चैत्र ३०, काठमाडौँ । विश्व ज्योतिष महासंघको ३० औं बार्षिकोत्सव सम्पन्न भएको छ । काठमाडौँको डिल्लीबजारमा रहेको होटल पेन्सनमा बार्षिकोत्सव सम्पन्न भएको महासंघका उपाध्यक्ष ताराप्रसाद नेपालले जानकारी दिनुभयो ।
नेपाल पन्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले आकाशिय पिण्ड र ग्रहहरुमा देखिएका समस्यालाई विश्व ज्योतिष महासंघले समस्यालाई सुल्झाउन सक्ने गरि अघि बढ्नुपर्ने बताउनुभयो । अहिलेको विज्ञानको विकास भैरहेको समयमा ज्योतिषीय सानातिना विषयलाई समस्याका रुपका नलिएर समाधान दिएर अघि बढ्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्राडा माधव भट्टराईले ज्योतिषीय क्षेत्रको अनुगमनको आधिकारिक निकाय नभएकोले यसको लागि नेपाल सरकारले विशेष ध्यानाकर्षण हुनुपर्ने बताउनुभयो । ज्योतिषशास्त्र र धर्मशास्त्रलाई अल्ग्याउन खोज्नेहरु अपांग हुने बताउँदै यी दुबैको अन्योन्याश्रीत सम्बन्ध रहेको बताउनुभयो ।
पुर्व मन्त्री कान्ता भट्टराई, सामाजिक व्यक्ति पवन मित्तल, शिवकुमार शर्मा, नेपाल ज्योतिष परिषद्का उपाध्यक्ष लिलाराज शर्मा, दक्षिण एसियाली ज्योतिष महासंघका अध्यक्ष डा.सहदेव विष्ट, नेपाल संस्कृत विश्वविद्यालय वाल्मीकि विद्यापीठका प्राडा माधवप्रसाद पाण्डेय लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा ज्योतिषीय क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका विशिष्ट महानुभावहरुलाई सम्मान समेत गरिएको थियो । विश्व ज्योतिष महासंघ दक्षिण एसिया समन्वय समितिका सभापति सम्पादक रहेको खाटु महाराज भित्तेपात्रोको समेत विमोचन गरिएको आयोजकले बताएको छ ।
कार्यक्रम विश्व ज्योतिष महासंघका अध्यक्ष डा लोकराज पौडेलको अध्यक्षता, उपाध्यक्ष ताराप्रसाद नेपालको स्वागत, उपाध्यक्ष नरेश सिंहको धन्यवाद ज्ञापन एवम् महासचिव राजीव आचार्यको सन्चालनमा सम्पन्न भएको प्रवक्ता आचार्य लक्ष्मण पन्थीले जानकारी दिनुभयो ।