सुन्दरहरैँचा । नेपाल ज्योतिष परिषद् कोशी प्रदेश समितिको चालु आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतिले पारित गरिएको छ। परिषद्को प्रदेशसभा हल, सुन्दरहरैँचा नगरपालिका–५ मा सम्पन्न कार्यक्रममा कोशी प्रदेश अध्यक्ष बाबुराम निरौलाले अनुमानित ४७ लाख रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा बजेट प्रस्ताव पेश गर्नुभएको थियो।
प्रस्तुत नीति तथा कार्यक्रममा ताप्लेजुङको पाथिभरा क्षेत्र र सोलुखुम्बुको सगरमाथा आसपासको उच्च भूभागमा प्रदेशस्तरीय कार्यक्रम आयोजना गरिने उल्लेख गरिएको छ। त्यसैगरी, नवग्रह अध्ययन तथा विज्ञान गृह निर्माणको कार्य प्रारम्भ गरिने र कोशी प्रदेशभर पेशागत ज्योतिष सेवामा संलग्न गुरुहरूलाई लक्षित गरी विभिन्न प्रशिक्षण तथा अनुसन्धानमूलक कार्यक्रम सञ्चालन गरिने बताइएको छ।
परिषद्ले पिन्डेश्वर विद्यापीठसँगको सहकार्यमा अनुसन्धान, अध्ययन र ज्ञान आदान–प्रदानलाई प्राथमिकता दिने योजना अघि सारेको छ। कार्यक्रममा पिन्डेश्वर विद्यापीठका अनुसन्धान विभाग प्रमुखले “हामी अनुसन्धानको कार्यमा क्रियाशील छौँ, आगामी दिनमा हातेमालो गर्दै अगाडि बढ्नेछौँ” भन्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। त्यस्तै, उपप्राध्यापक अम्बरराज ढकालले वास्तुशास्त्रसम्बन्धी विशेष प्रस्तुति राख्दै ज्योतिष क्षेत्रलाई वैज्ञानिक दृष्टिकोणले अघि बढाउन सुझाव दिनुभयो।
कार्यक्रमको प्रमुख आतिथ्य केन्द्रीय महासचिव विश्वप्रकाश लामिछाने रहनुभएको थियो। उहाँले परिषद्को अघिल्लो आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा वास्तविक खर्च विवरण र्पारदर्शी र संगठनकाे हितमा रहेकाेेर कार्यप्रणालीमा समेत ठुलाे सुधार देखिएकाे बताउनु भयो।
कार्यक्रममा प्रदेशस्तरीय विभिन्न जिल्ला तथा निकायका ज्योतिषविद्, अनुसन्धानकर्ता, पदाधिकारी तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले परिषद्को नीति तथा कार्यक्रमले आगामी दिनमा वैज्ञानिक, व्यावसायिक तथा सामाजिक दृष्टिले ज्योतिषशास्त्रको अभ्यास र प्रभावकारितामा उल्लेखनीय योगदान पुर्याउने विश्वास व्यक्त गरेका थिए।













