामा न्यायविभागप्रति आभार प्रकट गर्नुभएको थियो। प्रमुख अतिथि प्रा.डा वासुदेव त्रिपाठी उत्तरमध्यमा पढ्दा आफू पूर्वमध्यमा पढ्दै थिएँ , विद्यार्थीकालदेखि नै त्रिपाठी अत्यन्त अध्ययनशील हुनुहुन्थ्यो, पढ्दा पढ्दै हराउने उहाँको स्वभाव थियो, छात्रावासको गोर्खाली टोलमा उहाँ बस्नुहुन्थ्यो, पढ्दै गर्दा उहाँ यसरी हराउनु हुन्थ्यो, भोक-प्यास, निन्द्रा नै बिर्सिनु हुन्थ्यो, एकपटक पढ्दा-पढ्दै राति ११:३० बजे बाहिर निक्लिएर छात्रावासको पिएनलाई ए! वीरबहादुर आज खानाको घण्टी किन नबजाएको भनेर सोध्नु भएको मिठो स्मृतिप्रसङ्गसमेत मरहठ्ठाज्यूले सुनाउनुभएको थियो। त्यसैगरी चेतोनाथ शर्मा गुरु सधैं “सङ्गच्छध्वम् संवदध्वम् “, “सहनाववतु सह नौ भुनक्तु” जस्तो वैदिक आदर्श मन्त्रहरू छात्रावास अघि उभिएर भन्नुहुन्थ्यो र हामी पछिपछि त्यही मन्त्र आवृत्ति गर्थ्यौँ त्यसैले चेतोनाथ गुरु हाम्रो विद्यार्थी नेता एवं अग्रज, अभिभावक हुनुहुन्थ्यो भन्दै मरहट्टा गुरुले विगतको स्मृति सुनाउनु भएको थियो । विद्यानाथ उपाध्याय गुरुजीसँग छात्रावास र विद्यापीठमा लामो समय सहकार्य गर्दै अघि बढ्यौँ, अहिलेसम्म उहाँसँग गुरुशिष्यको आत्मीय सम्बन्ध रहेको बताउनु भएको थियो । लोकनाथ गुरुले प्राचीन न्याय शिक्षणको अध्यक्ष छाडेपछि आफूले सो जिम्मेवारी सम्हालेकी थिएँ भने विद्यानाथ गुरुपश्चात् दीर्घराज घिमिरेज्यूले नव्यन्याय शिक्षणको अध्यक्ष पद ग्रहण गर्नुभएको थियो। प्राचीन र नव्यन्याय फरक फरक विभाग भएपनि कहिले दीर्घराज घिमिरेज्यूले र कहिले मैले अध्यक्षता गरेर संयुक्त बैठक बस्थ्यौँ। पछि वेदान्त विभागमा प्राध्यापक पद खुलेपछि मेरै प्रेरणा र करकापबाट प्राध्यापक पदमा फार्म भर्नुभयो। नभन्दै शिवराज कौण्डिन्न्यायन गुरुज्यू परीक्षामा सहभागी नभएपछि दीर्घराज घिमिरे प्राध्यापक बन्नुभयो र वेदान्त विभागमा सर्नुभयो भन्ने ऐतिहासिक जानकारी दिलाउँदै अहिलेको विपरीत दृष्टियुक्त समयमा अर्थात् अर्काको अणु परिमाणको दोषलाई पहाड बनाउने र पहाडजस्तो गुणलाई घटाएर अणुपरिमाणको बनाउने परिप्रेक्ष्यमा यस प्रकारको विशेष समारोह आयोजना गरेर गुरुगाथाको स्मरणसहित गुरुको सम्मान गर्नु अत्यन्त स्तुत्य , प्रशंसनीय र अनुसरणीय छ भन्ने विचार राख्नुभएको थियो । अन्तमा “धन्यो न्यायविभागः” शीर्षक कविता सुनाउँदै धनले गरिब भएपनि पछि कमाउन सकिन्छ तर चरित्रमा गरिब बन्नु हुँदैन भन्दै आफ्नो मन्तव्य टुङ्ग्याउनु भएको थियो ।
प्रमुख अतिथि प्रा.डा वासुदेव त्रिपाठीज्यूले गुरुपूर्णिमाको सन्दर्भ पारेर रानीपोखरी छात्रावास गुरुकुलका अग्रज गुरुहरूको चर्चापूर्वक यस किसिमको अभिनन्दन समारोह आयोजना गरी प्रमुख अतिथिको रूपमा आमन्त्रण गर्नु भएकामा न्यायविभागका विभागाध्यक्ष तथा मेरा नेपाली विभागका शिष्य प्राध्यापक जगत्प्रसाद उपाध्यायज्यूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु भन्नु भएको थियो । रानीपोखरी छात्रावास एवं संस्कृत पाठशालाको अध्ययनबाट नै आफ्नो जीवनको यात्रा तय गरेको स्मरण गर्दै त्यतिवेला आफ्नै नेतृत्वमा ‘जयतु संस्कृतम्’ को दोस्रो आन्दोलन आफ्नै नेतृत्वमा सम्पन्न भएको, त्यस आन्दोलनले २१० जना विद्यार्थीहरूमध्ये ५/७ जना मात्र बाँकी रहेको, संस्कृत छात्र सङ्घ उपत्यका समिति निर्माण गरी आन्दोलन गरेको, त्यस आन्दोलनमा लामो र क्रान्तिकारी भाषण गरेको , त्यसपछि १०८ जना विद्यार्थी छात्रावासमा बस्ने सम्झौता भएको, त्यही आन्दोलनबाट संस्कृत र अङ्ग्रेजी शिक्षाको समकक्षता कायम गरेको र त्रि.