हेटौँडा । नेपाल ज्योतिष परिषद् बागमती प्रदेश समितिको आयोजना एवम् मकवानपुर जिल्ला समितिको व्यवस्थापनमा दोश्रो बागमती प्रदेश स्तरीय ज्योतिष सम्मेलन २०८२ प्रदेश राजधानी हेटौंडामा सम्पन्न भएको छ ।
हेटौंडा–५ स्थित रुद्रेश्वर मन्दिरको सभाहलमा सम्पन्न भएको सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका ज्योतिषहरुको सहभागिता रहेको थियो ।
नेपाल ज्योतिष परिषद् बागमती प्रदेश अध्यक्ष विष्णुप्रसाद तिमल्सिनाको अध्यक्षता, बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्री माननीय मदुकुमार श्रेष्ठको प्रमुख आतिथ्यता, परिषद्का केन्द्रीय अध्यक्ष केशवप्रसाद धिताल, दक्षिण एसियाली ज्योतिष महासंघका अन्तर्राष्ट्रिय समितिका सभापति तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य आचार्य लक्ष्मण पन्थीको विशिष्ट आतिथ्यता, विश्व ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका उपमहासचिव विशाल शिवाकोटी, परिषद्का केन्द्रीय उपमहासचिव दीपक शर्मा दाहाल, सचिव शिवलाल पौडेल, कोषाध्यक्ष पवित्रा श्रेष्ठ, सहसचिव गोविन्दप्रसाद दुवाडी, मधेश प्रदेश अध्यक्ष छविनारायण पुडासैनी, केन्द्रीय सदस्यहरु गणेश धिताल, बालकृष्ण घिमिरे, विष्णुप्रसाद दाहाल, लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा ९८ वर्षीय ज्योतिष गोविन्दप्रसाद उपाध्यायलाई ज्येष्ठ नागरिकको रुपमा सम्मानित गरिएको छ । कार्यक्रममा ज्योतिष वास्तु तथा धार्मिक क्षेत्रमा योगदान पुर्याएका गुरुहरुलाई सम्मान गरिएको थियो ।
सम्मेलनमा फलित ज्योतिष र यसको व्यवहारिक प्रयोग, हाम्रो दैनिक जीवनमा वास्तुको प्रभाव, ज्योतिष शास्त्रमा रत्न तथा ज्योतिष शास्त्रमा तन्त्र विषयमा चर्चा गरिएको थियो ।
प्रदेश महासचिव भिमप्रसाद पौडेलले सहजीकरण गरेको उक्त सम्मेलनमा बागमती प्रदेश र छिमेकी मधेश प्रदेशबाट १५० बढी ज्योतिषी पण्डितहरुको उपस्थिति रहेको आयोजकले बताएको छ ।













