काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) भोलि (बिहीबार)देखि सुरु हुँदैछ।
राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। देशभरका सबै परीक्षा केन्द्रबाट बिहान ८ बजेदेखि एकै समयमा एसईई परीक्षा सुरु हुने छ।
चैत १९ गतेदेखि सुरु भई २९ गतेसम्म चल्ने एसईई परीक्षामा यसवर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीले जानकारी दिए।
उनका अनुसार तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षा दिँदैछन्। परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ।
यसवर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन्। यस वर्ष जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदैछन्। गत वर्ष पनि जापानमा परीक्षा केन्द्र कायम गरिएको थियो।
परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण
यस वर्ष परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय बोर्डले गरेको छ। सम्बन्धित केन्द्रममा शिक्षक नभएमा वा असुरक्षित भएमा मात्रै शिक्षा विकास तथा समन्वय एकाइले सहजीकरण गरेर अर्को व्यवस्था गर्न सक्ने बोर्डले जनाएको छ।
परीक्षा सकिएको एक महिना भित्रै नतिजा सार्वजनिक गर्ने योजना अनुसार परीक्षा जहाँ भएको हो त्यहीँबाट उत्तरपुस्तिका परीक्षण गर्न लागिएको हो।
शिक्षामन्त्री सस्मित पोखरेलले एसईईको नतिजा एक महिना भित्र सार्वजनिक गर्न निर्देशन दिइ सकेका छन्। गत वर्षसम्म एसईईको नतिजा असार दोस्रो सातासम्ममा सार्वजनिक हुने गरेको थियो।













