१९ असोज २०८१, शनिबार
१९ असोज २०८१, शनिबार
spot_img

वाल्मीकि विद्यापीठमा वेदान्त प्रशिक्षण सम्पन्न

काठमाडौँ । वाल्मीकि विद्यापीठ अन्तर्गत वेदान्त विभागले आयोजना गरेको एकमहिने वेदान्त प्रशिक्षण सम्पन्न भएको छ । भाद्र महिनाको २ गते देखि शुभारम्भ गरिएको उक्त प्रशिक्षण भादौ मसान्त (२०८१/०५/१)मा समापन भएको हो। उक्त प्रशिक्षण वेदान्तविभागका सहप्राध्यापक डा. चेतमण‍ी न्यौपाने प्रमुख प्रशिक्षक हुनुहुन्थ्यो भने विभागाध्यक्ष प्रा.डा. सुमोदवर्धन कौण्डिन्न्यायनले समेत २ दिन वेदान्त दर्शनसम्बद्ध प्रशिक्षण दिनु भएको थियो । वाल्मिकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालज्यूको उत्प्रेरणा तथा सद्भावपूर्ण सहयोगले पनि यसप्रकारको एकमहिने प्रशिक्षण दिन सम्भव भएको डा. उमेशप्रसाद घिमिरेले जानकारी दिनुभयो।

भाद २ गते औपचारिक कार्यक्रम गरी शुभारम्भ भएको यस प्रशिक्षणम समाजका लब्धप्रतिष्ठ व्यक्तित्व, सेवानिवृत कर्मचारी विश्वविद्यालयका प्राध्यापक, धार्मिक क्षेत्रका विशिष्ट व्यक्तित्त्व गरी सयभन्दा बढी प्रशिक्षार्थीहरूको उत्साहपूर्ण सहभागिता रहेकाले पौरस्त्य ज्ञानविज्ञान तथा वेदान्तदर्शनप्रति समाजको झुकाव र रुचि बढ्दै गएको देखिन्छ।

वेदान्तदर्शनका आधारभूत विषयहरूमा एकमहिनासम्म प्रशिक्षण लिएपछि प्रशिक्षार्थीले ‍वाल्मीकि विद्यापीठसमक्ष वेदान्त दर्शनलगायत विविध शास्त्रीय विषयहरू (मीमांसा, धर्मशास्त्र, ज्योतिष, न्यायदर्शन, बौद्धदर्शन आदि) को एकवर्षे डिप्लोमा वा ६/९ महिने प्रशिक्षण सञ्चालनका लागि आवश्यक पहल गरिदिन अनुरोध गरी सामूहिक निवेदन एवम् मागपत्र पेस गरेका छन् । यसबाट पनि पौरस्त्यय संस्कृतविद्या एवम् दर्शनप्रति समाजको आकर्षण बढ़न थालेको प्रमाणित हुन्छ । समाजको रुचि र आवश्यकतालाई ध्यानमा राखी विश्वविद्यालयले छुट्टै कार्यक्रम निर्माण गरी जीवनोपयोगी पौरत्य दर्शनहरुको एकवर्षीय तथा अर्धवार्षिक प्रशिक्षण कार्यक्रमहरु सञ्चालन गर्न सके समाजले प्रत्यक्ष लाभ लिने र संस्कृतविश्वविद्यालयको आवश्यकता र औचित्यसमेत पुष्टि हुने देखिन्छ।

०८१।५।३१ गते वाल्मिकि विद्यापीठका प्रशिक्षार्थीको बिदाइ तथा सुझाव सङ्कलनार्थ वाल्मीकि विद्यापीठ वेदान्तविभागले समापन तथा प्रमाणपत्र वितरण समारोह आयोजना गरेको थियो । उक्त समारोहको सभाध्यक्षता विभागाध्यक्ष प्रा.डा. सुमोदवर्धन कौण्डिन्न्यायनले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा वेदान्तविद्यानिष्णात पौरस्त्यदर्शनका विशिष्ट विद्वान् प्रा. डा. दीर्घराज घिमिरेज्यू समुपस्थित हुनुहुन्थ्यो । त्यसैगरी उक्त समारोहमा नेपाल संस्कृत विश्वविद्यालय प्राध्यापक संघका सभापति प्रा. डा. मुकुन्दप्रसाद लामिछाने , विद्यापीठका नि.प्राचार्य अच्युतप्रसाद लामिछाने र सहायक प्राचार्य रमा भट्टराईज्यू विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने प्रशिक्षक एवम् परिकल्पनाकार चेतमणि न्यौपानेज्यूलाई समेत आसन ग्रहण गराइएको थियो। समारोहको सञ्चालन तथा उद्घोषण उमेशप्रसाद घिमिरेले गर्नु भएको थियो।

