घनश्याम पौडेल
अर्घाखाँची, २२ चैत । अर्घाखाँची, गुल्मी, प्युठान र पाल्पाका सिडियो किन पुगे पाणिनी तपोभुमीमा पुगेका छन् । बिहिबार अर्घाखाँचीको पुर्वी भेगमा अवस्थीत ऐतिहासिक ठाउँ पाणिनी तपोभुमिमा अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठकका लागी सिडियो सहितको टोली पाणिनी तपोभुमिमा पुगेको हो । अन्तर जिल्ला सुरक्षा समन्वय बैठकले एकआपसमा साझेदारी गरी अगाडि बढ्ने निर्णय गरेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिए ।
चार जिल्लाका साझा सुरक्षा चुनौतीहरु पहिचान गरी विभिन्न समूह तथा व्यक्तिहरुबाट हुन सक्ने फौजदारी अपराध, लागुऔषध, मानव बेचविखन, वन्यजन्तु सिकार, हातहतियार ओसारपसार, सामाजिक अपराध लगायत आपराधिक तथा अवाञ्छित गतिविधिलाई नियन्त्रण गर्न सीमा जोडिएका क्षेत्रमा एकआपसमा साझेदारी गरी प्रभावकारी रुपमा शान्ति सुरक्षा र ,ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, वन पैदावार तथा चोरी सिकारी नियन्त्रण लगायतमा समन्वय गरेर अगाडी बढ्ने निर्णय गरिएको छ ।
बैठकमा सहभागी सुरक्षा अधिकारीहरूले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा समन्वयात्मक प्रयासको आवश्यकता औंल्याएका थिए। बैठकले चार जिल्लाबीचको सहकार्यलाई सुदृढ गर्दै सुरक्षाको क्षेत्रमा दीर्घकालीन सुधारको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरेको छ । बैठकमा जिल्लाले गरेका असल अभ्यासको आदानप्रदान गर्नुका साथै सबै जिल्लाका साझा समस्या र सवालका बारेमा ब्यापक छलफल भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी जर्नादन शर्माले बताए ।
अर्घाखाँचीको जिल्ला प्रशासनको आयोजनामा पर्यटकिय क्षेत्रको पनि प्रचार गर्ने उदेश्यले ब्याकरणको रचना गरिएको पाणिनी तपोभुमिमा चार जिल्लाका सुरक्षा प्रमुखको बैठक राखिएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी अर्यालको भनाई छ । बैठकमा चार जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखहरूको सहभागिता रहेको अर्घाखाँचीका प्रहरी प्रमुख चक्र बहादुर मल्लले बताए । संस्कृत व्याकरणको रचना भएको पाणिनी तपोभुमि ओझेलमा परेको र यसको पहिचान गराउँनका लागी पनि यो बैठक महत्वपुर्ण भएको जिल्ला समन्वय समिती अर्घाखाँचीका प्रमुख जिवनारायण कोईरालाले बताए ।
पाणिनी तपोभुमिमा सम्मेलन हुदैँ
हजारौं वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनी ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए ।
पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुख स्थल हो । यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि भगवान् शिव खुशी भई अ, ई, उ, ऋ, लृ, ए, ओ आदि चौध सूत्रको स्वर निकालेको र ती चौध सूत्रबाट संस्कृत ब्याकरणको रचना गरेको भन्ने धार्मिक मान्यता छ ।
पाणिनी तपोभुमिमा करौडौ रुपियाँ खर्चिएर तिनगिरेबारे तपोभुमिसम्म जाने सडक पनि पिचँ गरिएको छ । दह वरीपरी संरचना थप पनि गरिएको छ । तर तपोभुमी दहको स्तरोन्नती भएतापनि पर्यटक आगमन वृद्धि भएको छैन, जसका लागी आगामी चैतको २७ र २८ गते पाणिनी सम्मेलनको आयोजना गरिएको र तयारी तिव्र पारिएको गाउँपालिकाका पुर्व अध्यक्ष तथा काँग्रेसका जिल्ला सचिव अच्युत गौतम बताउँछन् ।
पाणिनी तपोभूमि संरक्षणका लागि पाणिनी गाउँपालिकाले पनि ध्यान दिएको छ । पर्यटकहरुलाई बस्ने व्यवस्था, खानेपानीको समस्या समाधान गरेपछि पर्यटक आगमनमा वृद्धि हुने गाउँपालिका अध्यक्ष टेकराज न्यौपानेले बताए । सम्मेलनले पाणिनीको पहिचान झल्काउँने अपेक्षा स्थानियको छ ।