वि.का प्राध्यापकसरह संस्कृतका गुरुहरूको समान वेतन सुविधा दिन थालेकोजस्ता ऐतिहासिक जानकारी समारोहमा दिनुभएको थियो त्यतिबेला काशी गएर आचार्य परीक्षा दिने प्रचलन रहेकोमा नेपालबाटै राजकीय पाठशाला पढी नव्यव्याकरण विषयमा आचार्य उत्तीर्ण गर्ने सौभाग्य आफूले नै प्राप्त गरेको तथ्य त्रिपाठीले व्यक्त गर्नुभएको थियो।
पाठशालामा अध्ययन गर्दा त्यतिबेला सौहार्द वातावरण थियो। त्यतिबेला आफूले पद्मप्रसाद भट्टराई गुरुसँग न्यायदर्शनको व्युत्पत्तिवाद अध्ययन गरेको , त्यसैगरी बोधराजगुरु ,रामचन्द्र गुरुजस्ता महान् विद्वान् गुरुसँग पढेको स्मरण गर्दै आचार्य उत्तीर्ण भएपछि आफूले संस्कृत महाविद्यालयमा पढाउन फर्म भरेको तर सर्वप्रथम (प्रथम श्रेणी) आफू अनुतीर्ण भएर द्वितीय श्रेणी ल्याउनु भएका हरिप्रसादजी उत्तीर्ण भएपछि आफू त्रि.वि.मा गई अङ्ग्रेजी र नेपाली विषयमा स्नातकोत्तर भई उत्तीर्ण भएको र संस्कृत , अङ्ग्रेजी र नेपालीमा स्नातकोत्तर गरेकाले आफ्नो त्रिपाठी थर सार्थक बनेकोमा सन्तोष रहेको विचार व्यक्त गर्नुभएको थियो। छात्रावासमा वाचनालय थियो, त्यहाँ भारतबाट ल्याइएका पत्रिका (हिन्दी अखबार) दैनिक पढ्ने , पुस्तकालयका पुस्तक पढ्ने ,अरुणोदय, जयतु संस्कृतम् जस्ता पत्रिकामा लेख रचना लेख्ने, सम्पादन गर्ने आदि कार्यले गर्दा चेतनाको स्तर उच्च बनेको र त्यहाँ पढ्ने छात्रहरुले नै देशको राजनीतिक , प्रशासनिक, साहित्यिक आदि विविध क्षेत्रको नेतृत्व गर्न सफल रहेको यथार्थ समेत सप्रमाण अभिव्यक्त गर्दै आफ्ना सुयोग्य शिष्य न्यायविभागका अध्यक्ष प्रा. जगत्प्रसाद उपाध्याय र नेपाली समालोचनाका आधिकारिक समालोचक तथा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा. भागवत ढकाललगायत सभामा समुपस्थित समस्त प्राध्यापकवर्गप्रति शुभाशंसा प्रकट गर्नुभएको थियो। साथै त्रिपाठीले “मित्रस्य चक्षुषा समीक्षामहे” भन्ने वैदिक आदर्शलाई मूल सिद्धान्त बनाई जुनसुकै कृतिलाई मित्रका आँखाले हेर्दै सकारात्मक समीक्षा गर्ने गरेको धारणा राख्नुभएको थियो ।
सभाको अन्त्यमा समारोहका सभाध्यक्ष प्राध्यापक जगतप्रसाद उपाध्यायज्यूले व्यासजयन्ती तथा गुरुपूर्णिमाको सुअवसर पारेर न्यायविभागले त्यतिबेला एउटै छात्रावासमा बसी अध्ययन गर्नु भएका प्रमुख अतिथिसहित पाँचजना गुरुहरूको अभिनन्दन गर्ने अवसर न्याय विभागले पाएकोमा न्याय विभाग गौरवान्वित भएको छ । हाम्रो देश नेपालमा गुरुको सम्मान गर्ने प्राचीन परम्परा छ, त्यसै परम्परामा व्यासकै प्रतिमूर्ति गुरुहरूको सम्मान गर्न पाउँदा आफूलगायत न्याय विभाग र वाल्मीकि विद्यापीठ परिवार नै आह्लादित बनेका छौँ । आचार्य, उपाध्याय र गुरुगरी गुरुका तीन वर्गीकरण, तिनको विशिष्टता उल्लेख गर्दै