काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउपछि दोस्रो पटक बसेको एमाले सचिवालय बैठकले पक्राउको विरोधमा देशव्यापी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको छ। मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष ओलीको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध भन्दै त्यसको विरुद्धमा चरणवद्ध आन्दोलन गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए।
बैठकले तय गरेको कार्यतालिका अनुसार चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेलाहरू गरिनेछन्। त्यस्तै, चैत २८ गते देशका सबै पालिकाहरूमा विरोध प्रदर्शन गर्ने, वैशाख ३ गते वडा तहमा भेला आयोजना गर्ने र वैशाख ७ गते सबै प्रदेशका राजधानीहरूमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ। आन्दोलनको अन्तिम चरणमा वैशाख १२ गते संघीय राजधानी काठमाडौँमा विशाल विरोध प्रदर्शन गरिने महासचिव पोखरेलले बताए।
पार्टीले विद्यार्थी तथा पेशागत संगठनहरूका गतिविधिमाथि सरकारले गरेको हस्तक्षेपको पनि विरोध गरेको छ। सबै जनसंगठनहरूलाई आ–आफ्नो ढंगले आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै पार्टीको मूल आन्दोलनलाई प्रभावकारी बनाउन सहयोग गर्न निर्देशन दिइएको छ।













