घनश्याम पौडेल
अर्घाखाँची, २२ चैत । गर्मी मौसममा आगलागीका घटनाले सताउने अर्घाखाँची जिल्लाका वनमा गतवर्षका तुलनामा यो वर्ष त्यति धेरै आगलागीका घटना भएनन् । जनधनको क्षति पनि खासै भएन । यसको कारण थियो– वनजंगलका पात–पतिङ्गर संकलन तथा व्यवस्थापन ।
रुखबाट झरेर वनमा जम्मा हुने पात–पतिङ्गरमा आगलागी हुने र धेरै तिर फैलिने समस्या हुन्थ्यो । तर यसपटक वनमा त्यत्तिकै खेर जाने र आगलागीको कारण हुने पात पतिङ्गरलाई स्थानीयले संकलन गरेर प्राङ्गारिक मल उत्पादन गर्न थालेपछि आगलागीका घटनामा कमी आएको र वातावरणीय सन्तुलनसँगै आर्थिक उपार्जनको नयाँ सम्भावना पनि देखिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका डिभिजन वन अधिकृत मोहनप्रसाद श्रेष्ठले बताए ।
उद्यम सञ्चालनका लागि २ जना प्राविधिक जनशक्ति आवश्यक पर्ने र पात पतिङ्गर संकलनमा ठूलो संख्यामा स्थानीय संलग्न हुँदा रोजगारी समेत सिर्जना भएको छ । ‘पात पतिङ्गरबाट उत्पादन भएको मल उपभोक्ताहरूलाई कम लागतमा बिक्री गर्ने योजना छ जसले उत्पादन वृद्धि भई किसानहरूलाई समेत लाभ पुग्ने विश्वास गरिएको छ,’ श्रेष्ठले भने ।
जिल्लाका ४० वटा शून्य कोष भएका सामुदायिक वन उपभोक्ता समूहहरूमा डिभिजन वन कार्यालयले ४ लाख रुपैयाँ बजेट विनियोजन गरी पात–पतिङ्गर संकलन गरी व्यवस्थापन गरेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सहायक वन अधिकृत एवं सूचना अधिकारी केशव खड्काले बताए ।
फागुनदेखि जेठ महिनासम्म बाँकी कोष भएका सामुदायिक वनहरूमा वन डढेलो रोकथामका लागि १० जनासम्मको वन डढेलो दस्ता गठन गरी दैनिक पात–पतिङ्गर संकलन गरी व्यवस्थापन हुँदा आगलागी नियन्त्रण भएको उनले बताए । ‘जिल्लाका ७३ प्रतिशत वन समूहहरूले गरेको पातपतिङ्गर व्यवस्थापन प्रभावकारी रूपमा कार्यान्वयन हुँदा जिल्लाका वनमा आगलागी घटना ह्वात्तै घटे’ खड्काले भने ।
शीतगंगा नगरपालिकाको पावर सामुदायिक वनमा प्राङ्गारिक मल उत्पादनका लागि पातपतिङ्गरमा आधारित प्लान्ट स्थापना गरिएको छ । पावर सामुदायिक वनको लागत साझेदारीमा स्थापना गरिएको उक्त प्लान्टमा मेसिन खरिद तथा जडानमा ८ लाख रुपैयाँ खर्च गरिएको छ । वन क्षेत्रबाट पातपतिङ्गर संकलन गरी मेसिनस्थलसम्म ल्याउन पाँचवटा समूहलाई ८० हजार रुपैयाँ अनुदान प्रदान गरिएको सूचना अधिकारी खड्काले बताए ।
‘मेसिनमार्फत पात–पतिङ्गरलाई धुलो बनाई पोखरीमा १५ दिनसम्म कुहाएर ग्रेडिङ मेसिनबाट छुट्याएपछि प्याकेजिङ गरी प्राङ्गारिक मल बनाइन्छ’ खड्काले भने, ‘यसले पात पतिङ्गरका कारण गर्मी मौसममा हुने आगलागीका घटनामा धेरै हदसम्म कमी आएको छ, वातावरणीय सफाइ मात्र नभई आर्थिक लाभको समेत ढोका खोल्ने अपेक्षा गरिएको छ ।’
अर्घाखाँचीमा ७३ हजार २०७ हेक्टर वन क्षेत्र छ । जसमा सामुदायिक वनको क्षेत्रफल ३४ हजार ३४२ हेक्टर छ । जिल्लामा ४६६ वटा वन समूह छन् । ६ वटा स्थानीय तहमध्ये शीतगंगा नगरपालिकामा सबैभन्दा धेरै ४७ हजार ३६४ हेक्टर वन क्षेत्र छ । सबैभन्दा कम मालारानी गाउँपालिकामा २ हजार ८ सय ७०।३१ हेक्टर छ । अर्घाखाँचीको यो नौलो अभ्यासलाई देखेर प्रदेश सरकारको नीति तथा कार्यक्रममा समेत पात पतिङ्गर संकलन गरेर प्राङ्गारिक मल उत्पादन गर्ने उल्लेख गरिएको छ ।
पात–पतिङ्गर व्यवस्थापन गर्दा प्राप्त हुने फाइदाबाट स्थानीय उपभोक्ताहरू उत्साहित भएका र वन डढेलोको जोखिम समेत उल्लेख्य रूपमा घटेको शितगंगा १४ वडा वडा अध्यक्ष दामोदर न्यौपाने बताउँछन् ।
‘वैज्ञानिक अध्ययन र वन व्यवस्थापन तथ्यांक अनुसार एक हेक्टर बाक्लो जंगलबाट प्रति वर्ष अधिकतम १० हजार र न्यूनतम ३ हजार मेट्रिक टन सुकेका पात पतिङ्गर संकलन हुन्छ ।
देशभरका वनमा यसरी नै पात पतिङ्गर संकलन गरेर प्राङ्गारिक मल बनाउने हो भने मुलुकले बर्सेनि भोग्दै आएको मल अभावको समस्या समाधान हुन सक्ने र रासायनिक मल आयातमा खर्च हुने अर्बौं रकम जोगिने अनुमान छ ।
वनमा हुने डढेलो नियन्त्रणको एउटा प्रभावकारी माध्यम वन जंगलमा थुप्रिएर रहने पात पतिङ्गरको उचित व्यवस्थापन पनि हो । अर्थात सुकेका पात पतिङ्गरलाई आगलागीको सिजन अगावै वनबाट हटाएर व्यवस्थापन गर्नु हो ।
‘वन ऐन २०७६ को दफा ४९९घ०ले वनमा आगो लगाउने वा आगलागी हुने कुनै कार्य गर्नुलाई कसुर मानेर यस्तो कसुर गर्नेलाई दफा ५० को उपदफा ४ ले क्षति भएको बिगो असुल गरी ३ वर्ष सम्म कैद वा ६० हजार रुपियासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरेको छ’ ‘वन कार्यालयहरूले यो व्यवस्थालाई कडाइका साथ पालना गराउने हो भने वनमा आगो लगाउनेहरू निरुत्साहित हुने विज्ञहरु बताउँछन् ।’