प्रमुख अतिथिबाट सरस्वतीको तस्वीरमा माल्यार्पण दीप प्रज्वलनसहित स्वस्तिवाचन गरी औपचारिकरूपमा सुरुवात भइको उक्त गरिमामय सभालाई आयोजकका तर्फबाट डा.चेतमणि न्यौपानेले स्वागत मन्तव्य राख्नु भएको थियो ।
मन्तव्यका क्रममा न्यौपानेले वेदान्तका निहित ज्ञान समाजसामु पस्कने र थोरै भएपनि दर्शनमा प्रवेश गराउने निःस्वार्थ चाहनाबाट यो प्रशिक्षण सञ्चालन गरिएको, प्रशिक्षार्थीले स्वस्फूर्तरूपमा दिन चाहेको गुरुदक्षिणालाई समेत अस्वीकार गरिएको, प्रशिक्षार्थीको सन्तुष्टिबाटै आफू सन्तुष्ट रहेको बताउँदै यस समारोहलाई सभ्य, भव्य र दिव्य बनाउन पाल्नु भएका दर्शन क्षेत्रका अद्वितीयविद्वान् गुरुवर प्रा.डा. दीर्घराज घिमिरेज्यूप्रति वेदान्तविभाग, वाल्मीकि विद्यापीठ आभारी रहेको बताउनुभयो। साथै एकमहिनासम्म रुचि तथा उत्साहपूर्ण सहभागिता दर्शाउने सबै परीक्षार्थीप्रति धन्यवाद र प्रशिक्षार्थीका माग कार्यान्वयनको जिम्मा लिइदिन नेपाल संस्कृत विस्श्वविद्यालय प्राध्यपक संघका सभापति प्रा.डा. मुकुन्दप्रासाद लामिछाने र विद्यापीठका प्राचार्यसमक्ष अनुरोध सहित प्रमुखातिथि, विशिष्टातिथि, प्रशिक्षार्थी सबैलाई स्वागत अभिनन्दन गर्नु भएको थियो।

समारोहमा विशिष्टातिथि तथा ने.सं.वि प्राध्यापक संघका सभापति प्रा.डा. मुकुन्दप्रसाद लामिछानेज्यूले प्रशिक्षार्थीबाट आएको मागलाई कार्यान्वयन गर्न आफू सक्रियरूपमा लागि पर्ने र यसलाई लागू गराई छाड्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। राजधानीमा अवस्थित वाल्मीकि विद्यापीठमा समाजका रुचि र चाहना बमोजिम वेदान्त दर्शनलगायत सर्वदर्शन , साहित्य, ज्योतिष, धर्म, इतिहासपुराण लगायतका प्राच्य विषयहरूको ६ महिने, नौ महिने, एकवर्षे, प्रशिक्षण तथा कार्यक्रम सञ्चालन गर्नु आजको आवश्यकता रहेको समेत औँल्याउनुभयो। मन्तव्यका क्रममा उहाँले विश्वविद्यालयले गर्नुपर्ने काम वेदान्त विभागले आयोजना गरी ‘वेदान्त प्रशिक्षण कार्यक्रम कुशलता एवम् भव्यतापूर्वक सम्पन्न गरेकामा आयोजक विभागप्रति बधाईसहित धन्यवाद दिनुभएको थियो। त्यसैगरी प्रशिक्षार्थीहरूमध्ये आफ्नो प्रतिक्रिया दिने सन्दर्भमा डा.श्रीराम घिमिरे, प्रा.डा. सुरेन्द्र भट्ट , मनिता न्यौपाने, रोशनी पाठकआदिले एकमहिना वेदान्त प्रशिक्षण आयोजना गर्ने वेदान्तविभाग तथा वाल्मीकि विद्यापीठप्रति, प्रशिक्षक गुरुहरूप्रति सविनय आभार प्रकट गर्दै यस्ता शास्त्रीय विषयका प्रशिक्षणहरू विश्वविद्यालय तहबाटै यथाशीघ्र सञ्चालनको वातावरण मिलाइदिन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका थिए । उक्त समारोहमा प्रशिक्षार्थीहरूले वेदान्तविभागका गुरुहरूलाई धोती र उपर्नाजस्ता उपहार समर्पणपूर्वक गुरु-सम्मानसमेत गरेका थिए ।

