अत्तरिया :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा १,१३७ मतसहित खुला प्रतिस्पर्धाबाट विजयी हुँदै हेमराज भट्टले सबैलाई आश्चर्यचकित बनाएका छन्। कुनै ठूलो प्रचार अभियान, गुटगत शक्ति वा व्यापक संगठनात्मक प्रदर्शनबिनै प्राप्त गरेको यो जितलाई धेरैले उनको व्यक्तिगत क्षमता, बौद्धिकता, सरल स्वभाव र संगठनभित्रको विश्वासको परिणामका रूपमा विश्लेषण गरेका छन्।
सुदूरपश्चिम प्रदेशबाट धेरै उम्मेदवार भूगोलबाट मैदानमा उत्रिएका भए पनि भट्टले खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदै भूगोलबाट नेतृत्व गर्ने युवा सदस्यहरूभन्दा आफ्नो छुट्टै राजनीतिक पहिचान स्थापित गरेका छन्। यससँगै उनी अब रास्वपाभित्र मात्र होइन, सुदूरपश्चिमको राजनीतिमा पनि प्रभावशाली भूमिकामा देखिने अपेक्षा गरिएको छ।
स्थानीय राजनीतिक वृत्तमा भट्टलाई गोदावरी नगरपालिका तथा कैलाली क्षेत्र नम्बर–४ का परिवर्तनकारी नेतृत्वका रूपमा हेरिन्छ। उनीसँग विकासप्रतिको स्पष्ट दृष्टिकोण, जनतासँगको निकट सम्बन्ध तथा समन्वयकारी नेतृत्व क्षमता रहेको स्थानीयहरूको बुझाइ छ। यही कारणले आगामी दिनमा कैलालीसँगै सुदूरपश्चिम प्रदेशको राजनीतिमा उनको भूमिका अझ प्रभावकारी बन्ने विश्वास गरिएको छ।
हेमराज भट्टलाई सफल, सक्षम, सरल, सहनशील तथा सबैलाई सम्मान गर्ने युवा नेताका रूपमा चिनिन्छ। उनी वरिष्ठप्रति सम्मान र आफूभन्दा साना व्यक्तिप्रति आत्मीय व्यवहार गर्ने नेताका रूपमा परिचित छन्। मतभेदभन्दा सहकार्यमा विश्वास गर्ने उनको राजनीतिक शैलीले पार्टीभित्र पनि सकारात्मक छवि निर्माण गरेको देखिएको छ, जसको पुष्टि पहिलो ऐतिहासिक महाधिवेशनको परिणामले समेत गरेको छ।
भट्टको राजनीतिक यात्रा भने सहज थिएन। देशमा परिवर्तनको राजनीतिक लहर चलिरहेका बेला उनले कैलाली क्षेत्र नम्बर–४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको आकांक्षा व्यक्त गरेका थिए। तर त्यसबेला पार्टीले उनलाई टिकट दिन सकेन। त्यतिबेला उनको नेतृत्व क्षमता र सम्भावनालाई पार्टीभित्र अपेक्षित रूपमा मूल्याङ्कन गर्न नसकिएको चर्चा हुने गरेको थियो।
यद्यपि उनले त्यसलाई निराशाको विषय नबनाई संगठनभित्र निरन्तर सक्रियता, नेतृत्व विकास, राजनीतिक परिपक्वता तथा जनसम्पर्कलाई प्राथमिकतामा राखे। अन्ततः आफ्नै मेहनत, लगनशीलता र क्षमताका आधारमा खुला प्रतिस्पर्धाबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदै उनले आफूलाई राष्ट्रिय तहको नेतृत्वमा स्थापित गर्न सफल भएका छन्।
राजनीतिक विश्लेषक तथा स्थानीय राजनीतिक वृत्तका अनुसार हेमराज भट्टको यो सफलता व्यक्तिगत जित मात्र नभई सुदूरपश्चिम प्रदेशका नयाँ पुस्ताका नेताहरूका लागि पनि प्रेरणादायी उदाहरण बनेको छ। अब उनको भूमिका राष्ट्रिय राजनीतिसँगै सुदूरपश्चिमको समग्र विकास, संगठन सुदृढीकरण तथा जनअपेक्षा सम्बोधनमा केन्द्रित रहने अपेक्षा गरिएको छ।
प्रचारभन्दा क्षमता, गुटभन्दा कार्यशैली र नाराभन्दा परिणाममा विश्वास गर्ने नेताका रूपमा उदाएका हेमराज भट्टको यो राजनीतिक उचाइलाई धेरैले “लगनशीलता, धैर्यता र नेतृत्व क्षमताको सफल पुरस्कार” का रूपमा व्याख्या गरेका छन्।