गुरुको सर्वोपरिता प्रतिपादन गर्नुभएको थियो। अक्सफर्ड युनिभर्सिटीले आफ्नो डिक्सनरीमा समेत गुरु शब्दलाई प्रविष्टि दिइसकेको उल्लेख गर्दै हामी नेपाली भने गुरुलाई सर र टिचर भनेर अपमान गर्न थालेका छौँ भन्दै चिन्ता प्रकट गर्नुभएको थियो । पछिल्ला पुस्तालाई हाम्रो गुरु शिष्य परम्पराको शिक्षा दिनका लागि पनि न्याय विभागले यस किसिमको गुरु सम्मान समारोह आयोजना गरेको प्राध्यापक प्रेक्षितले बताउनु भएको थियो । आफूले वासुदेव त्रिपाठी गुरुसँग नेपाली विषय पढेको तर संस्कृतकै सेवा गर्ने उद्देश्यले त्रि.वि.मा सेवा गर्न नगई संस्कृत विश्वविद्यालयमा प्रवेश गरेको अभिव्यक्ति दिँदै आफूले कुलसचिव लगायतका प्रशासनिक पदमा रही नीति र विधिसम्मत ढङ्गले विश्वविद्यालय सञ्चालनका लागि काम गरेको भन्दै भ्रष्टाचार गर्नु महापाप भएकाले सरकारी द्रव्यलाई दोहन गरी सुखसुविधा लिन खोज्नेप्रति कटाक्षसमेत प्रकट गर्नुभएको थियो । “सत्यं वद ! धर्मं चर ! स्वाध्यायप्रवचनाभ्यां न प्रमदितव्यम् !” जस्ता वैदिक आदर्श आफ्ना गुरुजनबाट उपदेश पाएकाले आफू यस आदर्शमा अडिग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। न्याय विभागको आग्रहलाई सहर्ष स्वीकार गरी पाल्नुभएका व्यासस्वरूप प्रमुख अतिथि तथा ऋषिकल्प अभिनन्दित हुनुभएका समस्त गुरुजनप्रति सादर आभार समर्पण र गुरुहरूको शताधिक स्वस्थ एवं सक्रिय जीवनका लागि प्रार्थनासहित समारोहको समापन सभाध्यक्ष प्रेक्षितले गर्नुभएको थियो ।
संस्कृत तथा नेपाली वाङ्मयका महामनीषि समादरणीय गुरुजनहरू प्रा.डा वासुदेव त्रिपाठी, प्राध्यापक चेतोनाथ शर्मा, प्रा.डा. दीर्घराज घिमिरे , प्राध्यापक विद्यानाथ उपाध्याय, प्राध्यापक शिवहरि मरहठ्ठालाई एकै ठाउँ वाल्मीकि विद्यापीठमा समुपस्थित गराई गुरु अभिनन्दन समारोह आयोजना गर्न सफल न्यायविभागबाट विद्यापीठका अन्य विभागले पनि अनुसरण गर्न सक्नुपर्छ । “आचार्य देवो भव” को वैदिक आदर्श सिकाइने संस्कृत विश्वविद्यालय तथा विद्यापीठका लागि यस्ता संस्कार शिक्षाप्रदायक सभा समारोहहरू प्रयोगशाला हुन्। सैद्धान्तिक ज्ञान तथा दर्शन प्रदान गरेर मात्र गुरुको गुरुत्व नहुने भएकाले शिष्यलाई सबै पक्षबाट सुयोग्य, सक्षम र दक्ष बनाउनका लागि न्यायविभाग र अन्य विभागले समयसमयमा यस्ता प्रयोगात्मक कार्यक्रम आयोजना गर्दै आफ्ना विभागका नवागन्तुक उपप्राध्यापक र शिष्यगणलाई संस्कार सिकाउँदै आफ्नो उत्तराधिकारी तयार पार्नु आजको आवश्यकता हो भन्ने लेखकीय निष्कर्ष रहेको छ। अतः भव्य, सभ्य, गरिमामय गुरु अभिनन्दन समारोह अत्यन्त सफलतापूर्वक आयोजना गरी शिष्यधर्म निर्वाह गर्ने न्याय विभागप्रति सादर अभिनन्दन गर्दै अभिनन्दित तथा सम्मानित समस्त गुरुजनप्रति सादर नमन र श्रद्धाभाव प्रकट गर्दै गुरुपूर्णिमाका अवसरमा गुरुतत्त्वप्रति वाक्पुष्पस्वरूप यो संक्षिप्त आलेख समर्पण गर्दछु ।
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥
जयन्तु गुरव:! सद्गुरुं तं नमामि!
[लेखक डा.उमेशप्रसाद घिमिरे नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठ , वेदान्तविभागमा प्राध्यापनरत हुनुहुन्छ ।]