समारोहमा विद्यापीठका नि. प्राचार्य अच्युतप्रसाद लामिछानेज्यूले एकमहिनासम्म प्रशिक्षण सञ्चालन गरेकामा वेदातविभागलाई साधुवाद, प्रशिक्षक न्यौपानेलाई धन्यवाद र सहभागी प्रशिक्षार्थीलाई बधाई दिनु भएको थियो। साथै प्रशिक्षार्थीबाट आएको शास्त्रीय विषयको प्रशिक्षणसम्बन्धी मागपत्र कार्यान्वयनका लागि विद्यापीठका तर्फबाट गम्भीरताका साथ लागि पर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नु भयो ।
समारोहका प्रमुखातिथि प्रा.डा. दीर्घराज घिमिरेज्यूले वेदान्त विभागद्वारा आयोजित वेदान्त प्रशिक्षण’ कार्यक्रमको प्रशंसा गर्दै जिज्ञासु प्रशिक्षार्थीले राख्नु भएको माग आजको आवश्यकता ठहर गरी विश्वविद्यालयले त्यसलाई गम्भीरताका साथ कार्यान्वयनमा उतार्न सके विश्वविद्यालय समाजसँग प्रत्यक्ष जोडिन सक्ने धारणा राख्नु भएको थियो। त्यसैगरी काठमाडौँजस्तो व्यस्ततम सहरमा बसेका विभिन्नक्षेत्रका महानुभावहरू प्रशिक्षार्थीका रूपमा एकमहिनासम्म वेदान्त पढ्न आउनु सामान्य कुरा होइन । वेदान्तप्रति रुचि भएर नियमित आउनु सामान्य कुरा होइन, यो उहाँहरुको पौरस्त्य ज्ञानविज्ञानप्रतिको विशेष समर्पण भाव हो र आत्मानुसन्धानको सत्प्रयास हो। वेदान्तमा थुप्रै ग्रन्थ छन्, एउटै अद्वैतसिद्धि पढ्न वर्षौँ लाग्छ,ती सारा शास्त्र भनेको जति पढेपनि आफ्नो ज्ञानमा, आत्मामा निष्ठा हनु महत्त्वपूर्ण कुरा हो भन्ने बताउँदै सबै सहभागी विशिष्ट विद्वान्-विदुषीप्रति आशीर्वाद व्यक्त गर्नु भएको थियो । एक महिनासम्म वेदान्तको आधारभूत विषयको प्रशिक्षण कार्यक्रममा सहभागी ७५ जना प्रशिक्षार्थीहरूलाई प्रमुखातिथिका हातबाट प्रमाणपत्र वितरण गरिएको थियो।
अन्तमा सभाध्यक्ष तथा वेदान्तविभागका अध्यक्ष प्रा.डा. समोदवर्धन कौण्डिन्न्यायनज्यूले समारोहमा समुपस्थित भई सभाको गरिमा बढाइ दिनुहुने पौरस्त्य वर्शनका विशिष्ट विद्वान् तथा विशिष्ट साधक प्रमुख अतिथि प्रा.डा. दीर्घराज घिमिरेज्यू, विशिष्टातिथि ने सं. वि. प्राध्यापक संघका सभापति प्रा.डा.मुकुन्दप्रसाद लामिछाने, वाल्मीकि विद्यापीठका सहायक प्राचार्यद्वय प्रा.अच्युतप्रसाद लामिछाने र पद्मा भट्टराईज्यूप्रति हृदयतः आभार प्रकट गर्नु भएको थियो ।
त्यसैगरी विभागका सदस्य डा. चेतमणि न्यौपानेज्यूको उत्साहपूर्ण प्रशिक्षणको उच्च प्रशंसा गर्दै प्रशिक्षक न्यौपानेलाई विशेष धन्यवाद दिनु भएको थियो । त्यस्तै विद्यापीठमा आयोजना भएको वेदान्त प्रशिक्षण कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकाल तथा विद्यापीठ परिवारप्रति विशेष आभार प्रकट गर्दै महिनाभर वेदान्त दर्शनप्रति विशेष अनुराग देखाई उत्साहपूर्णरूपमा सहभागी समस्त प्रशिक्षार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । मन्तव्यकै क्रममा प्रशिक्षार्थीले शास्त्रीय विषयमा उठाएका मागको सम्बोधनका लागि वेदान्तविभागका तर्फबाट निरन्तर क्रियाशील भूमिमा निर्वाह गर्ने विश्वास दिलाउँदै ने.सं.वि प्राध्यापक संघ र वाल्मीकि विद्यापीठलाई विश्वविद्यालयीय प्रशिक्षण कार्यक्रम सञ्चलनार्थ आवश्यक पहल गर्न विशेष अनुरोधपूर्वक ध्यानाकर्षण गराउँदै सभाको विसर्जन गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
-Advertisement-spot_img
-Advertisement-spot_img
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

-Advertisement-spot_img
-Advertisement-spot_img

ट्रेन्डिङ ↗

सामाजिक संजाल

भर्खरै ⏱️

-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img
-Advertisement-spot_img